एनआरएनए युके निर्वाचन: उम्मेदवारहरु चुनावी अभियान व्यस्त

लन्डन । एनआरएनए युकेको आगामी सप्ताहन्तमा हुने निर्वाचनमा आफ्नो पक्षमा मत पार्न उम्मेदवारहरुको सक्रियता बढेको छ ।

अध्यक्षकी प्रत्यासी रोजिना प्रधान राई चुनावी अभियानका क्रममा स्कटल्याण्ड पुगेकी छिन् भने अध्यक्षका अर्का प्रत्याशी प्रेम गाहामगर गोरखाहरुको अनसनमा पुगेर ऐक्यवद्धता जनाएका छन् । अर्का अध्यक्षका उम्मेदवार दीपक श्रेष्ठ आइतबार पत्रकार भेटघाट गर्दैछन् ।

स्कटल्याण्डमा रोजिना

तीन दिने चुनावी यात्रामा क्रममा रोजिना प्रधानको टीम स्कटल्याण्डको प्रमुख शहरहरु एडिनबरा, ग्लास्गो र एबरडिन पुगी त्यहाँका मतदातासंग प्रत्यक्ष भेटघाट र सहयोग अपिल गरेर फर्किएका छन् । ग्लास्गो नेपाली समाज, एडिनबरा नेपाली समाजका कार्यक्रम र एबरडिनमा उनलाई विशेष स्वागत गर्दै स्थानीय एनआरएनए अभियन्ताहरुले जीतको अग्रीम शुभकामना दिए । रोजिनाको साथमा स्कटल्याण्डबाट केन्द्रमा प्रतिनिधित्व गर्न उपाध्यक्ष उम्मेदवार छविलाल अर्याल, एनआरएनए यूके स्कटल्याण्ड राज्य समन्वय परिषद अध्यक्ष उम्मेदवार दिवाकर पाण्डे, एनआरएनए यूके महासचिव पदका प्रत्यासी डा. मुकुन्द बास्तोला, उपाध्यक्ष उम्मेद्वार पवन शर्मा, महिला उपाध्यक्ष उम्मेद्वार सरस्वती केसी, सल्लाहकार तिलक भट्टराई लगायत अभियन्ताहरु साे अभियानमा सहभागी दिए ।

ती कार्यक्रममा पाएको सद्भाव र समर्थनले रोजिना आफूमा झन् आत्मबल बढेको बताउँछिन् । ‘मतदाताहरुसंग प्रत्यक्ष भेटेर कुराकानी हुंदा उहांहरु धेरै खुशी देखिनुहुन्थ्यो’, लन्डन फर्किएर रोजिनाले भनिन्, ‘मेरा प्रतिवद्धता र उहांहरुका अपेक्षा मेल खाने भएकाले पूर्ण समर्थनको वचन पाएको छु । म उहांहरुको विश्वास, भरोसा डगमगाउन दिन्न ।’ डा. बास्तोलाले कार्यक्रमपछि आफूहरु विजयउन्मुख अनुभूति गरेको बताए ।

गोर्खाहरुसित गाहा

यसैगरी, लण्डनमा अनसन बसिरहेका गोर्खा सत्याग्रहको अनसनस्थल पुगेर अध्यक्षका अर्का उम्मेदवार गाहा मगरले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुले वर्षौदेखि सन्चालन गरेको समानताको संघर्षमा आफू अन्तिमसम्म लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गोर्खा सत्याग्रह संघर्ष समितिले लण्डनको टेन डाउनिंग  स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालय नजिकै जारी अनसनस्थल पुगी गोर्खाहरुको अधिकार स्थापनाका लागि आफू अन्तिमसम्म लडिरहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘विभेद के हो भन्ने मलाई राम्रोसँग थाहा छ,’ पूर्व गोर्खा सैनिक समेत रहेका गाहा मगरले भने, ‘समानताको लागि गरिने आन्दोलनमा मेरो समर्थन रहन्छ।’

एनसीसी यूके अन्तर्गतको गोर्खा डिपार्टमेन्ट प्रमुख समेत रहेका गाहा मगरले आफ्नो पहलमा पूर्व गोर्खाहरुसँग सम्बद्ध सबै संस्थाहरुको तर्फबाट बेलायत र नेपाल सरकारलाई  प्रतिवेदन बुझाएको स्मरण गरे । ‘ब्रिटिश सरकारले आफ्नो जवाफ पठाइसकेको छ, अब हामी नेपाल सरकारको जवाफ पर्खिरहेका छौं’ उनले भने ।

नेपालमा सरकार परिवर्तन भएकाले नेपाल सरकारका तर्फबाट जवाफ आउन केही ढिलाइ भएको उनले जानकारी दिए । ‘अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई यसबारेमा ध्यानाकर्षण गराइसकेको थिएँ,’ उनले भने ‘ हिजो मात्रै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छु ।’

गाहा मगरले नेपालमा सरकार सञ्चालन तथा सरकारका साझा कार्यक्रम तय गर्न गठित कार्यदलका संयोजक एवम् नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई पनि बेलायतमा रहेका पूर्व गोर्खाहरुको समस्या समाधानका लागि नेपाल सरकारले गर्नुपर्ने पहलका बारेमा जानकारी गराएको बताए ।

‘नेपालले केही दिन भित्रै पहल थाल्ने जानकारी पाएको छु’ उनले भने, ‘दुई देशबीचको वार्ताबाटै समस्या समाधान गर्नुपर्छ भन्ने मेरो ठहर हो ।’

अध्यक्षका उम्मेदवार गाहा मगरले आफू एनआरएनए यूकेको अध्यक्षमा निर्वाचित भए पनि नभएपनि गोर्खा मुद्दा सम्बोधन गर्न पहल गरिरहने स्पष्ट पारे ।

अनसनस्थलमा गाहा मगरसँगै एनआरएनए यूकेका उपाध्यक्षका उम्मेदवारहरु नारायण कँडेल, मोहन कार्की र गोविन्द खरेल पनि पुगेका थिए । उनीहरुले पनि गोर्खा मुद्दा सम्बोधनका लागि आफूहरु सम्वेदनशील रहेको भन्दै यसका लागि गाहा मगरले अघि सारेको प्रस्ताव उपयुक्त रहेको बताए ।

आगामी निर्वाचनमा गाहा मगर र उनको अजेण्डामा सहमत उम्मेदवारहरुलाई विजयी बनाए वर्षौं देखि थाती रहेको गोर्खा मुद्दासहित अन्य  विषयमा काम गर्न सहज हुने उनीहरुको भनाइ थियो ।

पत्रकारहरुसित दीपक

अध्यक्ष पदका अर्का उम्मेदवार दीपक श्रेष्ठले पनि आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् । उनले शनिबार आयोजना भइरहेको गोरखा कपमा स्टल राखी मतदाताहरुसित भेटघाट गरिरहेका छन् भने आइतबार दक्षिण पूर्वी लण्डनमा पत्रकारहरुसित अन्तरक्रिया पनि राखेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री