गुरुङ सोसाइटी केन्टद्वारा आविष्कार केन्द्र र असहायको उपचारका लागि सहयोग

लण्डन । गुरुङ सोसाइटी केन्ट यूकेले कोभिड १९ को महामारीमा परेका निम्न आय भएका नागरिकलाई सहयोग गर्ने उद्देश्यले नेपालमा आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

बसुन्धरा स्थित ग्रिनसिटी अस्पताल र डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमार्फत सहयोग गर्ने गरी शनिबार एक समारोहका बीच गुरुङ सोसाइटी केन्ट यूकेले सो सहयोग प्रदान गरेको हो ।

समाजले ग्रिनसिटी अस्पताललाई ५ लाख ७७ हजार, डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ३ लाख र पबित्र गुरुङलाई १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको महासचिव गोलमान गुरुङले बताए । त्यसैगरी समाजले एनआरएनए यूकेलाई पनि २ वोटा अक्सिजन कन्सन्ट्रेटरको लागि १४०० पाउण्ड गत मे महिनामा हस्तान्तरण गरिसकेको छ ।

समाजका तर्फबाट महिला संयोजक पवित्र गुरुङले ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनलाई ५ लाख ७७ हजार र डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख कार्यकारी निर्देशक मीरा पोख्रेललाई ३ लाख हस्तान्तरण गर्दै सहयोगको सही ठाउँमा उपयोग हुने विश्वास ब्यक्त गर्नुभएको छ ।

सो अवसरमा गुरुङ सोसाइटीका अध्यक्ष श्रीमती राजदेवी गुरुङले भर्चुअल संबोधन गर्दै आफूहरु देश बाहिर भएपनि भावना र मन नेपालमै भएको र आफनो समाजले गरेको सहयोगले दुखिरहेको घाउमा मलम पट्टी लगाउने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा समाजका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार चित्र गुरुङले आफूहरु नेपाली भएकोले पनि सहयोगका हात बढाईरहने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले अस्पताल र गुरुङ सोसाइटी केन्ट यूके बीचको सहकार्य उदाहरणीय हुने बताउनु भएको छ । वहाँले अस्पतालले विगतमा पनि दीनदुखीका लागि निशुल्क उपचार गर्दै आएको जानकारी पनि गराउनु भयो ।

ग्रिनसिटी अस्पतालले निकै लामो समयसम्म दिसा गर्न नसकेकी एक बालिकाको निशुल्क अप्रेशन गर्ने लगायतका आर्थिक स्थिति कमजोर भएर उपचार नपाएका धेरैको उपचार गरी उदाहरणीय कार्य गर्दै आएको छ । सोही अस्पतालका फाइनान्स डाइरेक्टर रेनुका गुरुङले आर्थिक स्थिति कमजोर भएर कोही पनि उपचारबाट वञ्चित नहुन् भन्ने उद्देश्यले गुरुङ सोसाइटी केन्ट यूकेका पदाधिकारी र सदस्यहरुले गरेको सहयोगप्रति आभार ब्यक्त गर्दै यो सहयोगलाई अत्यावश्यकहरुका लागि उपयोग गरिने विश्वास दिलाउनु भयो ।

अस्पतालमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख कार्यकारी निर्देशक मीरा पोख्रेलले यो सहयोग मिनी अक्सिजन प्लाण्टका लागि खर्च गरिने जानकारी गराउनुभयो ।

नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक बद्रीकाजी गुरुङले संचालन गर्नुभएको सहयोग हस्तान्तरण कार्यक्रममा वरिष्ठ पत्रकार एवं जनता टेलिभिजनका प्रधानसम्पादक टंक पन्त, समाजसेवी उमेश श्रेष्ठ, सघीय संसद सचिवालयका उपसचिव कमल खडका, अस्पतालका आइटी अधिकृत प्रबिन टण्डन लगायतको उपस्थिति थियो ।

गुरुङ सोसाइटी केन्ट यूकेले स्थापनाको १४ वर्षदेखि नेपालमा अफ्ठ्यारो पर्दा पवित्र भावनाका साथ आर्थिक एवं अन्य सहयोग पनि गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री