खोटाङ सेवा समाज युकेद्वारा खोटाङ अस्पताललाई स्वास्थ्यसामग्री हस्तान्तरण

लण्डन । खोटाङ सेवा समाज युकेले खोटाङ अस्पताललाई कोभिड १९ बाट बचाउने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

आइतबार भर्चुअल कार्यक्रमबाट समाजका अध्यक्ष डा.प्रमोद कोयी राईले खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र जिल्ला स्वास्थ्य प्रमुख पुण्यप्रसाद सिग्देलको रोहबरमा खोटाङ जिल्ला अस्पताललाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।

संस्थाका अध्यक्ष डा. कोयीको नेतृत्व तथा कार्यसमितिको संस्थागत सक्रियतामा संचालन गरिरएको “अक्सिजन पठाऊ आफन्तको ज्यान बचाउ” अभियानले पहिलो चरणमा थर्मल गन, कन्सन्ट्रेटर,पल्सअक्सी मिटर, इन्ट्यूवेसन सेट, अक्सिजन मास्क, सक्सन ट्यूव, गाइड्लर एयरवेज, थ्रीवरएज अक्सिजन कारमेला र दोस्रो चरणमा पोर्टेवल एक्सरे मेसिन, प्यासेन मनिटर, स्ट्याण्ड माउन्टेड, एन्टिजेन टेस्ट कीट जम्मा चौवीस लाख साठीहजार दुई सय रकम बराबरको स्वास्थ्य सामग्री खोटाङ जिल्लाभरिका जनताका लागि हस्तान्तरण गरिएको हो।

पहिलो चरणको स्वास्थ्य सामाग्रीहरु भने खोटाङ जिल्लाका दसवटै पालिकाहरुका स्वास्थ प्रमुख र जनप्रतिनिधिहरूको रोहबरमा हस्तान्तरण गरिएको हो । संस्थाका अध्यक्ष डा. कोयीले जिल्लाभरिका कोभिडका गम्भीर बिमारीहरु कोभिड जिल्ला अस्पताल खोटाङमा नै उपचार गर्न आउनु पर्ने हुन्छ र सबै कोभिडका बिमारीहरुले संस्थाद्वारा प्रदान गरिएका स्वास्थ्यसामग्री सही ढंगले उपयोग गर्ने अवसर मिलोस् भन्ने उद्देश्यका साथ संस्थाको निर्णयबमोजिम दोस्रो चरणको स्वास्थ सामग्री जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको बताए ।

खोटाङ सेवा समाज युके खोटाङ जिल्लाभरिका जनताहरूका समस्या र पीडामा मलम बनेर सेवा पुर्याउने उद्देश्यले स्थापना गरिएको विशुद्द सामाजिक संस्था हो । बच्चादेखि बृद्धअवस्थाका बेलायतवासी खोटाङे नागरिकहरूले आफ्नो गाँस काटेर हृदयले गरिएको यो सेवा समर्पण हो ।

यो सद्भावलाई सम्मानसाथ सम्बन्धित निकायले जिल्लाभरिका जनताको पीडा कम गर्न सहयोग गर्नु हुन्छ भन्ने अपेक्षा गर्दै जिल्ला प्रमुख अधिकारी शर्मा, जिल्ला स्वास्थ्य प्रमुख डा.सिग्देल र जिल्लाका डा. वैभव मल्लिकसमक्ष संस्थाका अध्यक्ष डा. कोयी, सल्लाहकार निवर्तमान अध्यक्ष रत्न राई, वरिष्ठ उपाध्यक्ष भाग्यवती राई, उपाध्यक्ष प्रसाद राई लगायतले मन्तव्यको क्रममा अनुरोध गरेका थिए । संस्थाका महासचिव भोलाविक्रम राईद्वारा संचालन गरिएको उक्त भर्चुअल कार्यक्रममा अध्यक्ष डा. कोयीले बेलायतवासी सम्पूर्ण दाताहरुलाई खुलेरै प्रशंसा र धन्यवाद व्यक्त गर्दै भविस्यमा पनि जिल्लावासीहरुका लागि मनैले सेवा पुर्याउने प्रतिवद्धता पनि जाहेर गरेका थिए ।

कोभिड पूर्णरूपमा अन्त भए पछि बाँकी रहेको स्वास्थ सामग्रीहरु पालिकाकाहरूलाई उपलब्ध गराउन खोटाङ जिल्ला प्रमुख अधिकारी शर्मासमक्ष अनुरोध गरेका थिए र जिल्ला प्रमुख शर्माले पनि संस्था र अध्यक्षको अनुरोधलाई सम्मान साथ पूरा गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री