गोरखा समस्याबारे बेलायतसित वार्ता गर्न छिट्टै वार्ताटोली गठन गर्ने प्रधानमन्त्रीको आश्वासन

लण्डन । बेलायतमा भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा बेलायतसित वार्ता गर्न छिट्टै वार्ता टोली बनाउने आश्वासन दिनुभएको छ ।

नेपाली दुताबास लण्डनमा गोरखा भूतपूर्व सैनिकका संघसंस्थाहरुसितको सामूहिक भेटमा प्रधानमन्त्री देउवाले सो आश्वासन दिनुभएको हो ।

भेटमा सहभागी ब्रिटिश गोरखा भूतपूर्व सैनिक स‌ंघ (बिजिनेसा) का सभापति केशबहादुर गुरुङका अनुसार प्रधानमन्त्री देउवाले नेपाल फर्कने बित्तिकै बेलायतसित वार्ता गर्नका लागि नेपाल सरकारका तर्फबाट वार्ता टोली बनाउने बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले बेलायतको संसदमार्फत पनि गोरखाहरुको समस्याका बारेमा जनमत बनाउन आवश्यक पहल गर्न गोरखाहरुलाई सुझाव दिएको गुरुङले बताए ।

बेलायत र नेपालबीच सरकारी तहमा यही डिसेम्बर महिनामा वार्ता शुरु हुँदैछ ।

भेटमा सहभागी गेसोका कार्यबाहक सभापति धर्मबहादुर तामाङले आफूले प्रधानमन्त्रीसमक्ष प्राविधिक समितिको १३ बुँदे प्रतिवेदनका आधारमा वार्ताको काम अगाडि बढिरहेको र सयौँ वर्षदेखि अधूरो र अपूरो कार्यलाई पूरा गर्ने ऐतिहासिक अवसर प्रधानमन्त्रीलाई प्राप्त भएको धारणा राखेको जानकारी दिए ।

अर्का सहभागी गोरखा सत्याग्रहका निर्देशक ज्ञानराज राईले प्रधानमन्त्रीलाई आफू गोरखाहरुमाथिको विभेद अन्त्यका लागि पटकपटक अनसन बसेको व्यहोरा अवगत गराएको र जवाफमा प्रधानमन्त्रीले ‘ठीक गर्नु भो’ भनेको उल्लेख गरे । प्रधानमन्त्रीले गोरखाहरुलाई प्रशस्त समय दिएको र समस्याहरु ध्यानपूर्वक सुनेको  राईले बताए । ‘प्रधानमन्त्रीसितको भेटपछि गोरखाहरुको समस्या समाधान हुनेमा आशावादी छु’ उनले भने ।

भेटमा ब्रिटिश गोरखाको नागरिकता निरन्तरता अभियानका संयोजक थर्कबहादुर रानाले आफूले प्रधानमन्त्रीसमक्ष गोरखा सैनिकहरुको नागरिकता निरन्तरताका बारेमा कुरा उठाएको बताए । प्रधानमन्त्रीले कुटनीतिक जवाफ दिँदै नेपालको संविधानले दाेहोरो नागरिकता अस्वीकार गरेको र विदेशमा रहेका नेपालीहरुलाई नागरिकता दिनका लागि संविधान संशोधन गर्नपर्ने र त्यसका लागि दुईतिहाई बहुमत आवश्यक पर्ने धारणा राखेका थिए । ‘मैले गोरखाहरुको नागरिकताको सवाल र गैरआवासीय नेपालीहरुको नागरिकताको सवाल बीचको अन्तरका बारेमा प्रधानमन्त्रीसित कुरा राखेको छु र लिखितरुपमा पनि बुझाएको छु’ उनले भने । छोटो समयमा प्रधानमन्त्रीबाट ठोस जवाफको अपेक्षा नगरेको र समग्रमा आफू आशावादी नै रहेको उनको धारणा थियो ।

भेटमा गोरखा भूतपूर्व सैनिक स‌ंघ (गेसो)का कार्यबाहक सभापति धर्मबहादुर तामाङ, ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बिजिडब्ल्यूएस) युकेका अध्यक्ष टिकेन्द्रदल देवान, उपाध्यक्ष राष्ट्र राई, प्रवक्ता प्रकाश गुरुङ, गोरखा सत्याग्रहका निर्देशक ज्ञानराज राई, सूर्य नेम्वाङ, धनबहादुर गुरुङ र मेजर जुद्धबहादुर गुरुङ, गोरखा पिस फाउण्डेसनका उदयबहादुर गुरुङ, गोरखा नागरिकता निरन्तरता समितिका संयोजक थर्कबहादुर राना, ग्रेनिच गोरखा एक्स सर्भिसमेन्स एसोसिएसनका अध्यक्ष हरिकुमार मल्ललगायत सहभागी थिए ।

यसैगरी परराष्ट्र सचिव भरतराज पौड्याल, पूर्व राजदुत डा दुर्गाबहादुर सुवेदी, कार्यबाहक राजदुत श्रीमती रोशन खनाल पनि उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री