शताब्दी पूरा हुन दुई महिनामात्र बाँकी रहँदा संयुक्त अधिराज्य (बेलायत)की महारानी एलिजावेथ द्वितीयका श्रीमान् राजकुमार फिलिप (ड्युक अफ एडिनबरा)को गत साता निधन भयो । बेलायतको राजपरिवारसँग उहाँ ७३ वर्षअघि जोडिनुभएको थियो । बेलायती राजसंस्थाका एक वरिष्ठ सदस्य तथा ‘फस्र्ट जेन्टल म्यान’ राजकुमार फिलिपको निधनसँगै एउटा इतिहासको अवशान भएको छ ।
एलिजावेथसँग विवाह भएपछि राजकुमारको पद्वी पाउनुभएका फिलिप कहिल्यै राजगद्दीको उत्तराधिकारीको रोलक्रममा भने रहनुभएन । उहाँको छोरा राजकुमार चाल्र्स अहिले उत्तराधिकारीको रूपमा हुनुुहन्छ । विवाहपछि थरसमेत नयाँ लिनुभएका फिलिपले महारानी एलिजावेथको हरेक निर्णयमा निष्ठासाथ सहयोग र समर्थन गर्दै आउनुभयो । बेलायतको राजपरिवारलाई विभिन्न समयमा आएका साना, ठूला सङ्कटलाई साम्य पार्न ‘दी ड्युक अफ एडिनबरा’को उपाधिले विभूषित फिलिपको भूमिका महत्वपूर्ण रह्यो । राजकुमार फिलिपले पदको प्रयोग गरी राजसंस्थालाई परिवर्तित समयको भावना बुझ्न सहयोग गर्नुभयो ।
बेलायतको इतिहासमा राष्ट्राध्यक्षको जीवनसाथीका रूपमा सबैभन्दा लामो अवधि बिताउनुभएका फिलिपको सन् १९४७ नोभेम्बर २० मा हालकी महारानी एजिलावेथसँग विवाह भएको थियो । अग्लो कदका सुन्दर नवयुवक फिलिप २६ र एलिजावेथ त्यतिबेला २१ वर्षको हुनुहुन्थ्यो । विवाह भएको पाँच वर्षपछि सन् १९५२ मा एलिजावेथ बेलायतको राजगद्दीमा आसीन हुनुभयो । दोस्रो विश्वयुद्धमा बेलायतको तर्फबाट नौसैनिक अधिकृतका रूपमा युद्धमा सहभागी हुनुभएका फिलिपलाई एलिजावेथले पहिलो नजरमै मन पराएपछि दुवैबीच आकर्षण बढेको बताइन्छ । एलिजावेथले आफ्ना पिता तथा बेलायतका तत्कालीन राजा जर्ज छैटाँलाई आफूले जीवनमा एकमात्र व्यतिm फिलिपलाई प्रेम गरेको बताउनुभएपछि दुवैको प्रेम सम्बन्ध बाहिर आएको थियो । धेरै नबोल्ने लजालु स्वभावकी एलिजावेथसँग विवाह गरेपछि स्पष्ट वक्ताको छवि बनाउनुभएका फिलिपको जीवनशैलीमा परिवर्तन आउनु स्वाभाविक थियो ।
राजकुमार फिलिपको जन्म ग्लुक्सवर्ग राजपरिवारको सदस्यका रूपमा ग्रीसमा भएको थियो । बाल्यावस्थामै उहाँको परिवारलाई देशनिकाला गरिएपछि उहाँले फ्रान्स, जर्मनी र बेलायतबाट उच्च शिक्षा प्राप्त गर्नुभयो । धेरैलाई थाहा नहुन सक्छ, राजकुमार फिलिपको सम्बन्ध पूर्वमहारानी भिक्टोरियासँग पनि जोडिएको छ । एलिजावेथसँग विवाहको अनुमति पाएसँगै उहाँले ग्रीस र डेनमार्कको शाही पद्वी त्यागेर सामान्य बेलायती नागरिक बन्नुभयो । त्यसपछि उहाँले आफ्नो मामाघरको थर माउन्टबेटन राख्नुभयो । विवाह पहिले नै उहाँलाई बेलायतको राजपरिवारको पद र सम्मानद्वारा विभूषित गरिएको थियो । उहाँलाई बोलाउनका लागि ‘रोयल हाइनेस’ र ‘ड्युक अफ एडिनबरा’को उपाधि दिइयो । कमान्डर पदमा पुगी सक्नुभएका उहाँले एलिजावेथ महारानी भएसँगै सक्रिय सैन्य सेवा छोड्नुभयो ।
भव्य महलमा बसे पनि राजकुमार फिलिपको जीवन भने सामान्य थियो । आफ्नो काम आफैँ गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । गाडी चलाउन सौखिन हुनुहुन्थ्यो । बेलायतको महारानीको प्रतिनिधिका रूपमा तथा कतिपय परोपकारी संस्थाका लागि विभिन्न सार्वजनिक कार्यक्रममा भाग लिनुभयो । सन् २०१७ अगस्टदेखि भने सार्वजनिक जीवनबाट उहाँले अवकाश लिनुभयो । बकिङ्घम राजदरबारका अनुसार सन् १९५२ देखि २०१७ सम्म राजकुमार फिलिप २२ हजार १९१ कार्यक्रममा सहभागी हुनुभयो । बर्सेनि तीन सयभन्दा बढी कार्यक्रममा उहाँ सहभागी हुनुहुन्थ्यो । उहाँसँग बेलायतको नम्बर एक रहेको राहदानी (महारानीलाई आवश्यकता पर्दैन) थियो । शाही जिम्मेवारीबाट बिदा लिँदा उहाँ आबद्ध संस्थाहरू ७८० भन्दा धेरै थिए । महारानीसँग उहाँले कमनवेल्थ र अन्य गरी १४३ देशको औपचारिक भ्रमण गर्नुभएको थियो । महारानी एलिजावेथ बेलायत र अन्य १५ देशकी राष्ट्राध्यक्ष हुनुका साथै कमनवेल्थकी प्रमुख पनि हुनुहुन्छ । कुनै समय बेलायतको अधिनमा रहेका ५४ वटा स्वतन्त्र देशको संस्था हो– कमनवेल्थ । एकल र औपचारिक भ्रमणका क्रममा उहाँले हजारौँ सर्वसाधारण, सरकारप्रमुख, राष्ट्रप्रमुख, पोप तथा ‘सेलेब्रेटी’लाई भेट्नुभएको छ ।
श्रीमतीको छाँयामा सात दशक बिताए पनि उहाँ सामाजिक कार्य, वातावरण र वन्यजन्तु संरक्षणमा विशेष सक्रिय हुनुहुन्थ्यो । सामाजिक कार्यअन्तर्गत सन् १९५६ मा स्थापित ड्युक अफ एडिनबरा अवार्ड विशेष थियो । १४ देखि २४ वर्षबीचका युवाले स्वयम्सेवा गरेर सो अवार्ड पाउन सक्थे । यो नवयुवा लक्षित कार्यक्रम थियो । यो उनीहरूको स्वविकाससम्बन्धी कार्यक्रम हो । जसमा शारीरिक क्रियाकलाप र सीप, पर्वतारोहणदेखि डुङ्गा खियाउनेसम्मका काम पर्थे । १३० भन्दा बढी देशका लाखौँ नवयुवाले यसमा काम गरेका थिए । सन् १९६१ मा विश्व वन्यजन्तु कोष बेलायतको अध्यक्ष हुनुभएका फिलिपको सोही वर्ष भारतमा मरेको बाघसहितको तस्बिर सार्वजनिक भएपछि आलोचना भएको थियो । हवाईजहाज चलाउन मन पराउने उहाँ घोडादौड, क्रिक्रेटमा पनि रुचि राख्नुहुन्थ्यो । यसबाहेक उहाँ पोलो खेलाडीका रूपमा पनि चिनिनुभएको छ । उहाँ विन्डसर पार्क पोलो टीमको क्याप्टेनमात्र नभई, एक खम्बा नै हुनुुहुन्थ्यो ।
राजकुमार फिलिपको निधनसँगै नेपालले भने एउटा माया गर्ने व्यक्ति गुमाएको छ । नेपाल र बेलायतबीचको सम्बन्ध दुई सय वर्षभन्दा बढीको छ । यस अवधिमा महारानी एलिजावेथ द्वितीयले दुईपटक नेपालको राजकीय भ्रमण गर्नुभयो । भ्रमणमा फिलिप पनि सँगै आउनुभएको थियो । सन् १९६१ र १९८६ को राजकीय भ्रमणमा उहाँ नेपालका विभिन्न स्थानमा पुग्नुभएको थियो । ‘नेपालको शुभेच्छुकका रूपमा राजकुमार फिलिपलाई स्मरण गर्न चाहान्छु,’ बेलायतको लिड्स विश्वविद्यालयका प्रा.डा. सूर्य सुवेदी भन्नुहुन्छ, ‘बेलायती सेनामा कार्यरत गोरखा सैनिकको योगदान र नेपालको तत्कालीन राजपरिवारसँगको सम्बन्धका कारण उहाँको ममता र झुकाव नेपालप्रति थियो ।’ राजकुमार फिलिपसँग दुईपटक भेट्नुभएका प्रा.डा. सुवेदी भन्नुहुन्छ, ‘कुनै समय अस्थिरतातर्फ उन्मुख बेलायतको राजनीतिलाई स्थिरतातर्फ लैजान महारानीले निर्वाह गर्नुभएको उल्लेखनीय भूमिकामा राजकुमार फिलिपको महत्वपूर्ण योगदान छ ।’ दुई देशका जनताबीचको सम्बन्धलाई थप बलियो बनाउन भूमिका निर्वाह गर्नुभएका फिलिप संरक्षक रहेको परोपकारी संस्थाबाट नेपाललगायत थुप्रै देशले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ लिएको उहाँको भनाइ छ । बेलायतले मानवअधिकार तथा सुशासनका क्षेत्रमा नेपाललाई सहयोग गर्दै आएको छ । यसमा राजकुमार फिलिपको माया र सद्भाव प्रत्यक्ष अनुभव गरेको डा. सुवेदी बताउनुहुन्छ ।
बेलायतको हकिन्स टाउन काउन्सिलका काउन्सिलर नवीन शिवा पनि राजकुमार फिलिपलाई नेपाल र नेपाली माया गर्ने व्यक्तित्वका रूपमा चिनाउनुहुन्छ । कुनै समय फिलिपकै नाममा रहेको रेजिमेन्टमा शिवा काम गर्नुहुन्थ्यो । काम गर्दा फिलिपकै हातबाट पदक पाउनुभएका शिवा भन्नुहुन्छ, ‘नेपालीमाथि विश्वास गर्नुहुन्थ्यो । सानो कुरालाई पनि चाख दिएर सुन्ने, त्यसको गहिराइमा पुगेर सक्ने सहयोग गर्ने बानी पनि उहाँको थियो ।’ कोरोनाका कारण परिवारका ३० जना सदस्यको उपस्थितिमा आज शनिबार उहाँको अन्तिम बिदाइ हुँदै छ ।
गोरखापत्रबाट
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य