भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?

काराकस । भेनेजुएलाले अमेरिकालाई नागरिक तथा सैनिक क्षेत्रहरूमा आक्रमण गरेको आरोप लगाएको छ । विस्फोट करिब ३० मिनेटको अन्तरालमा भएका थिए । केही क्षेत्रमा बिजुली गएको थियो, तर सडकमा सवारी साधनहरू सामान्य रूपमा चलिरहेका थिए । राजधानीको एक सैन्य ह्यान्गरबाट धुवाँ उठेको देखियो ।

२१ वर्षीया कार्यालयकर्मी कारमेन हिडाल्गोले भन्नुभयो, “सारा जमिन हल्लियो । यो अनुभव अत्यन्त डर लाग्दो थियो । हामीले विस्फोट र विमान देख्यौं ।” राष्ट्रपति निकोलस मादुरोले आफ्ना समर्थकहरूलाई सडकमा आउन र ‘साम्राज्यवादी आक्रमण’ को विरोध गर्न आह्वान गर्नुभएको छ । सरकारले सबै राष्ट्रिय सुरक्षा योजना लागू गर्न आदेश दिएको छ र बाह्य सङ्कटको घोषणा गरेको छ । यसअघि अमेरिकी सेनाले ड्रग तस्करी गर्ने डुङ्गाहरूलाई निशाना बनाएको थियो । मादुरोले अमेरिकाले भेनेजुएलामा सरकार परिवर्तन गर्न र देशका तेल स्रोतमा पहुँच बनाउन खोजेको आरोप लगाउनुभएको छ ।

काराकासमा श्रुङ्खलाबद्व विस्फोट
राष्ट्रपति डोनाल्ड ट्रम्पको एक महिना लामो दबाब अभियानपछि शनिबार राजधानी काराकासमा विस्फोट भएको उल्लेख गर्दै भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई गम्भीर सैन्य आक्रमण“ गरेको आरोप लगाएको छ ।

फक्स न्यूज र सीबीएस न्यूज लगायत अमेरिकी मिडियाहरूले संयुक्त राज्य अमेरिकाले क्यारिबियन देशमा सैन्य आक्रमण गरिरहेको रिपोर्ट गरेका छन् । ह्वाइट हाउस र पेन्टागनले भने आक्रमणको बारेमा हाल सम्म कुनै टिप्पणी गरेका छैनन् । विस्फोट, शहरमा उड्ने विमानहरूको आवाजसँगै, उस्तै सुनिने गरी शनिबार राती २ बजे देखि भएको एएफपीले जनाएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाको बिरूद्ध ठूलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उहाँकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताउनु भएको छ ।

“संयुक्त राज्य अमेरिकाले भेनेजुएला र राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक आक्रमण गरी पत्नीसहित पक्राउ गरी देश बाहिर निकालिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको हो ।

मादुरोको पक्राउ ट्रम्पद्वारा पुष्टि गरिए अनुसार, संयुक्त राज्य अमेरिका र भेनेजुएला बिच तीव्र तनावको बीचमा आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपतिलाई बारम्बार “नार्को–आतंकवादी“ सरकारको अध्यक्षता गरेको आरोप लगाउनुभएको थियो ।

अमेरिकाले भेनेजुएलाको तेल ओसारपसारमा संलग्न रहेको दाबी गर्ने जहाजहरूमा पनि प्रतिबन्ध लगाएको थियो । सोही समयमा, अमेरिकी सेनाले लागुऔषध तस्करीमा संलग्न भएको आरोप लगाउँदै यस क्षेत्रमा भेनेजुएलाका डुङ्गाहरू विरुद्ध कारबाही बढाएको छ । भेनेजुएलाले अमेरिकाविरुद्ध काम“ गरेको आरोप लगाउँदै ट्रम्पले मादुरोलाई पदबाट हट्न आह्वान गरेको जनाइएको छ ।

आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
भेनेजुएलाले शनिबार बिहानै अमेरिकाले आवासीय क्षेत्रमा आक्रमण गरेको आरोप लगाउँदै ठूलो मात्रामा सैन्य स्रोतहरू परिचालन गर्ने घोषणा गरेको छ ।

आक्रमणपछि अमेरिकी सेनाले भेनेजुयलाका राष्ट्रपति र उहाँकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लगिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मदुरोलाई उहाँकी पत्नीसहित पक्राउ गरिएको छ र देश बाहिर लगिएको छ । यो कारबाही अमेरिकी कानून प्रवर्तनसँग मिलेर गरिएको थियो। थप विवरणहरू पछि प्राप्त हुनेछन् ।”

अमेरिकी राष्ट्रपति ट्रम्पले यस घटनाबारे थप विवरणका लागि अमेरिकी समय अनुसार शनिबार बिहान पत्रकार सम्मेलन गर्ने बताउनुभएको छ।

भेनेजुयलाद्वारा अमेरिकासँग राष्ट्रपति मदुरोको अवस्थाबारे जानकारी माग
भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे सरकारसँग कुनै सूचना नभएको बताउनुभएको छ । सरकारले उनीहरु जीवित रहेको तत्काल प्रमाण मागेको उहाँले बताउनुभयो ।

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेजले सरकारले शनिबार बिहानै भएको अमेरिकी आक्रमणका मृतक र घाइतेको बारेमा जानकारी लिन काम गरिरहेको बताउनुभएको छ। उहाँले सर्वसाधारण बसोबास गर्ने आवासीय क्षेत्रमा आक्रमण भएको दावी गर्नुभयो । उहाँले भेनेजुएलाले विदेशी सेनाको उपस्थितिको विरोध गर्ने पनि बताउनुभएको छ।

यसका साथै भेनेजुएलाका रक्षामन्त्रीले देशभरि तत्काल सैन्य बल तैनाथ गर्ने घोषणा गर्नुभएको छ।

सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग
काराकसलगायतका क्षेत्रमा अमेरिकी आक्रमणपछि भेनेजुएलाले यसबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन माग गरेको छ ।

भेनेजुएलाका विदेशमन्त्रीले अन्तर्राष्ट्रिय कानुनको सम्मान सबैले गर्नुपर्ने भन्दै यसका लागि तत्काल सुरक्षा परिषद्को बैठक बोलाउन माग गर्नुभएको छ ।

भेनेजुएलाका राष्ट्रपति मदुरोले अमेरिकी सेनाको आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै काराकासमा भएको आक्रमणको उद्देश्य आफ्नो देशको स्रोतसाधन कब्जा गर्ने अमेरिकी रणनीति बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री