‘गोल्डेन एभरेष्ट मिडल्याण्ड क्रिकेट लिग’ लाई प्रेम गाहाको पाँच सय पाउण्ड सहयोग

फाइल फोटो

लण्डन । बेलायतको मिडल्याण्डमा शुरु हुन लागेको ‘गोल्डेन एभरेष्ट मिडल्याण्ड क्रिकेट लिग’ प्रतियोगिता सञ्चालनमा सहयोगार्थ गैरआवासीय नेपाली संघ, बेलायत (एनआरएनए एनसीसी, यूके ) का उपाध्यक्ष प्रेम गाहा मगरले ५ सय १ पाउण्ड प्रदान गरेका छन् ।
एनआरएन यूकेको आगामी कार्यकालका लागि अध्यक्ष पदका प्रत्याशी गाहा मगरले प्रतियोगिता सहज रुपले सञ्चालन होस् भन्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरेका हुन् । ‘यस्ता प्रतियोगितालाई प्राथमिकतामा राख्नुपर्छ र प्रोत्साहन गर्नुपर्छ,’ उनले भने ।
खेलकुद र युवाहरुको कार्यक्रमलाई विगतदेखि नै प्राथमिकतामा राख्ने गरेका गाहामगरले यसपटक पनि सोही परम्परालाई निरन्तरता दिएका हुन् ।
नटिङ्घम टिमका पूर्व कप्तान तथा नटिङ्घम समाजका अध्यक्ष दीपक सापकोटाले गाहा मगरको सहयोगले खेलाडीहरुको हौसला बढेको बताए ।
बेलायतमा लकडाउन खुकुलो भएसँगै ‘गोल्डेन एभरेष्ट मिडल्याण्ड क्रिकेट लिग’ प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
लिगको दोश्रो संस्करण यही मे २३ बाट शुरु हुँदै छ । पहिलो संस्करण भने ६ अप्रिल २०१९ बाट सञ्चालन भएको छ । पहिलो संस्करणको उद्घाटन बेलायतका लागि तत्कालिन नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले गरेका थिए ।
२३ मेबाट शुरु हुने लिगको दोश्रो संस्करणमा नटिङघम, बर्मिङ्हम, लेस्टर, ग्रान्थाम र पिटरब्रो गरी ४ टिमबीच प्रतिस्पर्धा हुने भएको छ । २६ खेल हुने लिग करिव तीन महिना चल्ने जनाइएको छ ।
नेपाली समुदायद्वारा सञ्चालित यो प्रतियोगिता मिडल्याण्डवासीसहित बेलायतमा रहेका समग्र नेपालीहरूका लागि आकर्षण  बनेको छ ।
आयोजकका अनुसार प्रतियोगिता २३ मेबाट शुरु हुने भएपनि औपचारिक उद्घाटन समारोह भने गरिने छैन । लकडाउन खुले पनि कोभिड महामारीको त्रास कायमै रहेकाले उद्घाटनका लागि औपचारिक समारोहको आयोजना नगरिने सापकोटाले जानकारी दिए । तर, समापनका अवसरमा भने भव्य समारोह आयोजना गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री