बीसीसी युकेद्वारा प्रिन्स फिलिपप्रति श्रद्धाञ्जली अर्पण

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेद्वारा डुक अफ इडनबरा प्रिन्स फिलिपप्रति दीप प्रज्ज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
गत शनिबार बीसीसी युकेको अल्डरसटस्थित गुम्बा परिसरभित्र प्रिन्स फिलिपको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै २१६ वटा बत्ती बाली श्रद्धाञ्जलि अर्पण गरिएको हो ।
सो अवसरमा गुम्बाका धर्म गुरु टुल्कु रिन्पोछे जिग्मे र खेन्पो कुन्ख्यापले प्रिन्स फिलिपको सुखवती भुवनमा बास होस् भनी बौद्ध परम्परानुसार मलम पाठ पढेका थिए ।
गत शनिबार दिउँसो साढे १२ बजे भर्चुअली (जुम) मार्फत औपचारिक कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जलि अर्पण गरिएको कार्यक्रममा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले आफूले प्रिन्स फिलिपसँग दुईपटक प्रत्यक्ष रुपमा भेट्ने मौका पाएको स्मरण गरे । त्यस्तै, बीसीसी युकेका संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पाले प्रिन्स फिलिपको दिवंगत आत्माको चीर शान्तिको कामना गरे ।
बीसीसी युके आमा समूह अध्यक्ष उर्मिला गुरुङको संयोजकत्वमा सम्पन्न भएको उक्त दीप प्रज्ज्वलन कार्यक्रममा सल्लाहकार मेजर खुशीमान गुरुङले धर्म गुरु रिन्पोछे र खेन्पो लगायत सबै सहभागी भक्तजनहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
उक्त कार्यक्रमलाई आमा समूह सचिव शारदा गुरुङ संचालन गरेकी थिईन् ।
९९ वर्षको उमेरमा गत ९ अप्रिलका दिन स्वर्गारोहण भएका प्रिन्स फिलिपको सोही दिन अर्थात् गत शनिबार परम्परानुसार अन्त्येष्टी गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री