शुक्रबार, कार्तिक ५ २०७८ | Fri, October 22, 2021
नेपालको समय: ०२:१४ | UK Time: 21:29

अजर गायक जगजित सिंहको पारिवारिक वियोगमा अल्झेको जीवनकहानी

सुरेन्द्र नेपाल श्रेष्ठ
२०७८ असोज २४ गते १०:२४

गजल गायनको इतिहासमा नयाँ प्रयोग गरेर आफूलाई जुगजुगसम्म स्थापित गराउन सफल गायक संगीतकार र सर्जक जगजीत सिंहले वास्तवमा उनको परिवर्तित नाम अनुसार जगलाई जितेर नै देखाए । हामीमध्ये गीतसंगीत मन पराउने सबैलाई जगजीत सिंहको गजल अवश्य पनि मन पर्छ । हामीले उनको गजललाई आफ्नै जीवनका कतिपय मोडहरुमा दुरुस्तै आफैँले भोगेका आरोहअवरोहसँग तुलना पनि गर्ने गरेको हुनुपर्छ । सर्जकहरुका सबै श्रृजनाहरु आफूले मात्रै नभएर अरूले जिएका जीवनहरु पनि महशुस गरेर लेखिएका हुन्छन् । तर केही सर्जकहरुको बारेमा बुझ्दै जाँदा किन त्यस्ता श्रृजनाहरु भएका होलान् भन्ने बुझ्न सहज हुँदोरहेछ । यति लामो समय जगजीत सिंहको गजल गुनगुनाउन थालेको भएपनि वास्तवमा उनको जिन्दगी बुझ्न उनले देह त्याग गरेको झण्डै दश वर्षपछि मात्रै अवसर मिल्यो । आज अक्टोबर १० उनको पार्थिव शरीर हामी बीच नरहेको ठीक एक दशकपछि मैले विभिन्न माध्यमबाट संकलन गरेका केही दृष्टान्त तपाईंहरूसामू प्रस्तुत गर्दै उनीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्न चाहन्छु ।
अमरसिंह धिमान र बच्चन कौरका ११ सन्तानमध्ये सात बाँकी रहे । चार छोरी र तीन छोराहरुमध्ये एक थिए जगमोहन सिंह धिमान । एक दिन पिताले उनलाई लिएर आफ्नो गुरुकोमा पुगे । उनलाई देख्ने बित्तिकै ‘यो बालकले संसारलाई कुनै तरिकाले जित्नेछ त्यसैले यसको नाम परिवर्तन गरी जगजीत सिंह’ राख्न सुझाए । नभन्दै स्वर संगीतमार्फत उनले सारा जगलाई आफ्नो पकडमा राख्न सफल भए । सन् १९४१ फेब्रवरी ८ मा जन्मेर सन् २०११ अक्टोबर १० मा अस्ताएका जगजीत सिंहले गाएका गजलहरू यो पृथ्वी रहुन्जेल अस्तित्वमा बजिरहनेछन् । उनलाई गायन र जीवनमा चित्रा सिंहले दिएको साथले पनि ठूलो महत्व राख्दछ ।
जीवनको शुरुआती शिक्षा घर नजिकै खाल्सा स्कूलबाट प्राप्त गरेका जगजित सिंह बच्चैदेखि गीत संगीतमा रुचि राख्दथे । जालान्धरबाटै कला विषयमा स्नातक पास गरेका जगजितले थप अध्ययनको लागि कुरुक्षेत्र विश्वविद्यालय हरियाणामा इतिहास विषयमा एमए पढ्न भर्ना भए । यसबीचमा उनले आफ्नो सांगीतीक शिक्षा पनि हासिल गर्दै गएका थिए । उनको बुवाको उत्साह र सहयोगमा मास्टर पण्डित छदमलाल शर्मा (जसले आँखा देख्दैन थिए) सित भारतीय शास्त्रीय संगीत सिकेका थिए । त्यसपछि उत्साद जमाल खानबाट थप शिक्षा प्राप्त गरेका थिए । पिता सरकारी जागिरे भएका कारण छोरा पनि इन्जिनियर भएर जागिर खाओस् भन्ने चाहना राख्दथे । जगजितले गीतसंगीतलाई नै मुख्य पेशा अपनाउँछ भन्ने अड्कल उनका बाबुआमाले लगाएका थिएनन् ।
उनको पहिलो सार्वजनिक कार्यक्रम कक्षा नौमा अध्ययन गर्दागर्दै भएको थियो । त्यतिबेला उनको गीत मन पराएर कसैले दुई, कसैले पाँच रुपैयाँ बकस दिएका थिए । बुबा सरकारी जागिरे भए पनि परिवारको संख्या ठूलो भएर हुनपर्छ उनी आफूलाई निम्न वर्गको भन्न रुचाउँथे । कलेज अध्ययन गर्दा त्यहाको प्रिन्सिपलले उनलाई संगीतमा समेत राम्रो ज्ञान भएको जेहेन्दार विद्यार्थी भएको कारण होस्टल र विद्यालयको सबै शुल्क मिनाहा गरिदिएका थिए । कलेज पढ्दाखेरी नै एउटा ठूलो कार्यक्रममा जहाँ चार हजारभन्दा बढी दर्शक थिए, गीत गाउँदा गाउँदै बिजुली गयो । तर खुसीको कुरा त्यतिबेला माइक सिस्टम भने ब्याट्रीले चल्ने खालको थियो । बत्ती नभएर अन्धकार हुँदा पनि अन्तिम समयसम्म कोही कसैले हल्लाखल्ला नगरीकनै पूरा कार्यक्रम सफल बन्यो । उनी प्रायजसो तलक मेहमुद, अब्दुल करिम खान, बादे गुलाम अलि खान, अमीर खान, मोहमद रफी आदिका गीतहरू गाउन रुचाउँथे ।
उनको गायकीबाट प्रभावित भएर उनलाई धेरै युवतीहरुले मन पराउँदथेँ । एक युवतीले त उनलाई हेर्न गजबकै उपाय अपनाएकी थिइन् । उनी सधैँ साइकलमा तिनै युवतीको घर अगाडिबाट आउने-जाने गर्दथे । युवतीले बाटोमा काँटी बिछ्याएर राख्ने रहेछिन् सधैँ त्यहीँ पुगेर टायर पन्चर हुन्थ्यो । अनि मिस्त्री बोलाएर तयार बनाउञ्जेल धित मर्ने गरी भित्रबाट हेर्ने रहिछिन् । पछि यो कुरा थाहा पाएर उनकै बुबालाई साइकल बनाईदेऊ भनी जिम्मा लगाएछन् ।
अध्ययन गर्दागर्दै अल इंडिया रेडियो जालन्धर स्टेशनमा स्वर परीक्षा उत्तीर्ण हुन नसके पनि बी दर्जाको कलाकारको रूपमा थोरै पारिश्रमिकमा वर्षमा छ वटा र एउटा लाईभ कार्यक्रममा गीत प्रश्तुत गर्ने अवसर पाएका थिए । सन् १९६२ मा तात्कालीन राष्ट्रपति राजेन्द्र प्रसादको जालान्धरमा सरकारी भ्रमण हुँदा उनको स्वागतस्वरूप जगजित सिंह आफैँले गीत लेखेर गाएका थिए ।
सन् १९६१ ताका एउटा कार्यक्रममा सहभागी हुन् उनी आसाम पुगेका थिए । उनको गीत मन पराएर त्यति बेलाको प्रख्यात भारतीय चलचित्र कलाकार ओम शर्माले मुम्बई आउन निमन्त्रणा दिएका थिए। त्यति ठूलो कलाकारले नै गीत गाउन आमन्त्रण गरेको सुन्दा उनी खुशीले प्रफूल्लित भएका थिए। केही समय पछि उनी फिल्मी गीत गायक बन्न पहिलोपटक मुम्बई पुगेका थिए । ओम प्रकाशमार्फत संगीतकारहरु मदनमोहन, जयदेव, शंकर जयकिशनसँग उनको सम्पर्क त भयो तर फेरि पनि स्वर परीक्षा उत्तीर्ण हुन नसकेकोले कुनै गीत गाउने मौका भने पाउन सकेनन् । आफूले ल्याएको पैसा सकिएको कारण उनले आफ्नो पितालाई केही खर्च पठाउन अनुरोध गर्दै पत्र लेखे । तर उनले आफ्नो ठेगाना नै लेख्न भुलेकोले बुबाले चाहेर पनि मद्दत गर्न सकेनन् । त्यसपछि उनी जालन्धर फर्किन बाध्य भए तर उनीसँग रेलको टिकट किन्ने पैसासम्म पनि बाँकी थिएन । त्यसैले उनी त्यतिबेला बिना टिकट ट्वाइलेटमा लुकेर टिकट वालासँग बच्दै जालन्धर आइपुगेका थिए ।
उनी कुरुक्षेत्र विश्वविद्यालयमा इतिहासमा एमए भर्ना त भए तर उनलाई भने संगीतले नै तानिरह्यो । कसरी हुन्छ मुम्बईमा गायकको रुपमा स्थापित हुन चाहन्थे उनी। बाबुआमाको छोराले राम्रो पढेर गतिलो सरकारी जागिर खाओस् भन्ने चाहना थियो । तर उनी भने जसरी भए पनि गायक बन्न चाहन्थे। पढाइ छाडेर मुम्बई जाने जानकारी घरमा गराउन सकिरहेका पनि थिएनन् । त्यसो हुँदा घरबाट आर्थिक सहयोग प्राप्त गर्ने सम्भावना पनि रहेन। तर उनको यो उद्देश्यलाई प्राप्ति गर्ने अभिलाषालाई एक जना मित्र उनका लागि भगवानको रुपमा उपस्थित भएको एक वार्तालापमा जगजित सिंहले उल्लेख गरेका छन्। हरियाणामा साइकल ब्यवसाय संचालन गरिरहेका हरदम सिंह भोगलले उनलाई ‘म आवश्यक खर्च उपलब्ध गराउने छु, तिमी जसरी भए पनि मुम्बई जानु पर्छ’ भनेर उत्साहित गरेकोले उनी घरमा जानकारी समेत नगराई पढाई छाडेर मुम्बई पुगे। लगेको खर्च सकेपछि खै फर्किने हो कि के हो भन्ने बित्तिकै भोगलले मणिग्राममार्फत पैसा पठाउने गर्दथे। शुरुका आठ महिना प्रत्येक महिना दुई सय रुपैयाँको दरले पठाएको पैसाले उनलाई मुम्बईमा टिकिरहन सम्भव बनायो।

लेखक सुरेन्द्र नेपाल श्रेष्ठ

कलाकार बन्न मुम्बई पुगेकाका प्राय सबैका शुरुवाती दिनहरु त्यति सहज भएको देखिँदैन। जगजित सिंहले पनि त्यहाँ धेरै उतारचढाब व्यहोर्न पर्यो। बम्बई बसाइका शुरुवातीका दिनहरु अति नै कस्टकर रह्यो । अरुसंग मिलेर बसेको डेरामा राति पुग्दा सबै सामान बाहिर फालिएको अवस्था समेत ब्यहोर्न पर्यो। धेरैजना बस्ने सानो कोठाको सम्झना गर्दै एकदिन त मुसाले आफ्नो जुत्ताको हिल नै खाइदिएको प्रसङ्ग पनि उनले एउटा अन्तर्वार्तामा सुनाएका थिए । जीवनयापनका लागि विवाह, जन्मदिन जस्ता विभिन्न कार्यक्रमहरुमा गीत गाउने उनको दैनिकी बन्यो । यही क्रममा उनको बेरी रेस्टुरेन्टका मालिक बेरीसँग सम्पर्क भयो। बेरी साँच्चिक उदार हृदयका ब्यवसायी थिए। उनले आवश्यक परेका नौ जवानहरुलाई आफ्नै रेस्टुरेन्टमा बिना पैसा खुवाउने, बसाउने सहयोग गर्दथे। उनैको माध्यमबाट जगजित सिंहलाई ठूला होटेलहरुमा गीत गाउने अवसर प्राप्त भयो।
त्यही क्रममा उनको सुभाष घईसँग परिचय भयो । सन् १९६७मा उनीसँग नै अमन फिल्ममा सानो भूमिका पनि निर्वाह गर्न पुगे । तर उनको लगाब भने गायनमा नै लागिरह्यो । लामो प्रयासपछि एचएमभी कम्पनीले दुईवटा गीत रेकर्ड गर्ने अवसर दियो । त्यसमा राख्नको लागि उनीसँग फोटो माग्यो । उनी त्यतिबेलासम्म पंजाबी पहिरनमा नै थिए । दारी र फेटा, पगडीसँग उनको गायनको मेल नखाएको सल्लाह पाएपछि बाध्य भएर सफाचट बने । यसबारे घरमा जानकारी गराउँदै लेखेको पत्रमा माफी माग्दै उनले पंजाबी पहिरनमा बम्बईमा गायक बन्न नसकिने हुँदा बाध्य भएर यसो गर्नु परेको लेखेका थिए । यो घटनाबाट उनको पिताले उनीसँग निकै नै मन दुखाएका थिए । तर जगजितसँग यो बाहेक अरु उपाय नै थिएन ।
जगजितको जीवनमा उनकी श्रीमती चित्राको प्रवेश पनि बडो चलचित्रको कथा जस्तो छ । चित्राका श्रीमान् देबुदत्ता एक संगीत पारखी थिए । उनले आफ्नै ठूलो स्टुडियो स्थापना गरेका थिए । नयाँनयाँ रेकर्डका उपकरणहरु जम्मा गरेका थिए । भएभरका गायकगायिकाहरु त्यहाँ जम्मा हुन्थे । उनैसँग चित्रालाई १५ वर्षकै उमेरमा विवाह गरिदिएका थिए । १६ वर्षमा नै चित्रा एक छोरीकी आमा पनि बनिन् । तर अन्य महिलासँगको सम्बन्धका कारण चित्रा र देबुको पारिवारिक अवस्था ठीक थिएन । चित्रा त्यतिबेला इन्डियन जिंगलका राम्री गायिका थिइन् । गीत रेकर्ड गर्ने क्रममा जगजित र देबुबीच सम्पर्क हुन पुग्यो । त्यहीक्रममा चित्रासँग पनि परिचय भयो । चित्रा र जगजितको लागि नयाँ गीत तयार भयो तर चित्राको एकदम सुरिलो र जगजीतको साह्रै मोटो स्वर भएको कारण चित्राले सँगै गाउन अस्विकार गरिन् । वास्तवमा चित्रालाई जगजितको स्वर त्यति मन परिरहेको थिएन ।
एकदिन एउटा गीतको रिहर्सलबाट घर फर्कँदै गर्दा चित्राले जगजितलाई पनि गाडीमा डेरासम्म पुर्याइदिन्छु भनिन् । जगजित सिंह चित्राको घरभन्दा अलि पर बस्दथे । आफू घरमा झरेर ड्राइभरलाई पुर्याउन भन्न खोजेका थिए तर खै के सुर चलेर हो चिया पिएर जान भनिन् । जगजित सिंहले कोठामा बाजा देखेपछि बजाएर आफ्नै तालमा गाउन थाले । चित्रा चिया लिएर साथैमा बसेर झुम्न थालिन् । यो गीतले चित्रालाई बेस्सरी नै प्रभावित पार्यो । यो उनैको गीत संगीतसहितको गजल थियो । त्यसपछि चित्राले जगजितको गीत मन पराउन थालिन् । सम्पर्क सम्बन्ध झाँगिन थाल्यो । त्यतिकैमा एकदिन जगजितले विवाहको प्रस्ताव राख्न पुगे । आफू अझै विवाहित भएकोले अहिले सम्भव नहुने बताएपछि जगजितले जति समय पनि कुर्ने दृढता व्यक्त गरे । श्रीमान-श्रीमतीको सम्बन्ध राम्रो नभएको जानकारी पाएका जगजितले एकदिन देबुदत्तासँग ‘म तिम्रो श्रीमतीसँग जीवन बिताउन चाहन्छु’ समेत भनेका थिए । दत्ताले ‘हामी धेरै टाढा भैसकेका छौँ यसबारेमा चित्रा स्वतन्त्र छिन्’ भन्ने जवाफ दिएका थिए । नभन्दै पारपाचुकेपछि यी दुईबीच अति सामान्य ढंगबाट सन् १९६९मा एउटा मन्दिरमा गएर विवाह भयो । सिन्दुर माला र चुराको तीस रुपैयाँ नै उनीहरुको विवाहको जम्माजम्मी खर्च थियो । सन् १९७१मा यो दम्पत्तिको एक छोराको जन्म भयो । उनको नाम हो विवेक । जीवनको आरोहअवरोह जेजस्तो भएपनि छोरा भएको दिन जगजित सिंहले आफू संसारको सबैभन्दा बढी सम्पत्तिवाला भएजस्तो अनुभूति भएको भाव ब्यक्त गरेका थिए । पहिलो श्रीमानको तर्फकी छोरी मोनिकालाई पनि जगजितले अति नै माया गर्दथे । एक छोरा र एक छोरी भएपछि थप सन्तानको चाहना दुवैमा भएन ।
जगजीत र चित्राले धेरै नै गजल गाएका छन् । उनीहरूको पहिलो एल्बम ‘दि अनफर्गटेबल्स’ सन् १९७७ मा निस्केको थियो । त्यसपछि निरन्तररुपमा नयाँनयाँ एल्वमहरु निस्कन थाले । उनीहरूको विशेषता नै मान्नुपर्छ प्रायजसो एल्बमको शीर्षक अङ्ग्रेजीमा हुन्थे । उनले फिल्ममा गाएका गीतहरु पनि धेरै नै सफल रहे । हुन त उनले सन् १९६६मा नै ‘बहुरुपी’ चलचित्रमा एउटा गुजराती गीत गाएपछि फिल्मी दुनियाँमा प्रवेश गरेका थिए । सन् १९८१मा बनेको फिल्म ‘प्रेमगीत’मा गाएको ‘होंठों से छु लो तुम मेरे गीत अमर कर दो’ गीतले भने उनलाई शिखरमा नै पुर्याएको थियो । त्यसपछि बनेका थुप्रै चलचित्रमा उनका गीतहरू समावेश भए । सन् १९८२मा बनेको ‘अर्थ’ चलचित्रको ‘तुम ईतना जो मुस्कुरा रही हो’ गीत सर्वाधिक मन पराइएको सूचीमा पर्दछ । उनको अन्तिम फिल्मी गीत सन् २०११मा बनेको ‘खाप’ चलचित्रको ‘तुम से बिछड कर’ थियो । विदेशमा बस्नेहरुको भावनालाई समेटेर लेखिएको कवितालाई गजल बनाएर गाइएको ‘हम तो हैं परदेश में, देश मे निकला होगा चाँद’, छोराको दुर्घटना पछि गाएको ‘चिट्ठी न कोही सन्देश जाने ओ कौन सा देश जहां तुम चले गए’,  बालापनको महत्वबारे गाइएको ‘ओ कागजकी कस्ती, वारिसकी पानी’ साथसाथ चलचित्रको ‘तुमको देखा तो ए खयाल आया’ गीतहरू मलाई पनि असाध्यै मन पर्ने गीतहरुमध्ये पर्छन् ।
जगजित र चित्राले सन् १९८८ मा रेकर्ड गरिएको ‘बियोन्ड टाइम’ एल्बम नै भारतीय गायकहरुले गाएको पहिलो डिजिटल सीडी थियो । उनैले भारतमा पहिलोपल्ट गीत लेख्नेहरुलाई पनि रेकर्ड बेचेर आएको रकमको केही हिस्सा पारिश्रमिक दिने चलन चलाएका थिए ।
उनले ‘संयोग’ गजल एल्वममा आठवटा नेपाली गजल गाएका थिए । जे. बी समयोगीको लेखन तथा आलोकश्रीको संगीत रहेको यो एल्बमको नेपाली गजल इतिहासमा महत्वपूर्ण भूमिकामा रहेको छ । यसका सबै गीतहरु उत्तिकै लोकप्रिय छन् ।
उनी मात्र एक यस्ता कलाकार हुन् जसले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी वाजपेयीद्वारा लिखित कवितामध्ये केहीमा आफैले संगीतवद्ध गरी सन् २००२ मा ‘समवेदना’ र ‘नईदिशा’ दुई गीति एल्बम तयार पारेका थिए । उनले भारतभित्रका धेरै भाषामा गीत गाएका छन् । उनका भजनहरु साह्रै नै प्रख्यात छन् । उनको आफ्नै अस्सीभन्दा बढी एल्बमहरु प्रकाशित भएका छन् ।

जगजित सिंहकी पत्नी चित्रा र परिवार

उनीसँग लिइएको करिब चालीस घण्टा लामो अन्तरवार्ताको आधारमा लेखक असरानी माशुरले ‘बियोन्ड टाइम’ नामक जीवनी प्रकाशन गरेका छन् । कामप्रति उनको लगाव कस्तो थियो भन्ने प्रमाण यो एउटा घटनाले पनि ठम्याउन सकिन्छ । सन् २००१ मा उनको आमाको देहावसान हुन्छ । त्यही दिन बिहान आमाको अन्त्येष्टी सकाएर पहिला नै तय भएको कार्यक्रममा सहभागी हुन बेलुकी उनी कलकत्ता पुगेका थिए ।
जगजित सिंहलाई भारत सरकारले सन् २००३ मा नागरिकले पाउने तेश्रो ठूलो पदवी ‘पद्म भूषण’ प्रदान गरेको थियो । उनले स्थानीय तथा राष्ट्रिय थुप्रै ठूलाठूला मानसम्मानहरु पाएका थिए । उनको मृत्युपछि पनि सन् २०१४ मा उनको नाममा दुईवटा हुलाक टिकट प्रकाशन गरिएको थियो । उनको सम्झनास्वरुप मुम्बई स्क्वायरलाई ‘पद्म भूषण जगजित सिंह चोक’ नामाकरण गरिएको छ । उनको मृत्यु पछाडि गुगलमा सबैभन्दा बढी खोजिएको कलाकारको नाम उनैको थियो । उनको ७२ औ‌ं जन्मदिनको अवसरमा गुगलले आफ्नो मुख्य पेजमा जगजीत सिंहको तस्बीरसहित ‘गुगल’ भनेर लेखेको थियो यस्तो मौका अन्य केही थोरै कलाकारहरुले मात्रै मौका पाएका छन् ।
भारतीय टेलिभिजनमा प्रदर्शित केही उत्कृष्ट टेलिसिरियलमध्ये मिर्जा गालिव पनि एक हो । यसमा जगजितले पुर्याएको योगदानलाई कदर गर्दै सन् १९९८ मा उनलाई साहित्य एकेडेमी पुरस्कार प्रदान गरिएको थियो । उनले संसारका प्राय सबै ठूला हलहरुमा आफ्नो प्रस्तुति गरेका छन् । सम्भवत उनको पहिलो अन्तर्राष्ट्रिय प्रस्तुति सन् १९७७ मा छिमेकी राष्ट्र पाकिस्तानबाट शुरू भएको थियो । सन् १९८० मा पहिलोपल्ट बेलायतको वेम्ब्ली स्टेडियममा उनले गाएका थिए । यही समयताका उनले गीत गाएका फिल्महरु धेरै नै सफल भए । यसको ज्वलन्त प्रमाण सन् १९८३ मा लन्डनको रोयल अल्बर्ट हलमा भएको कार्यक्रमको सम्पूर्ण टिकट जम्मा तीन घण्टामा सबै सकिएको थियो । सन् २०११ मा अस्ट्रेलिया सिड्नीको अपेरा हाउसमा भएको कार्यक्रम पनि अति उत्कृष्ट थियो ।
