गत साल रोकिएको नेपाली मेला आइतबार लण्डनमा हुँदै

लण्डन ।बेलायतमा नेपाली संस्कृति,भेषभुषा,भाषा  र कला झल्काउने   ‘तमुधी नेपाली मेला’ हुने भएको छ । कोभिड संक्रमणका कारण अघिल्लो वर्ष रोकिएको यो मेला आगामी अगस्ट २९ तारिकका दिन आयोजना हुने भएको हो । मेला लण्डनको केम्पटन पार्क रेस कोर्समा मेला हुने भएको छ ।

आइतबार लण्डनस्थित मिचेटमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक तमुधी संघ यूकेले मेलाको तयारी लगभग पूरा भैसकेको जानकारी दिएको छ । नेपाली राजदुतावासको सहकार्यमा हुने यो मेलाको मुख्य नारा ‘हाम्रो संस्कृति,हाम्रो पहिचान,हाम्रो गौरव’ रहेको  छ । यो मेलामा करिब  ३१ हजार  पाउन्ड खर्च गरिने संस्थाका संयोजक  हरि गुरुङले बताए । ‘ मेलामा विभिन्न जातजातिको भेटघाट हुनेछ । यसले बिदेशमा बसेका नेपालीहरूविच आत्मियता र पारस्परिक सम्बन्ध बढाउन मद्दत पुर्याउँछ जस्तो हामीलाई लाग्छ । ‘ उनले भने ।
 नेपालीपन झल्काउने नृत्य देखाउन र स्टलहरू राख्नका लागि २० वटा संघसंस्थाहरूले भाग लिसकेको बताइएको छ ।
 अघिल्लो वर्षहरुमा यो मेला हेर्न ८-९ हजार आगन्तुक भेला हुन्थे । यो वर्ष संक्रमणको जोखिमका कारण ३ हजार आगन्तुकको सहभागिता हुने अनुमान रहेको छ । सकिन्छ भने कोभिड परिक्षण गरेर मात्रै मेलामा आउन संस्थाका प्रतिनिधिले अनुरोध गरेका छन् भने संक्रमणबाट सक्दो बच्न मास्क र सेनिटाइजर प्रयोग गर्न पनि उनीहरूले अनुरोध गरेका छन् ।
विदेशी भूमिमा बसेर नेपालमा पनि नदेखिएका वस्तुहरु अवलोकन गर्न पाइने भएकाले यो मेला नछुटाउन संस्थाका अध्यक्ष  हितकाजी गुरुङले नेपालीवासीहरूलाई अनुरोध गरेका छन्  । ‘ मेला गुरुङ जातिले आयोजना गरेतापनी यसले पुर्ण नेपालीपन झल्काउँछ,त्यसैले यो सबै नेपालीको मेला हो । हाम्रो उदेश्य  नाफा नभै संस्कृति जोगाउनु हो ‘ उनले भने ।
मेलामा तमुधी आमा समुहले साडीको स्टल राख्ने र उठेको रकम नेपालको पवित्र बृद्दाआश्रमलाई दान गर्ने जानकारी दिएको छ ।
 मेलामा  आयोजना हुने झांकी र नृत्यमा  प्रथम हुने समूहलाई एकहजार एकसय पाउण्डसहित ‘एम्बासडर कप’ प्रदान गरिनेछ ।
 प्रथम हुनेलाई अतिरिक्त तीन सय पाउण्डको ‘एनआरएनए यूके कप’ समेत दिइनेछ । दोश्रो हुनेले ७ सय पाउण्ड एवं तेश्रो हुनेलाई पाँच सय पाउण्ड नगद प्रदान गरिनेछ ।
त्यसैगरि झांकीमा मात्र प्रथम हुनेलाई पाँच  सय पाउण्ड र दोश्रो हुनेलाई तीन सय  पाउण्ड र नृत्यमा प्रथम हुनेलाई  पाँच सय पाउण्ड र दोश्रो विजेतालाई ३०० पाउण्ड प्रदान गरिने जानकारी दिएको छ ।
 कार्यक्रममा संस्थाका पूर्व  अध्यक्ष ज्ञाम गुरुङले सानो ठाउँबाट सुरु गरेको यो मेला दिगो प्रभावकारी बनाउन सुझाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री