नेपालमा सहयोग पुर्याउन दुतावास, एनआरएन र बेलायतका स्थानीय जनप्रतिनिधिबीच छलफल 

लण्डन । गैरआवासीय नेपाली संघ बेलायतको आयोजनामा नेपाललाई कोभिड- १९ सितको लडाइँमा सहयोग गर्नका लागि नेपाली दुतावास लन्डन, एनआरएनए यूके र बेलायतमा निर्वाचित नेपाली मूलका काउन्सिलर मेयर तथा उपमेयरहरु बीच एक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालमा कोरोना संक्रमण तिब्र बन्दै गर्दा  देखिएको त्रासदीपूर्ण अवस्थामा बेलायतको नेपाली समुदायबाट के कस्तो सहयोग पुर्याउन सकिन्छ भन्ने सवालमा व्यापक छलफल भएको थियो ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले बेलायतमा निर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्दै उहाँहरुलाई थप उचाई प्राप्त गर्ने चुनौतीमा सफलताको कामना र नेपाल र नेपालीको सहयोगमा योगदान पुर्याउने अपेक्षा व्यक्त गर्नु भयो । राजदुत रेग्मीले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको कोरोना तथ्यांकको अध्यावधिक गर्दै यो चुनौतीपूर्ण समयमा एनआरएन यूके र यहाँको नेपाली  समुदायले गर्नसक्ने योगदानको बारेमा चर्चा गर्नु भयो । जनप्रतिनिधीको तहमा नेपालको आवाज सुनिने बनाउन यहाँहरुको भूमिका रहन्छ भन्दै राजदुत रेग्मीले परिणाम आउने गरी निर्णयको तहमा योगदान गर्न समेत काउन्सिलरहरुलाई प्रस्ताव गर्नु भयो ।

कार्यक्रममा राजदुत रेग्मीले आईसीयू भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेट, अक्सिजन सिलिन्डर, टेस्ट किटजस्ता अत्यावश्यक स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई उपलब्ध गराउन आव्हान गर्नु भयो । साथै राजदुत रेग्मीले नेपाल सरकारको निर्देशनबमोजिम  बेलायत सरकारको विभिन्न निकायमा खोप लगायतको सहयोग पुर्याउन अनुरोध गरिएको बताउनु भयो । ‘नेपाल ब्रिटेनको ऐतिहासिक सम्बन्ध, गोर्खाहरुको योगदान जस्ता विशिष्ट योगदानहरुको आधारमा बेलायत समक्ष विशेष सहयोगको माग गरिएको छ’ राजदुत रेग्मीले भन्नुभयो । साथै उहाँले यसमा सराकरी उच्च तहबाट सकारात्मक संदेश प्राप्त भएको समेत बताउनु भयो ।

राजदुत रेग्मीले एनआरएनए यूकेसंग स्वास्थ्य सामग्री तथा खोपको लागि विशेष सहयोगको पहल गर्न समेत अनुरोध गर्नु भयो । अन्य सामाजिक संघसंस्थाहरु संग समन्वय गर्दै स्वास्थ्य सामाग्रीहरु जुटाउन सकेमा प्राप्त सामग्रीहरु नेपालको सम्बन्धित स्थानमा  पुर्याउन दुतावासको तर्फबाट सम्पूर्ण जिम्मेवारी लिने प्रतिवद्दता समेत व्यक्त गर्नु भयो । यसमा प्रमुख सहकार्य गर्ने संस्थाको रुपमा आफूले एनआरएनलाई नै लिएको भन्दै यसको संयोजन अध्यक्ष पुनम गुरुङले स्वयंले गर्न समेत अनुरोध गर्नु भयो ।

कार्यक्रममा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले नवनिर्वाचित काउन्सिलरहरुलाई बधाई ज्ञापन गर्दै मातृभूमि नेपालमा आइपरेको अप्ठ्यारोमा सबै मिलेर के कस्तो योगदान गर्न सकिन्छ भनेर छलफलको आयोजना गरिएकोले सबैको विचारहरुलाई लिएर एनआरएनले काम गर्ने बताउनु भयो । अध्यक्ष गुरुङले एनआरएनए प्रतिको  विश्वासले आफूहरुमा उर्जा थपिएको भन्दै सबै संघसंस्थाहरु संगको सहकार्यमा गर्न यथासक्य योगदानमा लागि पर्ने बताउनु भयो ।

कार्यक्रममा एनआरएनए यूके पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक मे. रि. डम्मर घले, संरक्षक सूर्य गुरुङ, संरक्षक तथा आईसीसी सल्लाहकार कुल आचार्य तथा निर्वतमान अध्यक्ष योगकुमार फगामीले दुतावास र एनआरएन मिलेर समुदायको सहयोगमा लाग्नुपर्ने धारणा राख्नु भएको थियो ।

त्यसैगरी बेलायतमा निर्वाचित काउन्सिलरहरुले आवश्यकताको ठोस पहिचान गरेर गर्न सकिने सहयोगलाई सूचीकृत गर्नु पर्नेमा जोड दिनु भयो । साथै उहाँहरुले आफ्नो तहबाट सरकारी निकायका व्यक्तिहरुसंग नेपाललाई सहयोग गर्ने बारेका प्रस्तावहरु राख्न शुरु गरेको बताउनु भयो । कार्यक्रममा काउन्सिलरहरु जीव बेल्वासे, नेम थापा, डा. जगन्नाथ शर्मा, प्रवेश केसी, नविन सिवा, दिनेश खड्का, डेपुटी मेयर लक्ष्य गुरुङ र नवनिर्वाचित मेयर बिष्णु बहादुर गुरुङले आ-आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा आवश्यकता बमोजिम विभिन्न समितिहरु निर्माण गरेर कार्य सम्पादन गर्ने सम्बन्धमा छलफल भएको थियो ।

कार्यक्रममा लन्डन राजदुतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनालको समेत उपस्थिति थियो ।

कार्यक्रमको संचालन महासचिव फडिन्द्र भट्टराईले गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री