जगजित र चित्राको जोडीले दुई छोराछोरीसहित अभाव र संघर्षका दिनहरु पार गर्दै सफलताको शिखर चढ्न थालेका थिए। जीवनलाई ब्यवस्थित रुपमा अगाडि बढाइरहेका थिए। सुन्दर भविष्यको स्पष्ट खाका तयार हुँदै थियो। तर बिडम्बना मान्नु पर्दछ सन् १९९० को जुलाई २७ पछि यो जोडीको खुशीको क्षण सधैँको लागि हरण भयो। एउटा सडक दुर्घटनामा आफ्नो एक मात्र प्यारो छोरा विवेक (बाबु) को १९ वर्षको अति अल्पायुमा ज्यान गुम्न पुग्यो। यो घटना पछि उनीहरुको जीवनले अर्कै मोड लिन पुग्यो।
छोराको मृत्युपछि चित्राले आजसम्म पनि कुनै गीत रेकर्ड गर्ने वा सार्वजनिकरूपमा कुनै पनि गीत गाएकी छैनन् । केही समयको अन्तरालपछि जगजित सिंहले भने आफूलाई गीत संगीतमा सक्रिय राख्न सके । सन् १९९१ मा भारतका अति सम्मानित गायिका लता मंगेशकरसँग गाएको गजल संग्रह ‘सजदा’ले अति नै प्रख्याति प्राप्त गर्यो । त्यस्तै प्रख्यात कवि तथा साहित्यकारहरू गुलजार र जावेद अख्तरद्वारा लिखित गीतहरू ‘शिलशिले’ र ‘मराशिम’ एल्बम धेरै नै बिक्री भएको थियो । गीत संगीत बाहेक उनको घोडचढी, भ्रमण, योगा, पैदलयात्रा तथा शेयर बजारमा पनि अधिक शौख थियो । आफूसँग अलि पैसा जम्मा भएपछि नयाँ घोडा किन्ने र घोडचडीको लागि प्रयोग गर्दथे। फुर्सदको समयमा आफ्ना घोडाहरूसँग समय बिताउन पाउँदा उनी अधिक खुशी रहन्थे । चित्राले भने आफ्नो पूरा समय एकान्त र आध्यात्ममा बिताउन थालिन्। जसले गर्दा जीवन र जगत बारे थप यथार्थ बुझ्न धेरै सहयोग गर्यो। यसैको सहयोगमा उनले छोराको वियोगबाट भएको ठूलो घाउमा मल्हम लगाउँदै आएका थिए।
छोरी मोनिकाको सन् १९८८ मा जेहानगीर चौधरीसँग विवाह भयो । उनी त्यतिबेला एक नाम चलेका चलचित्र निर्माता थिए । दुई छोराहरु अरमान र उमरको जन्म भयो । तर उनीहरूको वैवाहिक सम्बन्ध त्यति राम्रो भएन । सन् २००५ मा उनीहरूको पारपाचुके भयो । त्यसलगत्तै बेलायती नागरिक मार्क आत्किन्ससँग विवाह भयो । उनी एक अन्तर्राष्ट्रिय कम्पनीमा ठूलै पदमा काम गर्दथे । उनीहरूबीच पनि खासै राम्रो सम्बन्ध रहन सकेन । घरायसी उत्पीडन झेलीरहेकी मोनिकाले बाध्य भएर अदालतको ढोका ढकढकाउन पुगिन् । अदालतले उनको श्रीमानको विरुद्धमा आदेश त गर्यो तर त्यस अगावै भारत छाडेर बेलायत आइसकेको कारण न्याय पाउनुको पनि खासै अर्थ रहेन । यही पीडाको कारण उनले आफूलाई बचाउन सकिनन् । सन् २००९ मा उनले आफ्नो ज्यान लिने अप्रिय निर्णय लिइन् ।
