लण्डन । बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले भूतपूर्व गोरखाहरु सन्धीअनुसार बेलायत आएकाले उनीहरुको नेपाली नागरिकता निरन्तरताका लागि विशेष व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।
मगर संघ युकेको प्रतिनिधिमण्डलसँग आज दुताबासमा भएको छलफलमा राजदुत रेग्मीले गोरखाहरु नेपालसँगको सन्धि पालना गर्ने क्रममा विदेशिनु परेकाेले उनीहरुको नागरिकताको सवाल अरु प्रवासी नेपालीहरुभन्दा फरक भएको धारणा व्यक्त गर्नुभयो । ‘यसकारण गोरखाहरुको नेपाली नागरिकताको अधिकार दायाँबायाँ हुनुहुन्न । उनीहरुका सन्ततिलाई नेपाली नागरिकता पाउन आरक्षण जस्तो विशेष व्यवस्था हुनुपर्छ’ उहाँले भन्नुभयो ।
सबै प्रवासी नेपालीहरुलाई एक पटकको नेपाली सधैँको नेपाली बनाउन सके देशका लागि गौरवको कुरा हुने पनि उहाँको भनाइ थियो । प्रवासी नेपालीहरुलाई जुनसुकै देशको नागरिकता लिए पनि उनीहरुको नेपालको सम्पत्तिको सुरक्षा र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने व्यवस्था गर्न हाल नेपालमा नीति नियम बन्ने क्रममा रहेको उहाँले बताउनु भयाे । यसका लागि प्रवासी नेपालीहरुले निरन्तर दबाब दिइरहनु पर्ने पनि उहाँले सुझाव दिनुभयो ।
गोरखा भूतपूर्व सैनिकहरुको समस्या जटिल समस्या रहेको र यसका बारेमा धेरैको धेरै किसिमको बुझाइ रहेको भन्दै उहाँले यसलाई समाधान गर्न इमानदार प्रयास गरिररहेको जानकारी दिनुभयो । अहिले दुताबासले करिब ४० देखि ६० प्रतिशत समय गोरखा भूतपूर्व सैनिकहरुको समस्या समाधानका लागि दिइरहेको पनि उहाँले बताउनुभयो । गोरखाहरुको समस्या समाधान असम्भव नरहेको भन्दै उहाँले वार्तामा आफ्नो एकोहोरो अडान मात्र नलिई लेन देन गर्न सके गोरखाहरुको समस्या चाँडै समाधान हुने आशा व्यक्त गर्नुभयो ।
मगर संघ युकेले नेपाली कला सँस्कृतिको संरक्षणका लागि गरिरहेको योगदानका लागि धन्यवाद दिँदै उहाँले यस कार्यमा मगर संघ युकेसित दुताबासले सहकार्य गर्ने बताउनुभयो । यसबारेमा मगर संघ युकेले गरेको प्रस्तावको समर्थन गर्दै उहाँले दुताबासमा प्रथम शहीद लखन थापामगरको तस्वीर राख्न गरिएको अनुरोधमा उहाँले तस्वीर राख्ने वचन दिनुभयो । लखन थापाका बारेमा दुताबासले स्मृति सभा राख्ने बारेमा आफूले गृह मन्त्रालयसित परामर्श गर्ने पनि उहाँले बताउनुभयो ।
सो अवसरमा मगर संघ युकेका अध्यक्ष सुनिल रानामगरले गोरखा भूतपूर्वहरुको समस्याका बारेमा राजदुतको ध्यानाकर्षण गराएका थिए भने प्रथम शहीद लखन थापामगरको तस्वीर दुताबासमा राख्न र स्मृति कार्यक्रम गर्न माग गर्दै ज्ञापन पत्र पनि बुझाएका थिए । उनले राजदुत रेग्मीलाई मगर भवनको भ्रमणका लागि निम्तो पनि दिएका थिए ।
अध्यक्ष रानाले राजदुत रेग्मी, उपनियोग प्रमुख श्रीमती रोशन खनाल र सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदारलाई खादा लगाई स्वागत गरेका थिए । यसैगरी वरिष्ठ उपाध्यक्ष सीता पुनले राजदुत रेग्मीलाई र ट्रष्टी गोमा रानाले उपनियोग प्रमुख खनाललाई पुष्पगुच्छा प्रदान गरेका थिए ।
सो अवसरमा मगर संघ युकेका सल्लाहकार नरेश खपाङ्गीमगरले नेपाली कला सँस्कृतिलाई प्रवर्धन र संरक्षणका लागि मगर संघ युकेले सन् २००७ देखि बेलायतमा ओपन कन्सर्ट गर्दै आएको र सो कन्सर्टलाई अझ परिस्कृत, व्यवस्थित र विस्तृत गर्न दुताबाससित सहकार्यका लागि अनुरोध गरेका थिए ।
संघका महासचिव रुद्र थापाले बेलायतमा रहेका नेपालीहरुको नेपाली नागरिकताको बारेमा रहेको चासो र चिन्ताका बारेमा राजदुतको ध्यानाकर्षण गराएका थिए भने वरिष्ठ उपाध्यक्ष सीता पुनले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
प्रतिनिधमण्डलमा अध्यक्ष राना, वरिष्ठ उपाध्यक्ष सीता पुन, उपाध्यक्षहरु छविमाया पुन र राम गलामी, महासचिव रुद्र थापा, ट्रष्टीहरु ताम ढेँगा र गोमा राना, सल्लाहकारहरु लेफ्टिनेण्ट कर्णेलद्वय टोल खाम्चा र देवेन्द्र आले, नरेश खपाङ्गीमगर, टोप पल्ली, कार्यसमिति सदस्यहरु सरु राना गुरुङ, किशोर राना र डण्ड थापा रहेका थिए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा