शनिबार, असोज ३० २०७८ | Sat, October 16, 2021
नेपालको समय: ०९:०९ | UK Time: 04:24

गोर्खा राज्य

त्रिलोक सिंह थापा मगर
२०७८ असोज १२ गते १४:१२

नेपालको राजधानी काठमाडौंबाट पश्चिमतर्फ अनुमानित १५६ किलोमिटरको दुरीमा गण्डकी प्रदेशअन्तर्गत “जिल्ला गोर्खा” अवस्थित छ । प्राचीन समयमा गोर्खा राज्य अत्यन्त सानो तथा स्वतन्त्र राज्य थियो । यस राज्यको अधिकांश जनसंख्या नेपालका आदिवासी भुमिपुत्र मगर तथा गुरुङ्ग जनजाति थिए । वास्तवमा यो राज्य बृहत मगरात राज्यको अभिन्न अंग थियो ।
कालान्तरमा बिस्तारै बिस्तारै गोर्खा राज्य तथा यस राज्यको वरिपरि खस आर्य, बाहुन क्षेत्री, ठकुरी, शाही, महत, कुंवर, बिष्ट, कार्की, खत्री, पाण्डे, नेवार, दलित आदि अन्य जातजाति तथा जनजातिका जनसंख्या आवाद हुन थाल्यो । यसरी गोर्खा राज्य नेपाल अधिराज्यको मिश्रित जातजाति, जनजाति एवं संस्कृतिको थलो बन्न थाल्यो । विगतको २० औं शताब्दीसम्म यो सम्पूर्ण क्षेत्रलाई गोर्खा राज्यको नामले चिनिन्थ्यो । काठमाडौं उपत्यकालाई नेपाल खाल्टो वा चार भञ्ज्याङ्ग भनिन्थ्यो । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामाथि विजय प्राप्त गरे । त्यसपछि गोरखा राज्यबाट राजधानी काठमाडौं सारे । अनि सम्पूर्ण क्षेत्रलाई नेपाल अधिराज्य भन्ने चलन शुरु भयो ।
गोर्खा राज्यको केही विशिष्टता
(क) गोर्खा राज्य आफ्नो सुनौलो ईतिहास, संस्कृति, परम्परा, आधुनिक नेपालको निर्माता
(ख) विश्वमा प्रसिद्धि प्राप्त गरेको वीर गोर्खाली सैनिकहरुको उद्गम स्थलका लागि प्रख्यात रहेको छ ।
(ग) विश्वको सैनिक ईतिहासमा युद्धस्थल एवं रणभूमिमा वीर गोर्खा सैनिकको जोशिला उद्घोष “आयो गोर्खाली जय महाकाली” को मुहान पनि गोर्खा राज्य नै हो ।
(घ) विश्व प्रसिद्ध गोर्खाली सैनिकहरुको शस्त्र “खुकुरी” को आविष्कार बृहत मगरात राज्यमा नै भएको किंवदन्ती छ ।
(ङ) नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो जिऊज्यानको पर्वाह नगरिकन आहुति दिने पहिलो सहादत प्राप्त गर्ने प्रथम शहिद लखन थापा मगर पनि गोर्खा राज्यका वीर गोर्खाली थिए । जस्ले जनसहयोगमा, जनसहभागिता तथा जनसक्रियतामा राणा शासकहरुको निरंकुश, तानाशाही र जहाँनिया शासनको विरुद्ध सन १८७६ ई. सं मा विद्रोह गरे । साथै तत्कालीन राणा शासकहरुले उनको निर्ममतापूर्वक हत्या गरेका थिए ।

भौगोलिक सीमा
गोर्खा राज्यको उत्तरी सीमामा हिमाल र भोट (तिब्बत) पर्दछ । पश्चिम सीमा मस्र्याङदी नदी र पुर्वमा त्रिशुली नदी रहेको छ । यसै क्षेत्रमा चेपे, दरौदी र बुढीगण्डकी नदीहरु बग्दछन् । यस राज्यको सीमा समय समयमा कहिले बढ्ने र कहिले घट्ने भइरहन्थ्यो । प्राचिन समयमा गोर्खा राज्य सामरिक तथा भोट तिब्बतसंग ब्यापार सम्पर्कको लागि पनि महत्वपूर्ण थलो थियो भनेर भनिन्छ ।
धार्मिक एवं पुरात्वातिक महत्व
गोर्खा राज्यको माझकोट टाकुरामा खड्का थरको मगर राजाको कोट वा किल्ला थियो । जुन हाल अवशेष मात्र बाँकी छ । त्यसै स्थलमा शाहवंश वा शाहराजाको ऐतिहासिक एवं पुरात्वातिक महत्वको प्रसिद्ध गोर्खा दरवार छ । सोही गोर्खा दरबारको परिसरमा हिन्दु धर्मको नाथ सम्प्रदायका महान सन्त बाबा गुरु गोरखनाथको एउटा सानो गुफा (मन्दिर) छ । त्यसैमा लिच्छवी काल ७५५ ई. सं. को शिलालेखमा पनि देख्न सकिन्छ । रमणीय प्राकृतिक सौंन्दर्यले भरिपूर्ण गोर्खा राज्यमा प्रख्यात मनकामना मन्दिर, गोरखकाली मन्दिर, चण्डेश्वरी मन्दिर, विरमकाली मन्दिर तथा अन्य प्रसिद्ध देवस्थलहरु छन् । गोर्खा राजदरवारको मूलढोका निर एउटा दलानमा सानो टुक्रा भएको ठाउँ छ । राजा द्रव्य शाहले खड्का थरका मगर राजा मान सिंह खड्का मगरलाई तरवारले हान्दा लागेको जो चिनो अझसम्म त्यहाँ देख्न सकिन्छ । प्राचीन गोर्खा राज्य आफ्नो ऐतिहासिक एवं सांस्कृतिक विशिष्टताका लागि प्रख्यात रहेको छ ।
मगर जनजातिका पुजारी
मगर जनजाति पूर्वकालदेखि प्राकृतिक पूजक, पितृ पूजक, बोन धर्मालम्बी, एनिमिजम एवं झांक्रीवादमा आस्था राख्ने समुदाय हुन् । शारीरिक बनावटले मगरहरु मंगोलियन प्रजाति अन्तर्गत पर्दछ । तिब्बती बर्मन भाषा अन्तर्गत मगर समुदायको मातृभाषा पर्दछ । यिनीहरुको आफ्नो छुट्टै सामाजिक, सांस्कृतिक, रितिरिवाज एवं पहिचान छ । तर गोर्खा राज्यका सम्पूर्ण मठ मन्दिर, देवस्थल, तथा गोर्खा दरवारका मन्दिरहरुमा समेत आदिकालदेखि नै केवल मगर जनजातिका पुजारीहरु मात्र छन् । ती मठ मन्दिर, देवस्थलहरुको रेखदेख, व्यवस्थापन, पूजा अर्चना, आराधना आदिको आधिकारिक जिम्मा केवल मगर जनजातिका पुजारीहरुमा नै हुन्छ ।
मगर पुजारीहरुले आफ्नो तान्त्रिक बिधिहरु विकसित गरेर ती देवस्थल र मन्दिरहरुमा पूजा पाठ र आराधना गर्दै आएका छन् । मगर पुजारीहरुको यस धार्मिक कर्मकाण्ड, तान्त्रिक विधि, पूजा पाठमा मगराती विधिहरुमाथि विश्वभरिका हिन्दुहरुको प्रगाढ आस्था अझसम्म कायम छ । युगौं युगदेखि खस, आर्य, बाहुन, क्षेत्री, नेवार र अन्य जनजातिहरुले मगर पुजारीहरुको धार्मिक कर्मकाण्डमाथि गहिरो विश्वास र आस्था राखेका छन् । यसरी मगर जनजातिका पुजारीहरुले आफ्नो छुट्टै तन्त्रविधिको विकास गरेको पाइन्छ । आज पनि यो चलन एवं परम्परा आधुनिक युगमा यथावत कायम छ । यसलाई तत्कालिन गोर्खा राज्यको विशिष्टता हो भनेर भन्न सकिन्छ ।

