सोमबार, मंसिर २० २०७८ | Mon, December 06, 2021
नेपालको समय: १९:३६ | UK Time: 13:51

नेपाल फर्किए राजदुत रेग्मी

वीनेपाली
२०७८ कार्तिक ७ गते १५:१५

 

लण्डन । बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी करिब आठ महिना बेलायत बसी आइतबार नेपाल फर्केका छन् ।

टर्किस एयरलाइन्सको लण्डनको स्थानीय समयअनुसार साँझ ५.४०को टीके १९७२ नम्बरको उडानबाट उनी पत्नीसहित नेपाल फर्किएका हुन् ।  दुताबासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल, सैनिक सहचारी रत्नबहादुर गोदार, द्वितीय सचिव रामबाबु नेपाल लगायतका कर्मचारीहरुले लण्डन हिथ्रो विमानस्थलको टर्मिनल २ मा रेग्मीलाई विदाई गरेका थिए ।

नेपाल सरकारले रेग्मीलाई चार वर्षका लागि बेलायतको राजदुतमा नियुक्त गरेपछि उनी यसैवर्षको मार्च १ तारिखमा लण्डन आइ पदबहाली गरेका थिए ।

तर यसबीचमा नेपालमा सरकार परिवर्तन भएपछि रेग्मीसहित विभिन्न देशका नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय भएको थियो । त्यसैकारण बेलायतको संक्षिप्त बसाइ टुङ्ग्याउँदै रेग्मी नेपाल फर्किएका हुन् ।

कोरोनाका कारण लकडाउन भएकै अवस्थामा बेलायत आइपुगेका रेग्मीले पुगनपुग आठ महिनाको बेलायत बसाइमा लामो समयदेखि थाँती रहेको गोरखाहरुको समस्या समाधानका लागि नेपाल तथा बेलायत सरकारबीच (जीटूजी)वार्ता गराउन उल्लेख्य भूमिका खेलेका थिए । तर त्यो वार्ता शुरु हुन नपाउँदै उनी नेपाल फर्किएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक