मंगलबार, मंसिर २१ २०७८ | Tue, December 07, 2021
नेपालको समय: ०८:३५ | UK Time: 02:50

साहस, संकल्प र ईन्द्र लिम्बू

नरेश राई 
२०७८ साउन २ गते ९:४१

एसेक्स, ग्रेजको क्लेरेन्स रोडदेखि थोरै भित्र पसेपछि सुनसानको टोल भेटिन्छ । जुन महिनाको बदलिदो मौसम, त्यहाँका लस्कर घरहरु मध्यदिनको टन्टलापुर घाममा सुनसान छन् । जोर नम्बर घरको पल्लो कुनामा ताप्लेजुंग, ताम्राङकी की ईन्द्र लिम्बू (पन्धाक-ईश्बो) को आफ्नै घर छ । टोलको पल्लो छेउमा जस्तो देखिने उनको घरको बैठक कोठा गोर्खाली पृष्ठभूमीमा सजाईएको छ । 

‘सेवारो है, हजूर! घरैमा पो बसिराखेको छौं हामी त,’ घन्टी बज्नासाथ भित्रबाट पूर्वेली लवजमा उनले बोली र आफ्नै परम्परागत शैलीमा आफूलाई प्रस्तुत गरिन् ।

संसार लकडाउनको बन्देजमा रहे जस्तै नेपालकै झझल्को दिने उनको चिटिक्क परेको बैठक कोठा पनि शान्त छ ।  

आफ्नो थातथलो छोडेपछि धेरै मान्छेहरु उतैको रमितामा भुलिने गर्छन् । आफ्नो मौलिकपन बिर्सन्छन् । तर, ग्रेजका नेपालीहरुले आफ्नो मौलिकतालाई भुलेका छैनन् । उनीहरु आफू बोल्ने भाषा र बाँच्ने जीवनशैली उतैको छ । कसैसंग जम्काभेट भए चासोका साथ एक-आपसको निन्दा गर्छन् । विचार र अनुभव धित मरिन्जेल साट्छन् । सानाले ठूलालाई आदर र ठूलाले सानालाई प्रेम सदभाव देखाउने पुस्तौंदेखिको परम्परा यहाँ कायमै छ । घरेलु पहिरनमा भेटिएकी ईन्द्रमा पनि यही गुण झल्कियो: पल्लो किराँतको निख्खर सरल हाउभाउ। 

तर, समाजमा उनको व्यक्तित्व भिन्न छ: उनी गायिका पनि हुन् । प्रकृतिको, आँखाभरी लगायतका धेरै नेपाली गीतहरु उनले गएकी छिन् । बेलायत आएपछि दर्जनभन्दा बढी गीतहरु रेकर्डिङ्ग गरेकी छिन् । नेपालको ख्याति प्राप्त कलाकारहरुसंग एउटै मन्चमा कार्यक्रम गरेकी छिन् । यही हुनाले कलाकार भनेर उनलाई नचिन्नेहरु यहाँ कमै छन् । यद्यपि, उनको जीवन संघर्ष भने अरुको भन्दा फरक छैन । 

गोर्खा सैनिक पृष्ठभूमीमा जन्मिएकी ईन्द्रको सुरुको बाल्यकाल हंगकंगमा बित्यो । कक्षा ५ सम्मको अध्ययन उनले त्यहीको गोर्खा हाई स्कूलमा गरिन् । स्कूलमा उनी सबैको आशाको केन्द्र थिइन् । कक्षामा अब्बल श्रेणीको विद्यार्थीमा पर्थिन् । परीक्षामा सधैं प्रथम हुन्थिन् । सामान्य ज्ञानमा राम्रो दखल थियो । स्कूलमा हुने प्रतियोगितामा प्राय: पुरस्कृत भइरहन्थिन् । ‘त्यो बेला मलाई सबैले नाच्न लगाउँथे । मलाई पनि नाच्न भनेपछि असाध्यै मन पर्थ्यो, खुब नाचेँ,’ आफ्नो विद्यार्थीकालको एक प्रसंगमा थोरै असहज मान्दै उनले भनिन् । ‘तर, कुनै दिन गायिका नै बन्छु भन्ने चाहिँ मलाई लागेको थिएन । केही भईहाले नाच्नेसम्म हुन्छु कि भन्ने चाहिँ लागेको थियो ।’ 

तर, ईन्द्रको पिताको नोकरी सकिएपछि स-परिवार पुर्ख्यौली थलो ताम्राङ नै फर्किनु पर्यो । ६ वर्षको अनुभव लिएर उनी आमा-बाको साथ गाउँ फर्किइन् । बढ्दो उमेरसंगै उनको त्यहाँ गाउँले जीवन शुरु भयो ।  

हंगकंगमा जस्तो पढ्ने सुविधा गाउँमा थिएन । त्यहाँ प्राइमरी तहसम्म मात्र पढाई हुन्थ्यो । त्योभन्दा माथ्लो तहको अध्ययन गर्न टाढाको स्कूल जानु पर्थ्यो । घरबाट धाउनु सजिलो थिएन । ४ वर्ष मेलापात गरेर घरैमा बिताइन् । घरकी एक्ली छोरी, समयसंगै अरू जिम्मेवारहरु थपिंदै गए । यसको प्रत्यक्ष असर उनको अध्ययनमा पनि पर्यो । जेनतेन गरेर कक्षा ९ सम्म अध्ययन गरिन् । तर, समय  र भाग्यले जीवनमा अर्कै नयाँ मोड लिन थाल्यो — एकातिर जेठी छोरीको बढ्दो जिम्मेवारी, अर्कोतिर पढाई । ‘मान्छेले गर्छु भनेर केही नहुने रै’छ? भाग्यमा जे लेखिएको छ, त्यही भोग्नु पर्ने रै’छ,’ उनले यसो भनिरहँदा उनको मुहारभाव विगत र वर्तमानको दोसाँधमा अल्मलिएको आभास हुन्थ्यो । 

१८१४ को सुगौली सन्धिमा नेपाली युवाहरु पनि बेलायती सेनामा भर्ना हुन पाउने प्रावधान बनाइयो । त्यसपछि नेपाली युवाहरु बिस्तारै बेलायती सेनाप्रति आकर्षित हुन थाले । सेनामा लागेपछि उनीहरुलाई गोर्खा नामले चिनिन थालियो । बेलायतको तर्फबाट अंग्रेजहरूसंगै उनीहरुले विश्वका धेरैवटा युद्धहरू लडे । विश्वको धेरै ठाउँहरुमा शान्ति सुरक्षाको लागि योगदान पुर्याए । नयाँ देशहरु निर्माण गरे । मलेसिया यसको एउटा उदाहरण हो । यसरी बहादुरी देखाएवापत बेलायतले १३ जनालाई भिक्टोरिया क्रसले सम्मानित गर्यो । तर, युद्धमा सहादत प्राप्त गरेकाहरु भने कसैलाई पनि शहीद घोषणा गरेन । पेन्सन लगायतका कुराहरु लिएर बेलायत सरकारविरुद्ध गोर्खालीहरु अझै पनि आफ्नो असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।  

बेलायती सेनामा सेवा गरेवापत नेपालले के र कति पाउँछ ? गोर्खालीहरु स्वयम् आफैँ अनभिज्ञ छन् । तर, उनीहरुको बहादुरी र ईमन्दारीको साक्षी आज संसार छ । विश्व राजनीतिको मानचित्रमा देशलाई जस्तो देखाइए पनि नेपाल र नेपालीले गर्व गर्ने ठाउँ गोर्खालीको कारण फराकिलो बनेको छ । बेलायती सेनामा गोर्खालीलाई कहिलेसम्म भर्ना लिइने ? अहिलेसम्म कुनै ‘टायम फ्रेम’ छैन । तर, गोर्खालीको संख्या अहिले निकै घटाइएको छ । पछिल्लो वर्षहरुमा ‘ब्रिगेड अफ गोरखाज’ मा २३० देखि २५० र सिंगापुर पुलिस फोर्समा १४० गरी हरेक वर्ष ३५० देखि ३९० को हाराहारीमा नेपाली जवानहरु सेनामा भर्ना हुने गरेको तथ्यांकले देखाएको छ । 

‘बदलिदो समयसंगै देश परिवर्तनको लागी युवाहरू स्वदेशमै रहनु पर्छ । देश छोडे भाषा, धर्म, र संस्कृतिको बिनाश हुन्छ’ भन्नेहरु पछिल्लो दशकदेखि आवाज निकाल्न थालेका छन् । तर, नेपाली युवाहरुको बेलायती सेनाप्रतिको मोह बढ्दो छ । घटेको छैन ।   

१९८०-९० नेपालीको लागी नयां परिवर्तनको दशक थियो । जनमत संग्रहमार्फत उनीहरूले आफ्नो मौलिक अधिकार प्रयोग गर्ने पहिलो अवसर त्यही समय पाए । निर्दलीय प्रणाली अन्तर्गत देशमा राष्ट्रिय सभाको पहिलो निर्वाचन यही बेला भयो । १९८९ मा भारतले नेपालमाथि लगाएको नाकाबन्दीले देशको अर्थतन्त्रमा ठूलो असर पार्यो । नेपालीहरू विदेशी श्रम बजारमा जाने चलन त्यही समयदेखि सुरु भयो । बेलायती सेनामा बाहेक त्योभन्दा पहिला विदेश जाने नेपालीको संख्या नगन्य थियो । जो जान्थे, आज जस्तो बाध्यताले होइन, रहरले जाने गर्थे । 

देशमा प्रजातन्त्र स्थापनाको लागी जनआन्दोलन पनि त्यही दशक भयो । ईन्द्रको उर्लिदो उमेर यही परिवेशमा हुर्किंदै थियो । १९९० मा तेह्रथुम खाम्लालुङका युवराज ईश्बोसँग उनको विवाह भयो । दुई जीवन, एउटै रथ — फेरि नयाँ यात्रा शुरु भयो । युवराज स्वयम् बेलायती सेनामा कार्यरत थिए । १९९४ मा ईन्द्र फेमिलीमा फेरि हंगकंग आइन् । यो पटकको हंगकंग आगमन उनको तेस्रो थियो । क्याम्पमा बस्न थालेपछि उनको दैनिकी अरु नम्बरनीहरुको हूलमा मिसियो । समय बितेको उनलाई पत्तै भएन । ३ वर्षको फेमिली टूर सकिएपछि २ छोराहरूका साथ उनी फेरि नेपाल फ़र्किइन् । 

स्टेजमा प्रस्तुति दिँदै ईन्द्र

युवराज जस्तै १९६० को दशकमा ईन्द्रको पिता पनि बेलायती सेनामा हंगकंगमै थिए । उनी त्यही बेला हंगकंगमा जन्मेकी थिइन् ईन्द्र। फेमिली सकिएर नेपाल गएपछि आवासको लागी १९९७ मा उनी फेरि हंगकंग आइन् । त्यो बेला हंगकंगमा नेपालीहरु थोरै थिए । त्यहाँ उनीहरुको आफ्नै समाज थियो । त्यस समाजभित्र परदेशी जीवन निकै कठिन थियो । धेरैले त्यहाँको भाषा र कानुन बुझ्दैनथे । तर, उनीहरू आफन्त र छिमेकीलाई बुझ्थे । अधिकांश नेपालीहरु नेपालकै राजनीतिक र जातीय संघ संगठनको बिल्लामा भेटिन्थे । तर, भूगोलको नयाँ कुरा बुझ्नु पर्छ भन्ने उनीहरु थोरैलाई मात्र ज्ञान थियो । त्यसैले चाहिएको बेला उनीहरु सबैले उचित सल्लाह र सहयोग लिन र दिन सक्दैनथे । ईन्द्रको लागी त्यो जंघार अप्ठ्यारो थियो । 

छोराहरू सानै थिए । उनीहरुकै लागी उनी सक्रिय हुन थालिन् । यूनलोङ्गमा एउटा सानो स्कूलमा थियो, जहाँ नेपाली बच्चाहरू पनि पढ्ने गर्थे । एक दिन त्यही स्कूलमा आफ्नो कविता वाचन गरिन्, जुन उनको पहिलो प्रयोग थियो । तर, उनले पत्याउनै नसक्ने गरी उनको प्रस्तुतिको सबैले तारिफ गरे । ‘जीवनमा मेरो पहिलो ‘पब्लिक शो’ त्यही थियो,’ उनलाई त्यो घटनाको सम्झना अझै ताजा छ । २० वर्ष अघिको कुरा सम्झँदै उनले भनिन् । 

त्यसपछि हंगकंगमै हुने सानोतिनो जमघटहरुमा उनले गीत गाउन थालिन् । त्यहाँ हुने त्यस्तै भेटघाटहरुमा गाउनको लागी आमन्त्रण आउन थाल्यो । त्यहीबेला उनलाई थाहा भयो — गाउनको लागी साधना आवश्यक छ । ‘गीत त सबैले गाउँछन्, तर भगवानले सबैलाई ‘बरदान’ दिएको हुँदैन,’ उनले आफ्नो अनुभव सुनाइन् । ‘प्राक्टिस गर्यो भने कसै कसैले गाउन सक्छ । म पनि त्यस्तो राम्रो गायिका होइन, त्यसैले प्राक्टिस गर्न थालें ।’  

२००४ मा बेलायत सरकारले गोर्खाली र उनीहरुको परिवारको लागी नयाँ नीति लागू गर्यो, जसले ईन्द्र र उनको परिवारलाई बेलायत प्रवेश गर्न सहज बनायो । उनी २००६ सालमा सपरिवार बेलायत आइन् । जीवनका संघर्षहरु आफ्नै ठाउँमा रहँदै गए, तर उनले आफ्नो गायन साधनालाई भने निरन्तरता दिइरहिन् । शम्भु राई, कुन्ती मोक्तान, धिरज राई, सुगम पोख्रेल जस्ता कलाकारहरुहरुसंग एउटै मन्चमा आफ्नो प्रस्तुती दिइन् । आम दर्शकहरूको ‘फिडब्याक’ ले उनलाई थप उर्जा दियो । ‘सिनियर कलाकारहरुसंग कार्यक्रम गर्न थालेपछि मेरो मनोबल बढ्यो,’ उनले आफ्नो अनुभव सुनाइन्  । ‘र, त्यो भन्दा ठूलो कुरा, मलाई यसले नयाँ ‘आईडेण्टिटी’ दियो: अहिले धेरैले मलाई स्थानीय कलाकार भनेर भन्छन् । यहाँको नेपाली मिडियाले पनि मेरो बारेमा लेख्यो । आफ्नो बारे यसरी बोल्न पाउँदा मनमा आनन्द लाग्छ ।’

अहिले नेपालीहरु संसारको विभिन्न ठाउँमा छरिएर बसेका छन् । तर, सरकारसंग उनीहरुको सही तथ्यांक खासै छैन । भनेको बेला र परेको बेला स्वदेश फर्कन सक्ने क्षमता उनीहरुले विदेशमा राख्दैनन् । त्यही हुनाले विदेशी भूमीमा आफ्नो मौलिकपनको प्यास मेटाउन समय समयमा विभिन्न सांगीतिक कार्यक्रमहरु गर्ने गर्छन् । साहित्यिक गोष्ठीहरु गर्छन् । यसले नयाँ प्रतिभाहरु जन्माउने कार्यमा ठूलो योगदान पुर्याएको छ ।

विदेशमा पछिल्लो समयमा कलाकारिता र साहित्य सिर्जना गर्ने लहर नै चलेको छ । यो नेपालीहरुको आफ्नो माटो र संस्कृतिसंगको साईनो हो । ‘अहिलेको पुस्तामा नयाँ प्रतिभाहरु एकसे एक देखिन थालिएको छ । तर, आफ्नो भाषा र क्षेत्रमा मात्र सीमित नरहेर राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उनीहरुले आफ्नो प्रतिभा देखाउने अवसर खोज्नु पर्छ,’ लामो वार्ताको अन्त्यमा ईन्द्रले आफ्नो विचार राखिन् । ‘हाम्रो काम भनेको उनीहरुलाई सकेको सहयोग गर्ने हो ।’        

ईन्द्रको एल्बमहरु

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक