मंगलबार, असोज ५ २०७८ | Tue, September 21, 2021
नेपालको समय: ०७:५६ | UK Time: 03:11

वेल्स एम्बुलेन्स र नेपालको स्कुलका लागि ६० पटक वेल्सको पहाड चढ्दै

वीनेपाली
२०७८ भदौ २५ गते ८:१२

लण्डन । पूर्व गोरखा सैनिक महादेव थापामगर आफू ६० ‌वर्ष पुगेको अवसरमा ६० पटक साउथ वेल्सको सबैभन्दा अग्लो पहाड ६० पटक चढेर वेल्स एम्बुलेन्स र नेपालको स्कुलका लागि सहयोग जुटाउँदै छन्  ।

सेप्टेम्बर २२ मा ६० वर्ष पुग्न लागेका थापाले अगष्ट ९ देखि सेप्टेम्बर २२ सम्ममा ६० पटक पेनी फ्यान पहाड चढ्ने योजना बनाएका छन् । यसबाट संकलित सहयोग वेल्स एम्बुलेन्स र तनहुँ यान्चोकको सनराइज प्राइमरी स्कुललाई प्रदान गरिने बताइएको छ ।

पेनी फ्यान वेल्समा पर्यटकहरुका लागि लोकप्रिय पहाड मानिन्छ । ८८६ मिटर अग्लो सो पहाड दक्षिणी वेल्सको सबैभन्दा अग्लो पहाड पनि हो ।

थापा परिवारको चार पुस्ता गोरखा सैन्यमा कार्यरत छ । उनको हजुरबुबाले बेलायती सेनाबाट अवकास पाएपछि सन् १९५५ मा यान्चोकमा स्कुल खोलेका थिए । सो स्कुल अहिले शिक्षकको व्यवस्था गर्न नसक्दा बन्द हुने अवस्थामा पुगेकाले सहयोग उठाउनु परेको महादेवको भनाइ छ । यदि सो स्कुल बन्द भएमा स्थानीय बालबालिकाले अध्ययनका लागि टाढा जानु पर्नेछ ।

महादेवका बुबाले पनि बेलायती सेनामा काम गरे भने महादेवले पनि गोरखा इन्जिनियर्समा १५ वर्ष सेवा गरे । महादेवका छोरा पनि अहिले गोरखा सैन्यमा कार्यरत छन् ।

महादेव सन् २००७ देखि ब्रेकन वेल्समा बसोबास गर्दै आएका छन् । उनी सन् २००८ देखि स्थानीय पोवीस काउन्टी काउन्सिलमा कार्यरत छन् ।

सामाजिक कार्यमा सक्रिय उनी मगर संघ वेल्सका अध्यक्ष पनि हुन् ।

ब्रेकनका मेयर जोन पावेल पनि महादेवको अभियानलाई सहयोग गर्न पेनी फ्यान पुगिसकेका छन् । उनले भने, ‘महादेवले हाम्रो समुदायलाई धेरै मद्दत गरेका छन् र उनलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ ।’

महादेवलाई सहयोग गर्न निम्न लिङ्कमा क्लीक गर्नुहोस्  https://www.justgiving.com/fundraising/mahadev-thapa वा नाटवेट बैँकमा ग्वेनेथ इभान्सलाई सम्पर्क गरी sort code 51-81-27 र account number 86726692 उल्लेख गरी सहयोग गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक