के के छन् एनआरएनए युकेका अध्यक्षका उम्मेदवार प्रेम गाहाको सात बुँदे घोषणा पत्रमा ? 

लण्डन । एनआरएनए युकेको यही जुलाई ३१ मा हुन गइरहेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वर्तमान उपाध्यक्ष प्रेम गाहामगरले सात बुँदे घोषणा पत्र सार्वजनिक गरेका छन् ।

आफू अध्यक्ष पदमा निर्वाचित भएमा ती सात बुँदामा उनको प्राथमिकता रहने उनले सोमबार साँझ सन्चारकर्मीहरुलाई प्रेषण गरेको इमेलमा जनाइएको छ । जसमा एनआरएन यूकेको आर्थिक पारदर्शिता, संगठन सुदृढीकरण, भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधान, नेपाली नागरिकताको निरन्तरता र नेपालमा सम्पत्तिको सुरक्षा तथा लगानी, युवा पुस्ता र महिलाहरुको उल्लेख्य सहभागिता वृद्धि, नेपाली भाषा, कला, संस्कृतिको जगेर्ना, नेपाल हाउस परियोजना लगायतका विषय छन् ।
उल्लिखित अजेण्डाहरुमध्ये कतिपय विषयमा एनसीसी आफैंले र कतिपय विषयमा आइसीसीसँगको सहकार्यमा अगाडि बढ्ने उनले स्पष्ट पारेका छन् । नेपाली नागरिकताको निरन्तरता र नेपालमा सम्पत्तिको सुरक्षा लगायतका विषयमा अन्य एनसीसीहरुसँग पनि समन्वय गर्दै आइसीसीसँगको सहकार्यमा सफलतामा पुग्ने उनले बताएका छन् ।
यसैगरी अध्यक्ष पदको उम्मेदवारीका बारेमा भने जुलाई १५ तारिक बिहीबार बेलायतको स्थानीय समय अनुसार साँझ ५ बजे जुममार्फत भर्चुअल रुपमा उम्मेदवारीको औपचारिक घोषणा गरिने उनले बताए ।
कोभिड प्रोटोकलका कारण भर्चुअल माध्यमबाट उम्मेदवारी घोषणा गर्नु परेको उनले बताएका छन् ।
गाहा मगरले आफ्नो उम्मेदवारी घोषणासभामा सहभागी हुन एनआरएनका संस्थापकहरु, अग्रज अभियन्ताहरु, बेलायतस्थित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र एनआरएनका पन्जीकृत सदस्यहरु तथा सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।
दुई कार्यकाल उपाध्यक्ष भएर काम गरेका गाहा मगरले विगतमा जस्तै साथ, समर्थन र माया गर्न बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेका छन् । ‘तपाईंहरुको साथ, सहयोग र मायाकै कारण मैले दुई कार्यकाल उपाध्यक्ष भएर काम गर्ने मौका पाएँ, अब अध्यक्ष पदका लागि यहाँहरुको साथ, सहयोग, समर्थन र माया प्राप्त हुने छ भन्ने विश्वास लिएको छु’ गाहा मगरले भनेका छन् ।
उनले आफूँले विगतमा गरेका कामलाई आधार बनाएर नै बेलायतवासी नेपाली समुदायको साथ पाउनेमा विश्वास व्यक्त गरेका छन् । ‘कार्यसमितिमा रहेर वा नरहेर मैले हालसम्म बेलायतवासी नेपाली समुदायको हितमा गरेका कामका आधारमा नै म अध्यक्षको उम्मेदवार बन्न लागेको हुँ’ आफ्नो उम्मेदवारीबारे उनले भनेका छन् ।
दुई कार्यकाल कार्य समितिमा रहँदा नेपाली समाजको एकता, संस्थाको पारदर्शिता र सुदृढीकरण, भूतपूर्व गोर्खाहरुको समस्या समाधान, खेलकुद, युवाहरुको सहभागिता, मातृभूमिमा आइपरेको विपदमा सहयोग संकलन लगायतका क्षेत्रमा गरेका कामको आधारमा नै बेलायतवासी नेपाली समुदायले आफूँलाई समर्थन गर्ने उनको विश्वास रहेको छ ।
गाहा मगरको नेतृत्वमा समावेशी टिम 
जुलाई १५ मा अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका गाहा मगरले आफ्ना अजेण्डासँग सहमत व्यक्तिहरुसँग सहकार्य गरी समावेशी टिम बनाउने र कार्यकालभर एकसाथ रहेर काम गर्ने जनाएका छन् ।
प्रेम गाहा मगर जिताऔं अभियानका प्रमुख एवम् पूर्व उपाध्यक्ष शेर सुनारले बेलायतको नेपाली समाजलाई प्रतिनिधित्व गर्ने गरी टिम बनाइने बताएका छन् ।
एनआरएनको विधान अनुसार कुनै पनि राजनीतिक तथा संस्थागत रुपमा प्यानल बनाउन पाइँदैन ।
कुनै पनि रंगको प्यानल नभई समाजलाई प्रतिनिधित्व गर्ने गरी समावेशी टिम बनाइने सुनारले बताए । ‘बेलायतवासी सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व हुने गरी समावेशी टिम बनाइने छ, सुनारले भने, प्रेम गाहा मगर नेतृत्वको टिम समाजको ऐना बन्ने छ ।’
सुनारका अनुसार, संस्थागत नभई अजेण्डामा सहमत व्यक्तिहरुको टिम बनाउन लागिएको हो ।
सुनारले प्रेम गाहा मगर नेतृत्वको टिमको जित सुनिश्चित भइसकेको दाबी गरेका छन् । सदस्यता अभियानमा देखिएको उत्साहजनक सहभागिताले नै यसलाई पुष्टि गरेको उनको भनाइ छ ।
वर्तमान कार्य समितिका चार उपाध्यक्षसहित बहुमत सदस्यहरु पनि गाहा मगरको समर्थनमा खुलिसकेका छन् । त्यस्तै समाजका अधिकांश अगुवा र एनआरएनएका अभियन्ताहरुले पनि मगरलाई समर्थन गरेको उनले बताए ।
यस्ता छन् अजेण्डा 
१.  कुनै पनि  संस्थामा आर्थिक पारदर्शिता अपरिहार्य छ । एनआरएनए युकेमा अहिले चलिरहेको आर्थिक पारदर्शिताको अभियानलाई मैले निष्कर्षमा पुर्याउने छु र लेखा प्रणालीलाई चुस्त बनाउने छु । एनआरएन यूकेलाई सबै सदस्यहरुले गर्व गर्न सक्ने उदाहरणीय संस्था बनाउने छु ।
२. ’नेपाली नागरिकताको निरन्तरता’ र नेपालमा रहेको हाम्रो सम्पत्ति सुरक्षाको लागि गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद मार्फत नेपाल सरकारसँग अभियान चलाउने छु । नयाँ पुस्तालाई मातृभूमिसँग जोड्ने पहललाई परिणाममुखी बनाउने छु ।
३. भूतपूर्व गोर्खा सैनिकहरुको न्याय र समानताको पक्षमा १३ बुंदे प्रतिवेदनसहितको ज्ञापनपत्र हामीले ब्रिटिश प्रधानमन्त्री तथा नेपाल सरकारलाई पठाइसकेका छौं।  म आफै एक भूतपूर्व गोर्खा सैनिक भएकाले पनि आगामी कार्यकालमा गोर्खा समस्या समाधान गर्न रातदिन क्रियाशील हुनेछु।
४. गैरआवासीय नेपाली संघ, यूके (एनआरएनए, यूके) लाई बेलायतस्थित सबै नेपालीको साझा संस्था बनाउने मेरो मुख्य उद्देश्य हो। बेलायतका सबै राज्यमा बसोबास गर्नुहुने आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुको भावनालाई आत्मसात गर्दै, नेपाली समुदायमा कृयाशील सबै सामाजिक संघ संस्थाहरुसँगको सहकार्यमा, ‘नेपाल हाउस निर्माण परियोजना’ लाई अगाडि बढाउने छु। आपत्कालीन कोषको रकम वृद्धि गर्दै आकस्मिक रुपमा आइपर्ने घटना तथा दुर्घटनामा राहत, उद्धार तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउने छु । समस्या पर्दा हरेक सदस्यलाई ‘मेरो एनआरएन छ’ भन्ने अनुभूति गराउने छु ।
५. बेलायतमा ठूलो संख्यामा नेपालीहरुले प्राध्यापक, डाक्टर, इन्जिनियर, वैज्ञानिक, लएर, , एकाउन्टेन्ट, उद्यमी, व्यवसायीका रुपमा सफलता प्राप्त गर्नु भएको छ।  उहाँहरु सबैलाई एनआरएन अभियानसंग जोडेर उहाँहरुसंग रहेको सीप, दक्षता र पूँजी नेपालको विकासमा लगाउन मैले अथक प्रयास गर्ने छु। बेलायतबाट नेपालमा लगानी र पर्यटनलाई प्रोत्साहन गर्ने छु।
६. युवा पुस्ता तथा महिलाहरुको उत्साहजनक सहभागिता अभिवृद्धिका लागि युवा र महिला लक्षित कार्यक्रम ल्याउने छु । अभ्यास तथा प्रतिस्पर्धात्मक खेलकुद, सीपमूलक तालिम तथा कार्यशाला सञ्चालन गर्ने छु । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास तथा प्रचार प्रसारका लागि प्रभावकारी अभियान सञ्चालन गर्ने छु ।
७. अधिवेशन आएपछि मात्रै एनआरएनए युकेको सदस्यता खुला गर्ने र लिने परिपाटीको अन्त्य गर्दै जहिले पनि सदस्यता लिन सक्ने व्यवस्था मिलाउने छु । एक पटक सदस्यता लिएपछि सदस्यता नम्बरका आधारमा हरेक दुई वर्षमा तोकिएको शुल्क  तिरेर नवीकरण गर्न सकिने र पटक पटक कागजात बुझाउन नपर्ने व्यवस्था गर्ने छु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री