गोर्खा सैनिकका समस्या समाधान गर्न एनआरएनए युकेले पठायो नेपाल सरकारलाई ज्ञापन पत्र 

लण्डन । गैर आवासीय नेपाली संघ युकेले आन्दोलनरत पूर्व गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको छ ।

मंगलबार लण्डनस्थित नेपाली राजदूतावासमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाउँदै अवकाशप्राप्त गोर्खा सैनिकको समस्याको दीर्घकालिन समाधानका लागि पहल गर्न अनुरोध गरेको हो ।

गोर्खा विभाग प्रमुखसमेत रहेका अध्यक्ष प्रेम गाहा मगरले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई ज्ञापनपत्र बुझाएका हुन् । अध्यक्ष गाहा मगरसँगै एनसीसी युकेका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु पनि सो अवसरमा उपस्थित थिए ।

एनआरएनए युकेका उपाध्यक्ष नारायण कंडेलले ज्ञापन पत्र पढेर सुनाएका थिए। ज्ञापनपत्रमा नेपाल सरकार गोर्खा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको र यस सम्बन्धी कूटनीतिक प्रक्रिया पनि शुरु गरि सकेको भन्ने मन्त्रिपरिषदको १६ अगष्टको निर्णयलाई हामीले सकारात्मक रुपमा लिएको र नेपाल सरकारलाई ठोस योजनासहित यो समस्याको दीर्घकालिन समधानका लागि तत्काल पहल गर्न अपिल गरिएको छ ।

एनआरएनए यूकेले गत अप्रिलमा पनि बेलायतस्थित ब्रिटिश गोर्खा सैनिक सम्बद्ध विभिन्न पाँच संस्थाहरुको सहभागितामा नेपाल सरकारलाई प्राविधिक समितिको सिफारिस कार्यान्वयनका लागि वार्ता टोली गठन गर्नुपर्ने भन्दै पत्र पठाएको थियो ।

सोही समयमा बेलायती प्रधानमन्त्रीलाई पनि पत्र पठाइएको थियो । बेलायत सरकारका तर्फबाट रक्षा मन्त्रालयले ११ मे २०२१ मा जवाफ पठाएपनि नेपाल सरकारले भने कुनै जवाफ पठाएको छैन ।

बेलायती रक्षा मन्त्रालयले एनआरएनलाई लेखेको जवाफी पत्रसमेत संलग्न गरेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाइएको हो ।  ‘अगष्ट ७, २०२१ देखि तीन जना अभियन्ताहरुले आमरण अनशन शुरु गर्नु भएको छ। दिन प्रतिदिन उहाँहरुको स्वास्थ्य कमजोर बन्दै गएको छ। हामी उहाँहरुको जीवन रक्षाबारे अत्यन्त चिन्तित छौं’ पत्रमा उल्लेख गरिएको छ ।

‘लामो समयसम्म बल्झिरहेको सेवानिवृत्त बृटिश गोर्खा सैनिकहरुका समस्यामा केन्द्रित रहेर संयुक्त प्राविधिक समितिमा लामो समयसम्म गरिएको छलफलको निस्कर्षको रुपमा २०१८ मार्चमा अन्तिम रुप दिइएको १३ बुंदे प्रतिवेदनलाई अविलम्व कार्यान्वयन गर्न बेलायत सरकारसंग कूटनीतिक पहल गरी समस्या समाधान गर्न एनआरएनए युके जोडदार माग गर्दछ,’ अध्यक्ष गाहा मगरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा गोर्खा समस्याको दीगो र स्थायी समाधान गर्नका लागि तत्काल एक उच्चस्तरीय वार्ता समिति गठन गरी वार्ताको मिति र स्थान समेत तोक्न कूटनीतिक पहल गर्न पनि माग गरिएको छ ।

एनआरएनए युकेका उपाध्यक्ष मोहन कार्कीले एक छुट्टै ज्ञापनपत्र राजदूत रेग्मीलाई बुझाएका थिए।   ज्ञापनपत्रमा नेपाली दूतावासबाट प्रदान गरिने राहदानी नवीकरण, एमआरपी, भिसा थपजस्ता सेवाहरु नियमित रुपमा घुम्ती सेवा मार्फत स्कटल्याण्डमा पनि उपलब्ध गराउने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

बेलायतस्थित नेपाली राजदूतावासमार्फत प्रधानमन्त्री देउवालाई पठाइएको ज्ञापनपत्र

प्रतिक्रिया

सम्बन्धित सामाग्री