त्रिलोक सिंह थापामगर

गोर्खा राज्यको नामाकरण
जनश्रुतीका अनुसार हिन्दू धर्मका नाथ सम्प्रदायका महान महात्मा मत्स्येन्द्रनाथका शिष्य गुरु गोरखनाथको नामबाट गोर्खा राज्यको नामाकरण भएको हो भन्ने मानिन्छ । यो किवदन्ती हो । तैपनि प्रमाणको रुपमा गोर्खा दरवारसंगै जोडिएको दक्षिणपट्टि महान सन्त गोरखनाथ बाबाको सानो गुफा छ । सो गुफा वा मन्दिरमा मूर्तिका साथ बाबाको चरण पादुका पनि राखिएको छ । लिच्छवी कालका राजा जयदेवका बाबु शिवदेव द्वितीयको शिलालेख पनि त्यहाँ देख्न सकिन्छ । गोरखनाथ बाबाको गुफामा भक्तजनले दैनिक पूजाआजा गर्ने चलन अझसम्म कायम छ । साथै प्रत्येक वैशाख पूर्णिमाको अवसरमा गोरखनाथ गुफामा भक्तजनहरुले ठूलो मेला र उत्सव मनाउने चलन छ । सो अवसरमा गोरखनाथ गुफाबाट तयार पारिएको रोट भारतको गोरखपुरस्थित गोरखनाथ मन्दिरमा पठाएर चढाउने चलनलाई अझसम्म निरन्तरता दिइएको छ । गोर्खाबाट पठाएको रोट प्रसाद पछि मात्र अरु भक्तजनले गोरखनाथ मन्दिरमा प्रसाद चढाउन पाउँछ भन्ने सुनिन्छ । सत्य तथ्य के हो ? तर प्राचीन समयदेखि गोर्खाको गोरखनाथ गुफा तथा भारतको गोरखपुरको गोरखनाथ मन्दिरसंग ऐतिहासिक धार्मिक तारतम्य रहेको बुझिन्छ ।
बाबा गोरखनाथको आगमन
किवदन्ती अनुसार भनिन्छ छैठों वा सातौं शताब्दीको समयमा महायोगी गोरखनाथ बाबा (गौ रक्षक नाथ) शैव दर्शन, बौद्ध दर्शन तथा हठयोगको अध्यात्मिक सिद्धान्तको खोजीमा हिमवत् खण्ड र हिमालय क्षेत्रमा भौतारिंदै थिए । तान्त्रिक साधना, हठयोगको अभ्यास, शैव र बौद्ध दर्शनको विषयमा चिन्तन, मनन , ध्यान, तपस्या गर्न शान्त स्थीर, एकान्त एवं रमणीय स्थानको खोजीमा थिए । त्यहीँ सिलसिलामा निर्जन र सुनसान वातावरणमा अवस्थित माझकोट डाँडालाई बाबा गोरखनाथले रोजेका थिए । त्यसै समयदेखि माझकोट डांडाको नाम गोरखनाथ बाबाको नामबाट “गोरख डाँडा” पछि गएर “गोर्खा राज्य” र हाल “गोर्खा जिल्ला” को नामबाट रुपान्तरण भएको भनेर भनिन्छ । हुनत गोर्खा राज्यको नामाकरण बारेमा अरु पनि किंवदन्तीहरु छन् ।
राष्ट्र देउता
ई. सन् १५५९ को हाराहारीमा गोर्खा राज्यमा शाहवंशको विधिवत आधिपत्य स्थापित भयो । शाहवंशले गुरु गोरखनाथलाई गोर्खा राज्यको विधिवत राष्ट्र देउता (स्टेट गड) स्थापित गरी उनको नाम तथा चित्र (फोटो) अंकित विभिन्न सिक्का मुद्राहरु प्रचलनमा ल्याएको पाइयो । यसरी गुरु गोरखनाथ त्यसबेला गोर्खा राज्यको तथा शाहवंशको ईष्ट देउताको रुपमा प्रतिस्थापित थिए भनेर बुढापाकाहरुको भनाइ सुनिन्छ । केही बुढापाकाहरुको भनाइअनुसार तत्कालिन गोर्खा राज्यबाट भारत, श्रीलंका, बंगलादेश, सिक्किम, पाकिस्तान र अफगानिस्तानसम्म नाथ सम्प्रदाय र गोरखधुनीको प्रचार तथा ठाउँ ठाउँमा गोरखधुनीको स्थापना भएको थियो । धेरै गैर हिन्दूहरु पनि नाथ सम्प्रदायको भक्त थिए । सुनिन्छ, पाकिस्तानको कराँची शहरभन्दा ४२३ किलोमिटर उत्तरमा एउटा अग्लो डाँडामा पनि योगी भौतारिंदै पुगेका थिए । स्थानिय लोकगाथा अनुसार उनकै नाममा स्थानियबासीहरुले त्यस डाँडा वा टाकुराको नाम गोरख हिल नामाकरण गरे । आज पनि त्यो नाम “गोरख हिल” यथावत कायम छ । तर त्यहाँ रहेको “गोरख धुनी ” भग्नावशेष अवस्थामा वा लोप भैसकेको छ भनेर सुनिन्छ । भनिन्छ बंगाली कवि फैजलाले आफ्नो रचनामा गोरखनाथको विषयमा उल्लेख गरेका छन् भने मैथली साहित्यका प्रख्यात साहित्यकार विद्यापतिले “गोर्खा विजय” नामक एकांकी लघुनाटकको रचना गरेका थिए ।
भारतको विभिन्न ठाउँहरुमा गोरखनाथ बाबाको आधुनिक मन्दिरहरु भेटिन्छन् । तर कुनै पनि स्थानहरुमा बाबाको समाधि, स्तुपा, गुम्बा र गुफाहरु प्रायः भेटिंदैन । तर नेपाल राज्यको गोर्खा जिल्लाको माझकोटमा मात्र गुरु गोरखनाथ बाबाको गुफा र सो गुफाभित्र प्रतीकको स्वरुप चरण पादुकालाई आजसम्म देख्न सकिन्छ । त्यसैको लागि नाथ सम्प्रदायका महान सन्त बाबा श्री गोरखनाथ महाराज नेपाल अधिराज्यका भूमिपुत्र थिए भनेर अड्कल पनि गर्न सकिन्छ । कारण उनको जन्मस्थानकोे बारेमा कसैले पनि विधिवत प्रमाण आजसम्म पेश गरेको देखिँदैन । सत्य तथ्य के हो ? खोजी गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक