बेलायतका पाँच अग्रज मिडियाकर्मीलाई पत्रकार महासंघ बेलायतको सम्मान

 

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले पाँचौँ अधिवेसनको अवसर पारेर बेलायतमा बसोबासरत पाँच अग्रज मिडियाकर्मीहरुलाई आज सम्मान गर्दैछ ।

यसरी सम्मानित हुनेहरुमा बीबीसी नेपाली सेवाका पूर्व पत्रकारहरु सुमन खरेल र भगिरथ योगी, राष्ट्रिय समाचार समितिका पूर्व प्रधानसम्पादक चिरन्जीवी पौड्याल, नेपाली टिभीका संस्थापक विजय थापा र बेलायतबाट सन् १९९० को दशकमा प्रकाशित सगरमाथा टाइम्सका सम्पादक सुरेशजंग शाह रहेका छन् ।

शाखाले हरेक अधिवेसनको अवसरमा पारेर हाल बेलायतमा बसोबासरत अग्रज पत्रकारहरुलाई सम्मान गर्ने गरेको छ ।

यसअघि सन् २०१८ मा सम्पन्न चौथो अधिवेसनमा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, बीएफबीएस गोरखा रेडियोका पूर्व महाप्रबन्धक खेम गुरुङ, रेडियो बिजिडब्ल्यूएसका प्रबन्ध निर्देशक मेजर रिटायर्ड सोनामछिरिङ शेर्पा र गोरखा सैनिक आवाजका संस्थापक सम्पादक डा चन्द्रबहादुर गुरुङलाई सम्मान गरेको थियो ।

यसवर्ष सम्मानित हुनेहरुको छोटो परिचय

सुरेशजंग शाह

सुरेश जंग शाहको जन्म बारकोटे गाउँ जुम्ला, कर्णालीमा भएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एमएसम्मको अध्ययन गर्नुभएको छ । बेलायतमा लामो समयदेखि बसोबास गर्दै आउनुभएका शाहको चिनारी साहित्यिक र राजनीतिक पनि छ तर यहाँ उहाँको पत्रकारिता यात्राको मात्र चर्चा गरिनेछ ।

उहाँको पत्रकारितामा संलग्नता १९९२ देखि बेलायतबाट प्रकाशन हुने सगरमाथा टाइम्सबाट भएको हो । उहाँ सो पत्रिकाको सन् १९९६ सम्म  सम्पादक रहनुभयो । यसैगरी सन् १९९४ देखि २००६ सम्म यतिपत्रको सम्पादक रहनुभयो । सन् १९९५ देखि हालसम्म पनि उहाँ लालीगुराँस साहित्यिक पत्रिकाको प्रधानसम्पादक रहनुभएको छ । उहाँको सम्पादनमा सन् २००३ देखि २००४ लण्डनपोष्ट म्यागेजिन निस्केको थियो । उहाँ सन् २००३ देखि २००६ सम्म कोसेली साँस्कृतिक म्योगेजिनको सम्पादक रहनुभएको थियो ।

बेलायतमा नेपाली सामुदायिक पत्रकारिता र साहित्यिक पत्रकारिताका लागि उहाँले दिनुभएको योगदानका लागि नेपाल पत्रकार महासंघ युके शाखाले सम्मान गरेको हो ।

सुमन खरेल

नेपाली रेडियो पत्रकारितामा सुमन खरेलको जादुमय श्वरको पृथक परिचय छ । विक्रम सम्वत २०१७ सालमा काठमाडौँमा जन्मनुभएका सुमन खरेलले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एमएसम्मको अध्ययन गर्नुभएको छ ।

विक्रम सम्वत २०४१ मा रेडियो नेपालबाट प्रसारण पत्रकारिता प्रवेश गर्नु भएका सुमन खरेलले १९९२ देखि बीबीसी नेपाली सेवामा सेवा गर्न थाल्नुभएको हो । उहाँले रेडियो नेपाल, बीबीसी नेपाली सेवामा धेरै वर्ष सेवा गरिसक्नुभएको छ र हालमा उहाँ बेलायतको रक्षा मन्त्रालयबाट सञ्चालित बीएफबीएस गोरखा रेडियो र नेपालको निजी क्षेत्रको अग्रणी टेलिभिजन च्यानल कान्तिपुर टेलिभिजनमा आवद्ध हुनुहुन्छ ।

उहाँले करिब चार दशकदेखि प्रसारण पत्रकारिताबाट समाज परिवर्तनका लागि अनवरतरुपमा दिनुभएको योगदानका लागि नेपाल पत्रकार महासंघ युके शाखाले सम्मान गरेको हो ।

भगीरथ योगी

बीबीसी नेपाली सेवामार्फत नेपाल र नेपाली समुदायमा आफ्नो अलग पहिचान बनाउन सफल पत्रकार योगीको जन्म दाङमा भएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमए र बेलायतको द ओपन युनिभर्सिटीबाट विकास व्यवस्थापनमा एमएस्सी गर्नुभएको छ ।

सन् १९९३ देखि स्पटलाइट साप्ताहिकमार्फत उहाँ पत्रकारितामा प्रवेश गर्नुभएको हो । तत्पश्चात उहाँ अंग्रेजी भाषाको नेपाली टाइम्स साप्ताहिकको वरिष्ठ समाचारदाता, बीबीसी नेपाली सेवाको प्रोड्यूसर तथा नेपालन्यूज डटकमको सम्पादक रहीसक्नुभएको छ ।

उहाँ हाल साउथ एसिया टाइम्स तथा ग्लोबल नेपलिज डटकमको सल्लाहकार सम्पादक हुनुहुन्छ भने अतिकम विकसित राष्ट्रहरुको बारेमा समाचार प्रकाशन गर्ने एलडीसी न्यूजडटकमको प्रबन्ध सम्पादक हुनुहुन्छ ।

उहाँ नेपाल पत्रकार महासंघ युकेको स्थापनाकालदेखि नै सल्लाहकार रहँदै आउनुभएको छ । पत्रकार योगीले बेलायतमा नेपाली पत्रकारिताको संस्थागत विकास तथा नेपाली पत्रकारितामा पुर्याउनुभएको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघ युके शाखाले उहाँलाई सम्मान गर्न लागेको हो ।

विजय थापा

विजय थापाको जन्म रामेछाप जिल्लाको सिरुबारीमा भएको हो । नेपाल ल क्याम्पसमा आइएल अध्ययन गर्दागदै सन् १९८३ मा बेलायत आउनुभएका थापा सन् १९९२÷१९९३ देखि यति नेपाली एसोसिएसन युकेले प्रकाशन गर्ने यतिपत्रको प्रकाशन समूहमा आवद्ध हुनुभयो । सन् १९८९ मा एसिएन रेडियो नेटवर्कमा एक घण्टाको समय किनेर उहाँले नेपाली भाषाको कार्यक्रम प्रसारण गर्न शुरु गर्नुभयो । एभरेष्ट रेडियो नाम दिइएको सो रेडियो प्रसारणको शुल्क त्यतिबेला घण्टाको २५० पाउण्ड थियो । हरेक आइतबार बिहान ९ बजेदेखि १० बजेसम्म सो कार्यक्रम प्रसारण हुने गर्दथ्यो ।

उहाँ चौतारी म्यागेजिनको प्रकाशक रहनुभयो । नेपालमा म्यागेजिन छापेर बेलायतमा वितरण गर्ने योजनाका साथ उहाँ लाग्नुभएको थियो तर केही ब्याबहारिक कठिनाईका कारण यो योजना धेरै टिकेन । त्यसपछि उहाँको नेतृत्वमा सन् २००५ देखि बेलायतमा पहिलोपटक नेपाली टिभीको प्रसारण आरम्भ भयो । शुरुमा कम्युनिटी च्यानल हुँदै पछि कमर्सियल च्यानलको रुपमा नेपाली टिभी संचालन गरियो । सो टेलिभिजन करिब डेढ दशकसम्म सञ्चालन भएको थियो ।

नेपालीहरुको सीमित बसोबास, सञ्चार क्षेत्रमा लगानी फिर्ता हुने सम्भावना नहुँदा पनि लगानी बेलायतमा नेपाली मिडिया सञ्चालनमा उहाँले देखाउनुभएको साहसको कदर गर्दै नेपाल पत्रकार महासंघ युके शाखाले उहाँलाई सम्मान गर्न लागेको हो ।

चिरञ्जीवी पौड्याल

चिरञ्जीवी पौड्यालको जन्म पर्वत ब्यादीमा जन्मनुभएको हो । उहाँले अंग्रेजी साहित्यमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ भने बेलायतको युनिभर्सिटी अफ वेष्टमिनिष्टरबाट इन्टरन्याशनल जर्नलिज्ममा स्नातकोत्तर गर्नुभएको छ । उहाँ अमेरिकाको इन्टरन्याशल भिजिटर्स प्रोगाममा पनि सहभागी भइसक्नुभएको छ भने नेपाल पत्रकार महासंघको अन्तर्राष्ट्रिय समितिमा रहेर दुईपटक काम गरिसक्नुभएको छ ।

उहाँ नेपालको सबैभन्दा पुरानो समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)का पूर्व प्रधानसम्पादक हुनुहुन्छ । उहाँ २०५० सालमा एसोसिएट एडिटरका रुपमा रासस प्रवेश गर्नुभएको थियो । त्यसपछि राससको प्रमुख समाचारदाता हुँदै उहाँ छोटो समयमै प्रधान सम्पादकसम्म बन्न सफल हुनुभयो । पत्रकारिता यात्राका क्रममा उहाँले एसोसिएटेड प्रेस र एएनआइ न्यूज एजेन्सीमा पनि काम गरिसक्नुभएको छ ।

उहाँ २००४ देखि बेलायतमा बसोबास गर्दै आइरहनुभएको छ । पेशाले पूर्णकालिन अध्यापकमा रहे पनि उहाँ अझै विभिन्न मिडियामा लेख लेखिरहनुहुन्छ ।

नेपाली पत्रकारितामा करिब तीन दशकदेखि अविछिन्न रुपमा उहाँले पुर्याउँदै आउनुभएको सेवाका लागि नेपाल पत्रकार महासंघ युके शाखाले उहाँलाई सम्मान गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री