बेलायतमा कुन कुन क्षेत्रका कामदारले एनएचएस आप्सले भने पनि आइसोलेसनमा बस्न पर्दैन ?

लण्डन । बेलायतमा कोरोना भाइरस फैलन नदिन विकास गरिएको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को आप्सले एक सातामै लाखौँ मानिसहरुलाई आइसोलेसनमा बस्न भनेपछि सरकारले अत्यावश्यक क्षेत्रका कर्मचारीहरुलाई आप्सले आइसोलेसनमा बस्न भने पनि बस्न नपर्ने निर्णय गरेको छ ।

खासगरी सुपरस्टोरका कर्मचारीहरु आइसोलेसनमा बस्दा ती स्टोरहरुमा खाद्यवस्तुको अभाव देखिन थालेपछि सरकारले सो निर्णय गरेको हो।

सरकारले खाद्य उद्योग, यातायात सेवा सन्चालन, अत्यावश्यकीय सेवाका क्षेत्र, सीमा गस्ती, उर्जा, डिजिटल पूर्वाधार, फोहोर व्यवस्थापन, खानेपानी उद्योग, रक्षा क्षेत्र र स्थानीय सरकारहरुमा कार्यरत कर्मचारीहरुलाई एनएचएस आप्सले आइसोलेसनमा बस्न भने पनि बस्न नपर्ने व्यवस्था गरेको छ ।

सरकारले आइसोलेसनमा बस्नुको सट्टामा त्यस्तो सन्देश पाएका कर्मचारीहरुलाई दैनिक कोभिड जाँच गर्ने व्यवस्था मिलाउने भएको छ । सरकारको यस निर्णयबाट करिब १० हजार कामदारहरु लाभान्वीत हुने बताइएको छ ।

सरकारले तत्काल १५ वटा सुपरस्टोरको डिपोहरुमा कोभिड जाँच गर्ने प्रबन्ध मिलाएको छ भने अर्को साता थप १५० वटामा विस्तार गर्नेछ ।

नयाँ प्रावधानअनुसार माथिका क्षेत्रमा काम गर्ने कर्मचारीहरुले एनएचएस आप्सले आइसोलेसनमा बस्न भने पनि कोभिड जाँचमा पोजिटिभ नआएसम्म काममा नियमित जानु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री