छोराको मृत्युले पारेको ठूलो घाउ केही निको हुन खोजेको बेला छोरीको यस्तो निर्णयले जगजित र चित्राको घाउ झन् आलो बनाइदियो ।
सन् २०११ जगजित सिंह आफ्नो जीवनको एक महत्वपूर्ण वर्ष साबित गर्न चाहन्थे। उनको ७० औं वार्षिक उत्सव वर्षभरि ७० वटा कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेका थिए । योजना मुताबिक देश विदेशमा महिनामा छ/सातवटा कार्यक्रम गर्दै आएका थिए । जुनसुकै कार्यक्रम संचालनको शुरुवातमा विभिन्न भाषामा सन्ध्याकालिन अभिवादन गर्दै ह्याप्पी बर्थडे भन्दा दर्शकहरुले तालीसहित ठूलो स्वरमा स्वागत गर्दथे। सेप्टेम्बर २३ मा अर्का नामुद गजलकार गुलाम अलीसँग मुम्बईमा पहिलोपल्ट संयुक्त कार्यक्रम तय भएअनुसार २० तारिखमा पत्रकार सम्मेलन पनि गरेका थिए । उक्त कार्यक्रमका लागि उनी असाध्यै उत्साहित देखिन्थे । तर दुखको कुरा सेप्टेम्बर २२ का दिन उनी अकस्मात बिरामी भई हस्पिटल जानुपर्यो । उनले पूरै होस गुमाए । त्यसपछी उनी कहिल्यै होशमा आएनन् । १० अक्टोबर २०११ मा  ७० वर्षको उमेरमा ब्रेन हेमरेजको कारण १८ दिन कोमामा बसेर जगजित सिंहको मृत्यु भयो । यो वर्षलाई उनले सोचेजस्तै नभए पनि संसारका मानिसहरुले कहिल्यै नबिर्सने वर्ष साबित भयो।
हुन् त् सन् १९९८ जनवरी २४ का दिन पनि जगजित सिंहको स्वास्थ्यको लागि एउटा दुखद दिन बनेको थियो। अति मिल्नेमध्ये एक मित्र अशोक भल्लाको छोरीको विवाहको निमंत्रणामा उनी लुधियाना पुगेका थिए। जगजित पुगेको ठाउँमा गजल नजम्ने त कुरै भएन। श्रोताहरुको अटोग्राफ भर्न भिडभाड नै भयो। अकस्मात उनलाई टाउको दुखेको कारण तुरुन्तै उपचारको लागि अस्पताल पुर्याइयो। चित्रा पनि उनलाई भेट्न लुधियाना आइ पुगिन्। सामान्य हृदयघातको उपचार गरी दश दिन पछि उनले अस्पताल छाडेका थिए। प्राय गजलकार जस्तै जगजित पनि धुम्रपान र मध्यपानका शौखिन नै थिए। अब उप्रान्त यी दुई र लामो हवाई यात्रा नगर्न चिकित्सकको कडा निर्देशन दिएका थिए । केही समय आराम गर्न पर्ने हुँदा मुम्बई नगई उनका एक मित्र बैद्य बालेंदु प्रकाशले संचालन गरेको आयुर्वेदिक केन्द्रमा गएका थिए।

करिब बीस वर्षको अन्तरालमा छोरा, छोरी र श्रीमानले छाडेर गएपछिको चित्राको अवस्थाबारे जोकसैले पनि अनुमान लगाउन सक्छ । पीडाका थाकहरुमाझ बाँच्न कति गाह्रो छ भनेर । जीवन र जगतलाई निकै नजिकबाट देखेकी चित्रालाई आफ्ना दुई नातिहरुको साथले भने ठूलो भरोसा दिएको छ । बाँकी आफ्नो जीवन यसैगरी बिताउने उनले निधो गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक