लण्डन । बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले भूतपूर्व गोरखाहरु सन्धीअनुसार बेलायत आएकाले उनीहरुको नेपाली नागरिकता निरन्तरताका लागि विशेष व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।
मगर संघ युकेको प्रतिनिधिमण्डलसँग आज दुताबासमा भएको छलफलमा राजदुत रेग्मीले गोरखाहरु नेपालसँगको सन्धि पालना गर्ने क्रममा विदेशिनु परेकाेले उनीहरुको नागरिकताको सवाल अरु प्रवासी नेपालीहरुभन्दा फरक भएको धारणा व्यक्त गर्नुभयो । ‘यसकारण गोरखाहरुको नेपाली नागरिकताको अधिकार दायाँबायाँ हुनुहुन्न । उनीहरुका सन्ततिलाई नेपाली नागरिकता पाउन आरक्षण जस्तो विशेष व्यवस्था हुनुपर्छ’ उहाँले भन्नुभयो ।
सबै प्रवासी नेपालीहरुलाई एक पटकको नेपाली सधैँको नेपाली बनाउन सके देशका लागि गौरवको कुरा हुने पनि उहाँको भनाइ थियो । प्रवासी नेपालीहरुलाई जुनसुकै देशको नागरिकता लिए पनि उनीहरुको नेपालको सम्पत्तिको सुरक्षा र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने व्यवस्था गर्न हाल नेपालमा नीति नियम बन्ने क्रममा रहेको उहाँले बताउनु भयाे । यसका लागि प्रवासी नेपालीहरुले निरन्तर दबाब दिइरहनु पर्ने पनि उहाँले सुझाव दिनुभयो ।
गोरखा भूतपूर्व सैनिकहरुको समस्या जटिल समस्या रहेको र यसका बारेमा धेरैको धेरै किसिमको बुझाइ रहेको भन्दै उहाँले यसलाई समाधान गर्न इमानदार प्रयास गरिररहेको जानकारी दिनुभयो । अहिले दुताबासले करिब ४० देखि ६० प्रतिशत समय गोरखा भूतपूर्व सैनिकहरुको समस्या समाधानका लागि दिइरहेको पनि उहाँले बताउनुभयो । गोरखाहरुको समस्या समाधान असम्भव नरहेको भन्दै उहाँले वार्तामा आफ्नो एकोहोरो अडान मात्र नलिई लेन देन गर्न सके गोरखाहरुको समस्या चाँडै समाधान हुने आशा व्यक्त गर्नुभयो ।
मगर संघ युकेले नेपाली कला सँस्कृतिको संरक्षणका लागि गरिरहेको योगदानका लागि धन्यवाद दिँदै उहाँले यस कार्यमा मगर संघ युकेसित दुताबासले सहकार्य गर्ने बताउनुभयो । यसबारेमा मगर संघ युकेले गरेको प्रस्तावको समर्थन गर्दै उहाँले दुताबासमा प्रथम शहीद लखन थापामगरको तस्वीर राख्न गरिएको अनुरोधमा उहाँले तस्वीर राख्ने वचन दिनुभयो । लखन थापाका बारेमा दुताबासले स्मृति सभा राख्ने बारेमा आफूले गृह मन्त्रालयसित परामर्श गर्ने पनि उहाँले बताउनुभयो ।
सो अवसरमा मगर संघ युकेका अध्यक्ष सुनिल रानामगरले गोरखा भूतपूर्वहरुको समस्याका बारेमा राजदुतको ध्यानाकर्षण गराएका थिए भने प्रथम शहीद लखन थापामगरको तस्वीर दुताबासमा राख्न र स्मृति कार्यक्रम गर्न माग गर्दै ज्ञापन पत्र पनि बुझाएका थिए । उनले राजदुत रेग्मीलाई मगर भवनको भ्रमणका लागि निम्तो पनि दिएका थिए ।
अध्यक्ष रानाले राजदुत रेग्मी, उपनियोग प्रमुख श्रीमती रोशन खनाल र सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदारलाई खादा लगाई स्वागत गरेका थिए । यसैगरी वरिष्ठ उपाध्यक्ष सीता पुनले राजदुत रेग्मीलाई र ट्रष्टी गोमा रानाले उपनियोग प्रमुख खनाललाई पुष्पगुच्छा प्रदान गरेका थिए ।
सो अवसरमा मगर संघ युकेका सल्लाहकार नरेश खपाङ्गीमगरले नेपाली कला सँस्कृतिलाई प्रवर्धन र संरक्षणका लागि मगर संघ युकेले सन् २००७ देखि बेलायतमा ओपन कन्सर्ट गर्दै आएको र सो कन्सर्टलाई अझ परिस्कृत, व्यवस्थित र विस्तृत गर्न दुताबाससित सहकार्यका लागि अनुरोध गरेका थिए ।
संघका महासचिव रुद्र थापाले बेलायतमा रहेका नेपालीहरुको नेपाली नागरिकताको बारेमा रहेको चासो र चिन्ताका बारेमा राजदुतको ध्यानाकर्षण गराएका थिए भने वरिष्ठ उपाध्यक्ष सीता पुनले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
प्रतिनिधमण्डलमा अध्यक्ष राना, वरिष्ठ उपाध्यक्ष सीता पुन, उपाध्यक्षहरु छविमाया पुन र राम गलामी, महासचिव रुद्र थापा, ट्रष्टीहरु ताम ढेँगा र गोमा राना, सल्लाहकारहरु लेफ्टिनेण्ट कर्णेलद्वय टोल खाम्चा र देवेन्द्र आले, नरेश खपाङ्गीमगर, टोप पल्ली, कार्यसमिति सदस्यहरु सरु राना गुरुङ, किशोर राना र डण्ड थापा रहेका थिए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न