बेलायती प्रधानमन्त्री जोन्सनको भारत भ्रमण दोस्रोपटक रद्द

नयाँदिल्ली । कोरोना महामारीका कारण बेलायतका प्रधानमन्त्री बोरिस जोनन्सनको आगामी साता हुन गइरहेको भारत भ्रमण रद्द भएको छ । जोनन्सनले आगामी २५ अप्रिलदेखि भारत भ्रमण गर्ने तय भएको थियो ।

‘कोरोना महामारीका सिर्जित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै दुवै पक्ष बेलायतका प्रधानमन्त्रीको आगामी साता हुने भनिएको भारत भ्रमण स्थगत गर्ने निर्णयमा पुगेक छन्,’ भारतको विदेश मन्त्रालयद्वारा विज्ञप्तीमा भनिएको छ । साथै दुवै पक्षले आगामी दिनमा भर्जुअल बैठकमार्फत् भारत–बेलायत सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाउनका लागि नयाँ कार्यक्रमहरु ल्याइने समेत मन्त्रालयले जनाएको छ । कोरोना महामारीकै कारण देखाएर जोन्सनको निर्धारित भारत भ्रमणलाई दिल्लीमै सिमित गरिएको थियो ।

यसअघि भारतको गणतन्त्रको दिवसको अवसरमा २६ जनवरीमा पनि बेलायती प्रधामन्त्री जोन्सन दिल्ली आउने कार्यक्रम थियो । भारतले गणतन्त्रको दिवसको अवसरमा दिल्लीमा हुने विशेषकार्यक्रमका लागि प्रमुख अतिथिका रुपमा जोनन्सनलाई निम्तो गरेको थियो । तर, त्यतिबेला बेलायतमा कोरोना संक्रमण बढेको भन्दै जोन्सन आफैले भ्रमण रद्द गरेका थिए ।

भारतमा कोरोना संक्रमणले प्रत्येक दिन नयाँ रेकर्ड बनाइरहेको छ । आइतबार मात्र २ लाख ७३ हजारमा संक्रमण पुष्टि भएको थियो । त्यसैगरी १ हजार ६१९ जनाको मृत्यु भएको छ । जुन अहिलेसम्मकै बढी हो । संक्रमणले भयावह रुप लिएसँगै भारतको स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको छ ।

कोरोना संक्रमण फैलनेक्रम तीव्र बनेपछि भारतको राजधानी दिल्लीमा सोमबार रातिदेखि लागू हुने गरी थप एक साताका लागि कर्फ्यु घोषणा गरिएको छ । दिल्ली सरकारले संक्रमण रोक्न भन्दै शनिबार र आइतबार पनि कर्फ्यु लागू गरेको थियो । त्यसैगरी दिल्लीमा गत ६ अप्रिलदेखि आगामी ३० अप्रिलसम्मका लागि घोषणा गरिएको रात्रिकालीन कर्फ्यु कायमै छ ।

ईकान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री