लण्डन । बेलायतमा सैनिकहरुको शहर भनेर चिनिने अल्डरसटमा प्रथम भिक्टोरिया क्रस विजेता गोरखा सैनिक कुलवीर थापाको शालिक अनावरण गरिएको छ ।
बेलायतको दक्षिण पश्चिममा पर्ने अल्डरसटको प्रिन्सेस गार्डेनमा शनिबार आयोजित एक कार्यक्रमका बीच बेलायती महारानीका प्रतिनिधि डेपुटी लर्ड लेफ्टिनेण्ट मनिकुमार राई, बेलायतका रक्षा राज्यमन्त्री तथा अल्डरसट क्षेत्रका सांसद लियो डोचेर्टी, नेपाली दुताबास लण्डनका उपनियोग प्रमुख श्रीमती रोशन खनाल र बेलायती सेनाका होम कमाण्ड तथा स्ट्याण्डिङ ज्वाइन्ट कमाण्डर लेफ्टिनेण्ट जनरल इयान केभ सिबीले सो शालिकको अनावरण गरे ।
सो अवसरमा बोल्दै राज्यमन्त्री डोचेर्टीले सो शालिक बेलायती र गोरखा सैनिकको मित्रताको प्रतीक भएको बताए । पार्कको अर्को भागमा रहेको ब्रिटिश सेनाको प्यारासुट रेजिमेण्टका सैनिकको शालिक र कुलवीर थापाको शालिक एक अर्कामा आमनेसामने रहेको बताउँदै उनले बेलायती र गोरखाली सेना कति एक आपसमा निर्भर थिए भन्ने यसबाट प्रष्ट हुने बताए ।
उनले बेलायतमा नेपालीहरुको अन्तरघुलन सफलतापूर्वक भएको बताए । बेलायती समुदायमा नेपालीहरुको शानदार योगदान रहेको उल्लेख गर्दै उनले सैन्य सेवाका साथै नागरिक सेवाका लागि पनि नेपालीहरुलाई धन्यवाद दिए ।
लेफ्टिनेण्ट जनरल इयान केभ सिबीले कुलवीर थापाको शालिक बेलायती र गोरखाली सेनाको सम्बन्धको शानदार प्रतीक भएको बताए ।
शालिक अनावरण पूर्व हिन्दू तथा बौद्ध परम्पराअनुसार पण्डित र लामाले मन्त्रपाठ गरेका थिए भने शालिक अनावरणपछि अतिथिहरुले शालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।
कुलवीर थापाको जीवन गाथा र उनले भिक्टोरिया क्रस पाउँदा लण्डन गजेटमा प्रकाशित व्यहोरा क्रमश क्याप्टेन ग्यारी घले र मिया केसी डङ्गोलले वाचन गरेका थिए भने सबै अतिथिहरुलाई स्वागत तथा भैपरी आउने आकस्मिक कार्यका बारेमा गोरखा मेमोरियल प्रोजेक्ट संयोजक मेजर रिटायर्ड खिमप्रसाद गौचनले जानकारी दिएका थिए ।
शालिक अनावरणपछि वीनेपालीसित कुरा गर्दै सो शालिक बनाउने मूर्तिकार एमी गुडम्यानले शालिक अनावरणपछि अति खुशी लागेको बताइन् । धेरै सैन्यसम्बन्धी शालिकहरु बनाए पनि कुलवीर थापाको शालिक बनाउनु आफ्नो लागि चुनौतीपूर्ण रहेको उनको भनाइ थियो । कुलवीर थापाको दुई वटा मात्र फोटो पाइएको र नेपाली अनुहार उतार्न निक्कै कठिन भएको अनुभव उनले सुनाइन् । उनले कुलवीर थापाको शालिकमा थापाले कम्मरमा भिरेको खुकुरीलाई प्रष्ट देखिने गरी उतारेको पनि बताइन् ।
सन् १९८८ मा बाग्लुङमा जन्मिएका कुलवीर थापाले २६ वर्षको उमेरमा सन् २५ सेप्टेम्बर १९१५ मा उत्तरी फ्रान्सको लडाइँमा सहयोद्धाहरुलाई उद्दार गरेकोमा भिक्टोरिया क्रस पाएका थिए । उनले भिक्टोरिया क्रस पाएको दिन पारेर उनको शालिक अनावरण गरिएको हो । थापाको ६८ वर्षको उमेरमा सन् १९५६ मा देहान्त भएको थियो ।
थापाको शालिक बनाउन स्थानीय काउन्सिलले अनुमति दिएको थियो भने सो शालिक निर्माणका लागि बेलायतमा रहेका नेपाली समुदायबाट सहयोग उठाइएको थियो । स्थानीय ग्रेटर रसमुर नेपाली कम्युनिटीले सो शालिक निर्माणको संयोजन गरेकाे थियो । कम्युनिटीकी महासचिव श्रीमती प्रमिला लाबुङ राईका अनुसार शालिक निर्माणका लागि १ लाख ६८ हजार पाउण्ड सहयोग उठेको थियो ।
शालिक निर्माणको परियोजना सम्पन्न हुन करिब साढे तीन वर्ष समय लागेको थियो ।
स्थानीय रसमुर काउन्सिलले सो शालिकको सुरक्षा तथा मर्मतको जिम्मा लिएको छ भने शालिक राख्नका लागि १०० वर्षको लिज सम्झौता गरिएको परियोजना संयोजक मेजर खिमप्रसाद गौचनले बताए ।
शालिक अनावरणपछि नजिकैको एम्पायर हलमा आयोजित कार्यक्रममा कम्युनिटीका अध्यक्ष रामधन राईले शालिक निर्माणमा संलग्न सबैलाई धन्यवाद दिए ।
शालिक निर्माणका लागि रामधन राईको अध्यक्षतामा गठन भएको गोर्खा मेमेरियल प्रोजेक्टको महासचिवमा प्रमिला राई, कोषाध्यक्षमा टोपबहादुर पल्ली, प्रोजेक्ट म्यानेजर क्या. गेरी घले, प्रोजेक्ट प्रमुख संयोजक मेजर खिमप्रसाद गौचन, प्रवक्ता ओमप्रसाद थापा काउचा, सहसंयोजक शेर सुनार, सह-कोषाध्यक्ष क्याप्टेन ताम ढेँगा, मेजर मनी कुमार राई, रश्मोर बरोका काउन्सिलर नेम थापा, जर्नल प्रकाशन प्रमुख संयोजकमा रिटायर्ड क्या. विष्णु श्रेष्ठ, संयोजक सुनिल राना, भूपू गोर्खा संघ संयोजक एनआरएनए बेलायतका अध्यक्ष प्रेम गाहामगर, मिडिया संयोजक ओमथापा काउचा र काउन्सिलर जीब बेलबासे तथा रिटायर्ड क्याप्टेनद्वय राजेन्द्रमान गुरुङ, बीरबहादुर गाहा (थापा), मगर संघ युएचएसबी शाकाका अध्यक्ष श्रीमती हेमा राना, मैया डंगोल केसी, बीरबहादुर बलाल सदस्य रहेको कार्यसमिति गठन गरिएको थियो ।
सबै तस्वीरहरु शंकर श्रेष्ठ/ प्रोडक्सन थ्री

पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत