एनआरएनए युकेको अध्यक्ष पदमा प्रेम गाहामगरले गरे उम्मेदवारी घोषणा

लण्डन । गैर–आवासीय नेपाली संघ यूकेको आगामी कार्यसमितको अध्यक्ष पदमा प्रेम गाहा मगरले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार साँझ आयोजित एक भव्य समारोहमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

अल्डरशटस्थित एम्पायर हलमा सीमित व्यक्तिहरुको उपस्थिति तथा जुममार्फत बेलायतका विभिन्न भागबाट सहभागिता जनाएका समुदायका अगुवाहरुका माझ उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

कार्यक्रममा गैर–आवासीय नेपाली संघका अभियन्ताहरु, बेलायतस्थित नेपाली समाज सम्बद्ध संघ संस्थाहरुका अध्यक्ष तथा पदाधिकारीहरु, जातीय तथा क्षेत्रीय संस्थाका प्रमुखहरु, भूतपूर्व ब्रिटिश गोर्खा सम्वद्ध संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु, गैर–आवासीय नेपाली संघ, आइसीसीका सदस्यहरु तथा यूरोप क्षेत्रीय समितिका पदाधिकारीहरुसहित यूकेका पञ्जीकृत सदस्यहरु तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

साढे दुई दशक लामो यूके बसाई र त्यस क्रममा एनआरएनए अभियानमा सहभागी भई हालसम्म गरेका कामहरुको आधारमा एनसीसीलाई नयाँ दिशा प्रदान गर्ने र सबैले विश्वास गर्ने संस्था बनाउने प्रतिबद्धतासहित गाहा मगरले उम्मेदवारी घोषणा गरेका हुन् ।

सात–बुँदे एजेण्डासहित उम्मेदवारी घोषणा गरेका गाहा मगरले संस्थालाई पारदर्शी बनाउने, पूर्व गोर्खाहरुको समस्या समाधानमा नेतृत्वदायी पहल गर्ने, नेपाल हाउस परियोजनालाई पूर्णता दिने, नेपाली नागरिकता निरन्तरता र नेपालस्थित पुर्ख्यौली सम्पत्ति माथिको अधिकार, नेपालमा लगानी अभिवृद्धि र पर्यटन प्रवर्द्धन, संस्था सुदृढीकरण तथा सदस्यताका लागि नयाँ प्रावधान, युवा तथा महिलाको उत्साहजनक सहभागिता र सशक्तीकरण लगायतका मुद्दालाई आफ्नो कार्ययोजनामा समेटेका छन् ।

आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै गाहा मगरले भने, ‘संस्थाको पारदर्शिता र सुदृढीकरणसहितका मेरा अजेण्डा मेरा मात्रै नभएर समग्र एनआरएनएका सदस्य र प्रवासी नेपालीहरुका अजेण्डा हुन् । यसमा सबैको साथ, सहयोग र समर्थन प्राप्त हुने छ भन्ने विश्वास लिएको छु ।’

समाज सेवा लिनका लागि नभई योगदान दिनका लागि हो भन्ने कुरामा आफू पूर्ण जानकार रहेको बताउँदै गाहामगरले आगामी दुई वर्षका लागि सातै दिन चौबीसै घण्टा एनआरएनए र सामाजिक कार्यमा संलग्न रहने उनले घोषणा गरे ।

तमू समाज यूकेको संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, वर्तमान अध्यक्ष शिवकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङले भने व्यस्तताका कारण टेलिफोनमार्फत शुभकामना दिएका थिए । प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष सहारा यूकेको संस्थापक अध्यक्ष नविन गुरुङ र गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष ओम थापा काउचाले पनि शुभकामना व्यक्त गरेका थिए ।

घोषणासभाको अध्यक्षता गरेका एनआरएनए अभियन्ता शेरबहादुर सुनारले एनआरएनलाई सही दिशा दिन प्रेम गाहा मगर नै उपयुक्त रहेको बताए । ‘हाम्रो एनआरएन, राम्रो एनआरएन’ बनाउन र राम्रो समाज निर्माणका लागि सहमति उपयुक्त विकल्प रहेको बताउँदै कसैको उक्साहटमा नलाग्न उनले सुझाव दिए ।

केही व्यक्तिहरुको उक्साहट र सिण्डिकेटका कारण समस्या आइरहेको बताउँदै सुनारले वास्तवमै सबैको साझा संस्था बनाउन अब ढिलाइ गर्न नहुने बताए ।

निर्वाचन समितिलाई खबरदारी

घोषणासभामा सहभागीमध्ये अधिकांश वक्ताहरुले निर्वाचन समितिको क्रियाकलापप्रति आशंका व्यक्त गरे। निर्वाचन समितिको गठनदेखि नै निष्पक्ष निर्वाचन हुनेमा आशा कम देखिएको भन्दै सहभागीहरुले उम्मेदवारी दर्ता गर्ने दिन निर्वाचन समितिले चुनावी कार्यतालिका स्थगित गरेर अलोकतान्त्रिक काम गरेको बताए ।

पूर्व उपाध्यक्ष शेर सुनारले सदस्यता आवेदनको समयदेखि नै अनियमितता गरिएको भन्दै अहिले आएरउम्मेदवारी दर्ता गर्ने दिनमा निर्वाचन समितिले निर्वाचन कार्यतालिका स्थगित गरेर के गर्न खोजेको हो भन्ने प्रश्न गरे ।

त्यस्तै, नेपाली प्रवासी मञ्च, यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले निर्वाचन समितिले नै कुनै एक व्यक्तिलाई जिताउन षड्यन्त्र गर्न त खोजिरहेको छैन भन्ने आशंका पैदा भएको भन्दै स्वतन्त्र र निस्पक्ष रुपमा काम गर्न आग्रह गरे ।

उम्मेदवारी घोषणासभामा व्यापक सहभागिता देखिएको थियो । झण्डै पाँच घण्टा चलेको घोषणासभा तथा शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न संस्था र क्षेत्रको प्रतिनिधित्व गर्दै ७० जना भन्दा बढीले शुभकामना दिए ।

शुभकामना दिँदै वक्ताहरुले प्रेम गाहा मगरले अघि सारेका अजेण्डा र प्रतिवद्धता उचित रहेको भन्दै त्यसलाई कार्यान्वयनका लागि गाहा मगरलाई अध्यक्ष पदमा निर्वाचित गराउनुपर्ने बताएका थिए ।

गुल्मी समाजका अध्यक्ष टोप पल्लीमगर, तमु धीं यूकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, नेपाल पत्रकार महासंघ, यूकेका निवर्तमान अध्यक्ष नरेश खपांगी मगर, एनआरनए युकेका पूर्व उपाध्यक्ष राष्ट्र राई, नेप्लिज यूथ यूकेका अध्यक्ष धिरज राई, नेपाली कम्युनिटी नर्दन आयरल्याण्डका अध्यक्ष बलबहादुर थापा, मोना यूकेका अध्यक्ष दल जुग्जाली, गोर्खाली समाज युकेका अध्यक्ष कर्ण दर्लामी मगर र बाग्लुङ समाजकी अध्यक्ष छबिमाया पुनले गाहा मगरलाई संस्थागत समर्थन रहेको स्पष्ट पारेका थिए 

त्यस्तै, शुभकामना दिँदै साझा नेपाली समाजका अध्यक्ष कृष्णप्रसाद शर्मा, गोर्खा जिल्ला गुरुङ समाजका अध्यक्ष खडकजित गुरुङ, पत्रकार विपिन निरौला, किराँत राई यायोक्खा यूके अध्यक्ष कल्पना राई, मगर संघ यूके अध्यक्ष सुनिल राना, जनप्रगतिशील मंच युकेका अध्यक्ष सुरेश गौतम, तमुप्ये ल्हु संघ युकेका अध्यक्ष रणबहादुर गुरुङ, पाल्पाली भन्ज्याङका अध्यक्ष वाचस्पति रेग्मी लगायत दर्जनौं संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले एनआरएनए यूकेलाई नयाँ गति दिन गाहा मगरको नेतृत्व आवश्यक रहेको बताए ।

त्यस्तै, एनआरएनए अमेरिकाका युवा संयोजक त्रिभुवन पाण्डे, एनआरएनए युरोपका क्षेत्रीय उपसंयोजक शुक्रराज न्यौपाने र आइसीसीका मानार्थ सदस्य रण केसीले निस्वार्थ भावले काम गर्ने गरी अगाडि बढ्न सुझाव दिएका थिएका थिए ।

विभिन्न पदमा उम्मेदवारी घोषणा

सोही समारोहमा एनआरएनए, एनसीसी यूकेका लागि विभिन्न पदका आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । उपाध्यक्ष पदमा सुनिलबाबु खड्का र गोविन्द खरेल, महिला उपाध्यक्षमा विमला लिम्बुले उम्मेदवारी घोषणा गरेका छन् । महासचिव पदमा खुसी लिम्बु, सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले र महिला सचिवमा नम्रता गुरुङले उम्मेदवारी घोषणा गरेका छन् भने कोषाध्यक्ष पदमा विष्णु खरेलले उम्मेदवारी दिने भएका छन् । यूवा संयोजक पदमा तीर्थ मल्ल (अनिल) र इङ्ल्याण्ड राज्य परिषदको अध्यक्ष पदमा लालबहादुर गुरुङ (एलबीजेड) गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

कार्यक्रमको सञ्चालन महासचिवका उम्मेदवार खुसी लिम्बुले गरेका थिए भने सहजीकरण उपाध्यक्षका उम्मेदवार गोविन्द खरेल र रुद्र थापाले गरेका थिए ।कार्यक्रममा एनसीसी यूकेका उपाध्यक्षहरु सुनिलबाबु खड्का, नारायण कँडेल, मोहन कार्की र रामचन्द्र पोखरेलसहित कार्यसमितिका विभिन्न पदाधिकारी र सदस्यहरुको उपस्थिति थियो ।

गाहा मगरका प्रतिबद्धताहरु

आदरणीय बेलायतवासी बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु,

‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा लिएर स्थापना भएको गैर–आवासीय नेपाली संघले निकट भविष्यमा नै दुई दशक पार गर्दैछ । सन् २००३ मा प्रवासी नेपालीहरुका अगुवाहरुले स्थापना गरेको यो संस्था यति छोटो अवधिमा नै विश्वव्यापी संस्था बनेको छ भने ‘जहाँ नेपाली त्यहाँ एनआरएनए’ भन्ने अभियान साकार भएको छ।

प्रवासमा रहेका नेपालीहरुलाई एउटै मालामा गाँस्ने पवित्र उद्देश्यसहित यस संस्थाको स्थापना गर्ने संस्थापकहरु, अभियन्ताहरु र पथ प्रदर्शकहरुप्रति हामी आभारी छौं । तपाईंहरुले मार्गदर्शन गरेको बाटोमा पदचाप पछ्याउने प्रयास गरिरहेका छौं ।

गैर–आवासीय नेपाली संघको स्थापना र यसको उन्नयनमा बेलायतको छुट्टै महत्व रहेको छ । २००३ मा बेलायतबाट एनआरएनएको घोषणा हुँदाको क्षण मलाई अझै ताजै लाग्छ । समयले दुई दशक पार गर्न लाग्यो। तर, त्यतिबेलाको सम्झना पुरानो भएकै छैन ।

प्रवासी नेपालीहरुको हक हित मात्रै नभई मातृभूमिको विकास र समृद्धिमा पनि एनआरएनएका माध्यमबाट समस्त सदस्यहरुले गरेको योगदान अमूल्य छ । संस्था, पदाधिकारी र सदस्यको हैसियतमा हामीले जति योगदान गरेका छौं, अझै अपेक्षाकृत भएन कि भन्ने गुनासो पनि आइरहेका छन् । अबको कार्यदिशा यी र यस्तै गुनासाहरुलाई सम्बोधन गर्ने खालको हुनुपर्ने आवश्यकता देखिएको छ ।

बेलायतमा नेपालीहरुको संख्या झण्डै डेढ लाखको हाराहारीमा रहेको अनुमान छ । पञ्जीकृत सदस्यको संख्या सानो भए पनि कुनै न कुनै रुपमा हामी सबै जना यस अभियानमा जोडिएका छौं । बेलायतवासी सबैनेपालीहरुलाई यस अभियानमा प्रत्यक्ष रुपमा जोड्न हामी सबैको प्रयास आवश्यक छ । साझा संस्थामा सबैलाई गोलबद्ध गर्ने विगतदेखिकै मेरो प्रयासलाई आगामी कार्यकालमा थप तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्दछु ।

आदरणीय भूतपूर्व गोर्खा सैनिक बुवाआमा तथा मित्रहरु,

बैरी जतिसुकै भएपनि थोरै देख्ने र परास्त गरेरै छाड्ने वीर गोर्खालीको चरित्र नै हो । यही बहादुरीका कारण नेपाल विश्वभर प्रख्यात छ । बेलायतमा बसोबास गर्ने नेपालीहरुमध्ये अधिकतम संख्या यिनै वीर गोर्खाली र तिनका परिवारका सदस्यहरुको छ । नेपाल र बेलायतबीचको दुई शताब्दी लामो सम्बन्धका  पर्याय पनि यिनै वीर गोर्खाली ने हुन् । तर, जसले रगत र पसिना बगाए, जसले जीवनकै आहुति दिए, तिनै वीरहरु बेलायतमै असमानताको शिकार भइरहेका छन् ।

म आफैं पनि भूतपूर्व ब्रिटिश सैनिक भएकाले पूर्व गोर्खाहरुले भोग्दै आएका विभेद र असमानताबारे पूर्ण रुपमा जानकार छु । फौजमै रहँदा विभेदविरुद्ध म स्वयम्ले गरेको संघर्षको पनि सम्झना आइरहेको छ । एनसीसीमा उपाध्यक्ष र गोर्खा डिपार्टमेन्ट प्रमुख संयोजकका रुपमा रहेर विगत दुई वर्षमा पूर्व गोर्खा सम्बद्ध संस्थाहरुको  साथमा हामीले सञ्चालन गरेको अभियानमा केही सकारात्मक संकेत देखिएका छन् । खासगरी १३ बुँदे प्रतिवेदन कार्यान्वयनमा हाम्रो अर्जुन दृष्टि कायमै छ र पूर्ण रुपमा कार्यान्वयन नभएसम्म रहिरहने छ । हाम्रो धैर्यताको बाँध टुट्न लागिसकेको छ । तसर्थ, यथाशीघ्र पहलकदमी लिन म नेपाल सरकारलाई आग्रह गर्दछु ।

आदरणीय युवा साथीहरु,

गैर–आवासीय नेपाली संघमा दोश्रो पुस्ताको प्रवेश शुरु भइसकेको छ । संस्थालाई जीवन्त राख्न यो आवश्यक छ । तर, अपेक्षित रुपमा युवा पुस्ताको सहभागिता अझै वृद्धि भएको छैन । युवा पुस्ताको उत्साहजनक सहभागिता गराउनु हामी सबैको दायित्व हो ।

कार्यसमिति रहँदा वा नरहँदाको अवस्थामा म निरन्तर युवा साथीहरुसँगै रहेको छु । अग्रजहरुलाई सम्मान गर्दै युवाहरुलाई सामाजिक कार्यक्रममा सहभागी गराउन सकेमा समाज रुपान्तरणमा सहयोग पुग्ने छ । संस्थाप्रति युवाहरुको आकर्षण वृद्धि गर्न पक्कै पनि केही नयाँ कार्यक्रम र योजना ल्याउन आवश्यक छ । त्यसका लागि मैले केही योजना बनाएको छु । ती योजना कार्यान्वयनमा लैजान पनि नेतृत्वमा पुग्न आवश्यक ठानेको छु ।

आदरणीय विज्ञ तथा प्रबुद्ध मान्यजनहरु,

संसारकै विकसित मध्येको एक देश बेलायत । बेलायतमा बसोबास गर्ने कतिपय नेपालीहरु विश्वमै प्रतिष्ठित व्यक्तिहरु हुनुहुन्छ । कतिपय एनआरएनए अभियानमा जोडिनु भएको छ भने अझै कैयौं प्रबुद्ध व्यक्तिहरु योअभियानबाट टाढै हुनुहुन्छ । समाजको वास्तविक विकास र मातृृभूमि नेपालको समृद्धिमा विज्ञ तथा प्रवुद्ध व्यक्तिहरुको योगदानको खाँचो छ । शिक्षा, स्वास्थ्य, प्रविधि, चिकित्सा, प्रशासन, विज्ञान लगायतका विभिन्न क्षेत्रमा विशिष्टता हासिल गर्नु भएका व्यक्तिहरुलाई यस अभियानमा सहभागी गराई मातृभूमिको विकास र समृद्धिमासमेत टेवा पुर्याउने लक्ष्य राखेको छु । पक्कै पनि यहाँहरुले साथ दिनुहुने छ भन्ने अपेक्षा राखेको छु ।

आदरणीय व्यवसायी तथा लगानीकर्ता महानुभावहरु,

बेलायतमा लामो समयदेखि बस्दै आउनु भएका पुराना तथा नवोदित व्यवसायीहरुले संस्था सञ्चालनमा गर्नुभएको सहयोग अतुलनीय छ । सामाजिक सेवामा तपाईंहरुले गर्नु भएको योगदानको उचित कदर हुन आवश्यक त छँदैछ, तपाईंहरुको योगदानको खाँचो झनै बढ्दै गएको छ । खसगरी ‘कर्मभूमिमा आर्जन मातृभूमिमा लगानी’का विषयमा हामीले थप गम्भीर भएर सोच्नु पर्नेबेला आएको छ । नेपाल सरकारका केही ऐन तथा प्रावधान अनुकूल छैनन् । त्यसलाई आवश्यक परिमार्जन र संशोधनका लागि हामी सबै एक भएर पहल गर्नुपर्ने छ । त्यसका लागि संस्थाका तर्फबाट नेतृत्व लिने छु ।

नेपालको आर्थिक तथा औद्योगिक विकासमा सहयोग पुर्याउन प्रत्यक्ष वैदेशिक लगानीको खाँचो रहेको नेपाल सरकारले स्पष्ट पारिसकेको छ । त्यसका लागि हामीले लगानीकर्ताहरुको खोजी गरी नेपालमा लगानी गर्न आकर्षित गर्नुपर्ने छ । नेपालको आर्थिक विकासको अर्को आधार पर्यटन क्षेत्र हो । पर्यटन क्षेत्रमा लगानी तथा पर्यटक नेपाल पठाउने अभियानमा पनि हाम्रो अग्रसरता आवश्यक छ । त्यस दिशामा पनि हामी सबैले गम्भीर भएर सोच्नु पर्ने अवस्था आएको छ । नेपालमा वैदेशिक लगानी र पर्यटन प्रबर्धनका विषयमा हामीले अभियान नै सन्चालन गर्नु भएकाले त्यसका लागि केही कार्ययोजना बनाएको छु । आशा छ, यसमा साथ र सहयोग प्राप्त हुनेछ ।

आदरणीय पञ्जीकृत सदस्य साथीहरु,

संस्थाको बल भनेकै तपाईं हामी सदस्यहरु नै हौं । तपाईंहरुको सचेत र विवेकपूर्ण निर्णयले नै नेतृत्व र कार्यसमितिलाई मार्गदर्शन गर्ने छ । निर्वाचनमा पुर्याउने विवेकले नै पछुताउनबाट बचाउने छ । हामीले एक भएर संस्थाको सृदृढीकरण र पारदर्शितामा ध्यान दिनु परेको छ ।

संस्थाको पारदर्शिताका लागि हामीले गरेको पहल र चालेको कदमका बारेमा सबैजना जानकार नै हुनुहुन्छ । शुद्धीकरण, सुदृढीकरण र पारदर्शितालाई एकसाथ अगाडि बढाउने हाम्रो प्रयत्न हो । संस्थाप्रतिको विश्वसनीयता बढाउँदै ‘हाम्रो एनआरएनए राम्रो एनआरएनए’ नारालाई व्यवहारमा चरितार्थ गर्ने प्रयत्नमा तपाईंहरुको साथ, सहयोग, आड र भरोसा प्राप्त हुने छ भन्ने मैले विश्वास लिएको छु ।

आदरणीय अभियन्ताज्यूहरु,

निर्वाचनको मुखमा म धेरै र ठूला कुरा गर्न चाहन्नँ । तर, वर्षौंदेखि थाँती रहेका केही मुद्दाले भने हामी सबैको मन अमिलो पारिरहेको छ । ‘एक पटकको नेपाली सधैंको नेपाली’ र ‘दोश्रो पुस्तालाई नेपालसँग जोड्ने’ एनआरएनको अभियान अझै निष्कर्षमा पुगेको छैन । नेपालको संविधानले हाम्रो मागलाई सम्बोधन गरेपनि आवश्यक कानुन बन्न नसक्दा संविधानले दिएको अधिकार कार्यान्वयन हुन सकेको छैन । यसलाई कार्यान्वयनमा लैजान हामी सबैको सामूहिक पहलको खाँचो छ । नेपाल सरकारलाई आवश्यक दबाब दिनुपर्ने भएको छ । त्यसका लागि अन्य एनसीसीहरु र आइसीसीसँगको सहकार्यमा सामूहिक पहल गर्नुपर्ने र त्यसका लागि अग्रसरता लिने दृढ संकल्प लिएको छु ।

हाम्रो पैतृक सम्पत्तिमाथिको अधिकारको विषय पनि उत्तिकै महत्वपूर्ण छ । निर्वाध रुपमा सम्पत्ति जोड्न, लगानी गर्न तथा किनबेच गर्न पाउने आर्थिक अधिकार स्थापित गर्न पनि हामी सबैको पहल आवश्यक छ ।अग्रज तथा अभियन्ताहरुले यस विषयमा मार्गनिर्देशन गर्नुहुने छ भन्ने अपेक्षा राखेको छु ।

अन्त्यमा, हामी जहाँ रहे पनि नेपाली नै हो । हामी सबैको मन मुटुमा नेपाल छ । त्यसैले त एनआरएनको छातामुनि जम्मा भएका छौं । हाम्रो छाता एनआरएनलाई बलियो बनाउन सक्यौं भने हामी बलियो हुन्छौं । संस्था नै कमजोर भयो भने हामी कोही पनि एक्लै बलियो हुन सक्दैनौं ।

संस्थालाई बलियो, पारदर्शी र सबैको विश्वासप्राप्त बनाउने उद्देश्यले म यस अभियानमा लागेको हुँ । संस्थामा लाग्नु र नेतृत्व हत्याउनु मेरो उद्देश्य कदापि होइन । संस्थाबाट लिनका लागि नभई संस्थामा रहेर योगदान गर्नका लागि म अगाडि सरेको हुँ । आगामी दुई वर्ष मैले मेरो समय पूर्ण रुपमा एनआरएनएलाई छुट्याएको छु ।

संस्थाको मर्यादा उच्च बनाउँदै नेपाली समुदायको हक र हितमा समर्पित हुने प्रतिबद्धता व्यक्त गर्दछु । विगतमा तपाईंहरुले दिनु भएको साथ, सहयोग र मायाका लागि आभारी छु । फेरि एक पटक तपाईंहरुको मन, मत र अभिमतको लागि निवेदन गरेको छु ।

आगामी कार्यकालका लागि मैले विस्तृत कार्ययोजना नै बनाएको छु । संक्षेपमा बुँदागत रुपमा यहाँ प्रस्तुत गरेको छु ।

मेरा प्रतिबद्धताहरू

१. कुनै पनि संस्थामा आर्थिक पारदर्शिता अपरिहार्य छ । एनआरएनए युकेमा अहिले चलिरहेको आर्थिक पारदर्शिताको अभियानलाई मैले निस्कर्षमा पुर्याउने छु र लेखा प्रणालीलाई चुस्त बनाउने छु । एनआरएनयूकेलाई सबै सदस्यहरुले गर्व गर्न सक्ने उदाहरणीय संस्था बनाउने छु ।

२. ’नेपाली नागरिकताको निरन्तरता’ र नेपालमा रहेको हाम्रो सम्पत्ति सुरक्षाको लागि गैरआवासीय नेपाली संघअन्तरराष्ट्रिय समन्वय परिषदमार्फत नेपाल सरकारसँग अभियान चलाउने छु । नयाँ पुस्तालाई मातृभूमिसँग जोड्ने पहललाई परिणाममुखी बनाउने छु ।

३. भूतपूर्व गोर्खा सैनिकहरुको न्याय र समानताको पक्षमा १३ बुंदे प्रतिवेदन सहितको ज्ञापनपत्र हामीले ब्रिटिश प्रधानमन्त्री तथा नेपाल सरकारलाई पठाइसकेका छौं। म आफैं एक भूतपूर्व गोर्खा सैनिक भएकाले पनि आगामी कार्यकालमा गोर्खा समस्या समाधान गर्न रातदिन क्रियाशील हुनेछु।

४. गैरआवासीय नेपाली संघ, यूके (एनआरएनए, यूके) लाई बेलायतस्थित सबै नेपालीको साझा संस्था बनाउने मेरो मुख्य उद्देश्य हो। बेलायतका सबै राज्यमा बसोबास गर्नुहुने आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुको भावनालाई आत्मसात गर्दै, नेपाली समुदायमा कृयाशील सबै सामाजिक संघसंस्थाहरुसँगको सहकार्यमा, ‘नेपाल हाउस निर्माण परियोजना’ लाई अगाडि बढाउने छु। आपत्कालीन कोषको रकम वृद्धि गर्दै आकस्मिक रुपमा आइपर्ने घटना तथा दुर्घटनामा राहत, उद्धार तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउने छु । समस्या पर्दा हरेक सदस्यलाई ‘मेरो एनआरएन छ’ भन्ने अनुभूति गराउने छु ।

५. बेलायतमा ठूलो संख्यामा नेपालीहरुले प्राध्यापक, डाक्टर, इन्जिनियर, वैज्ञानिक, कानुन व्यवसायी, एकाउन्टेन्ट, उद्यमी, व्यवसायीका रुपमा सफलता प्राप्त गर्नु भएको छ। उहाँहरु सबैलाई एनआरएन अभियानसंग जोडेर उहाँहरुसँग रहेको सीप, दक्षता र पूँजी नेपालको विकासमा लगाउन मैले अथक प्रयास गर्ने छु। बेलायतबाट नेपालमा लगानी र पर्यटनलाई प्रोत्साहन गर्ने छु।

६. युवा पुस्ता तथा महिलाहरुको उत्साहजनक सहभागिता अभिवृद्धिका लागि युवा र महिला लक्षित कार्यक्रम ल्याउने छु । अभ्यास तथा प्रतितिस्पर्धात्मक खेलकुद, सीपमूलक तालिम तथा कार्यशाला सञ्चालन गर्ने छु । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास तथा प्रचार प्रसारका लागि प्रभावकारी अभियान सञ्चालन गर्ने छु ।

७. अधिवेशन आएपछि मात्रै एनआरएनए युकेको सदस्यता खुला गर्ने र लिने परिपाटीको अन्त्य गर्दै जहिले पनि सदस्यता लिन सक्ने व्यवस्था मिलाउने छु । एकपटक सदस्यता लिएपछि सदस्यता नम्बरका आधारमा हरेक दुई वर्षमा तोकिएको शुल्क तिरेर नविकरण गर्न सकिने र पटकपटक कागजात बुझाउन नपर्ने व्यवस्था गर्ने छु।

धन्यवाद ।

प्रेम गाहा मगर

अध्यक्ष पदको उम्मेदवार ९२०२१–२०२३०

एनआरएनए, यूके

प्रतिक्रिया

सम्बन्धित सामाग्री