नेपाली एसोसिएसनको कार्यक्रममा बेलायतका पूर्व मन्त्रीले उठाए फोहोर

स्वीण्डन । नेपाली एसोसिएसन विल्सायरले स्वीण्डनको पश्चिम क्षेत्रमा शनिबार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
बेलायतका पूर्व कानून मन्त्री तथा सो क्षेत्रका सांसद रोबर्ट बक्ल्याण्डका साथै पश्चिम स्वीण्डन क्षेत्रका पेरिस भाइस चेअरमेन तथा पेरिस काउन्सिलर सुरेश गट्टापुर, पश्चिम स्वीण्डन रमालेज क्षेत्रकी पेरिस काउन्सिलर नन्दनी सिंह लगायत स्थानिय बेलायती नागरिकहरुको सो कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाली एसोसिएसन विल्सायरका अध्यक्ष ज्ञानप्रसाद गुरुङ, महासचिव भवानी गुरुङ्ग, दीवाली रेस्टुरेण्टका डाइरेक्टर दीपेन्द्र गुरुङलगायत नेपाली युथहरुको साथमा अरु धेरै नेपालीहरुको पनि सहभागिता रहेको थियो।
सडक छेउछाउ, चौर र बालबच्चाहरुलाई मनोरन्जनको लागि बनाइएको विभिन्न पार्कहरुमा सधैँ सफा राख्नु सबैको दायित्व हो भन्दै नेपाली एसोसिएसन विल्सायरले सो कार्यक्रम आयोजना गरेको अध्यक्ष गुरुङले बताए ।
भर्खर बेलायतमा सांसदको हत्या भएको छ । पदमा बसेर काम गर्न कतिको सजिलो अनि जोखिमपूर्ण छ ? डर लागेको छ कि छैन ? भन्ने प्रश्नमा सांसद बक्ल्याण्ड्ले ‘मैले धेरै काम गरेर जनतालाई देखाउनु छ, काम गर्नु गार्हो र जोखिम पनि छ तैपनि मलाई डर लागेको छैन’ भन्नु भएको थियो। स्वीण्डनमा युनिभर्सिटी  किन छैन भन्ने प्रश्नमा उनले ‘अब स्वीण्डनमा छिट्टै युनिभर्सिटी आउँदैछ’ भन्नु भएको थियो।
वातावारण तथा हाम्रो  वरपर सधैँ सफा हुनु पर्छ, हामीले नगरे कसले गर्ने भनेर पूर्व कानून मन्त्री समेत रहेका बक्ल्यांड आफैँ पनि कालो ब्याग अनि हातमा चिम्टा बोकेर फोहोर उठाउन खटेका थिए।
उक्त सरसफाइको कार्यक्रमलाई दिवाली रेस्टुरेण्टले प्रायोजन गरेको थियो ।
नेपाली एसोसिएसन विल्सायरले अहिलेसम्म पाँचपटक विभिन्न क्षेत्रमा सरसफाई गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री