गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन बजेट अधिवेसनबाट पास हुने 

 

लण्डन । नेपाली नागरिकता निरन्तरता र प्रस्तावित गैर आवासीय नेपाली ऐन सम्बन्धमा विश्वभरी छरिएर बसेका नेपालीहरु सहजरूपमा जानकार होउन् भन्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम बेलायतमा सम्पन्न भएको छ।

नेपाल सरकारले गैर आवासीय नेपाली नागरिकताको ब्यवस्थालाई कार्यान्वयन गर्न संसदमा विचाराधीन रहेको नागरिकता ऐन यथाशीघ्र पास गर्न दबाब सृजना गर्ने अभिप्रायले प्रवासी नेपाली एकता मंच बेलायतले यो कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गर्नु भएको थियो । पूर्व कानुन मन्त्री तथा सांसद शेरबहादुर तामाङ्ग, प्रतिनिधिसभा कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेल, एनआरएनए अन्तर्राष्ट्रिय समितिका महासचिव डा हेमराज शर्मा तथा एनआरएनए बेलायतका अध्यक्ष पुनम गुरुङ विशेष अतिथि हुनुहुन्थ्यो ।

नेपाल सरकारले आगामी बजेट अधिवेसनबाट यो बहुप्रतिक्षित ऐन पारित गर्ने हुँदा गैरआवासीय नेपालीहरुको हितमा हुनेगरी कुनै दफाहरुमा संसोधन गर्नु पर्ने महसुस भए शेरबहादुर तामाङ तथा कृष्णभक्त पोख्रेललाई जानकारी गराउन सुझाव अध्यक्ष तिमिल्सिनाले सबै गैरआवासीय नेपालीहरुलाई ढुक्क रहन अनुरोध गरेका थिए ।

अमेरिका,जापान, हङकङ, इजरायल, अस्ट्रेलिया, युएई, बेल्जियम, पोर्तुगल, अस्ट्रिया, डेन्मार्क, पोल्यान्ड, चेक रिपब्लिक आदि मुलुकहरुबाट पनि एनआरएनएका अध्यक्ष एवम् प्रवासी नेपाली एकता मञ्चका प्रमुखहरुले भाग लिँदै अतिथिहरुलाई आ-आफ्ना सुझावहरु दिएका थिए। बेलायतमा रहेका सामाजिक अगुवाहरुको पनि कार्यक्रममा बाक्लो उपस्थिति थियो।

प्रवासी एकता मंच बेलायतका अध्यक्ष भक्त गुरुङले अध्यक्षता गरेको सो कार्यक्रमका लागि महासचिव सुरेश जङ्ग शाहले विषय प्रवेश मन्तव्य दिएका थिए । अन्तरक्रिया कार्यक्रमको संचालन मंचका नेपाली नागरिकता निरन्तरता विभागका संयोजक एवम् उपमहासचिव डा मुकुन्द बास्तोलाले गरेका थिए ।

एक पटकको नेपाली नागरिक सदाका लागि नेपाली नागरिक भन्ने मूल नारा बोकेर हिँडेका गैरआवासीय नेपालीहरुलाई आफूले पाएका बंशजको नेपाली नागरिकताको निरन्तरताको ब्यवस्था नभएता पनि संबिधानको धारा १४ को सीमाभित्र रहेर गैरआवासीय नेपाली नागरिकता पाउन यो ऐनले मार्ग खोल्ने हुँदा कार्यक्रममा मन्तव्य राख्ने सबै बक्ताहरुले केही सफलता हासिल भएकोले सोको उपभोग गर्दै बंशजको नेपाली नागरिकताको  निरन्तरताको लागी निरन्तर पहल गर्नुपर्ने धारणा राखे। 

गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माले गैरआवासीय नेपाली संघ र विदेशमा रहेका विभिन्न संघ संस्थाहरुको अथक मिहिनतपश्चात हामी सबै गैरआवासीय नेपालीहरुको अत्यन्तै चासोको बिषय गैरआवासीय नेपाली नागरिकता पाउने ब्यवस्था अन्तिम चरणमा रहेको जानकारी गराए। साथै महासचिव शर्माले गैरआवासीय नेपालीहरुको हक अधिकारसंग प्रत्यक्ष सरोकार राख्ने गैरआवासीय नेपाली ऐन २०६४ लाई संसोधन गर्न बनेको गैरआवासीय नेपाली ऐन २०७६ ले ब्यवस्था गरेका उपलब्धिका ब्यवस्थाहरु र संसोधन गर्नु पर्ने कुराहरुको बारेमा विस्तृत चर्चा गरे। 

गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरूङले गैरआवासीय नेपाली संघ र अन्य राजनीतिक तथा सामाजिक संघ संस्थाहरु एकजुट भएर सबै गैरआवासीय नेपालीहरुको साझा समस्याहरूको समाधानको लागी पहल गर्नु पर्ने धारणा राखिन् ।

कार्यक्रममा प्रवासी नेपाली एकता मन्च बेलायत नेपाली नागरिकता निरन्तरता विभागका सदस्य सचिव बिदुर खत्रीले प्रस्तावित गैरआवासीय नेपाली  ऐन २०७६ का धेरैजसो कानूनी ब्यवस्थाहरू सकारात्मक भएतापनि यस ऐनले संबिधानको धारा १४ ले प्रत्याभूति गरेका आर्थिक, सामाजिक र सांस्कृतिक, संवेधानिक अधिकारहरूलाई संकुचन गर्ने प्रयास गरेकोले सो प्रस्तावित ऐनका संसोधन गर्नु पर्ने दफाहरुको बारेमा चर्चा गर्दै प्रवासी नेपाली एकता मन्च बेलायतको  तर्फबाट ज्ञापनपत्रको रूपमा कार्यक्रममा उपस्थित सांसदहरुलाई अवगत गराए।

कार्यक्रमको अन्तमा उपस्थित पत्रकार तथा अन्य सहभागीहरुको पश्नहरुको जवाफ दिंदै सांसद कृष्णभक्त पोखरेलले संबिधानको अधिनमा रही गैरआवासीय नेपालीहरुको हितमा हुने गरी नेपाली नागरिकता ऐन तथा गैरआवासीय नेपाली ऐनलाई संसोधन गर्न हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

प्रवासी नेपाली एकता मन्च अन्तर्राष्ट्रिय समिति तथा बेलायतका अध्यक्ष भक्त गुरुङले सबै गैरआवासीय नेपालीहरुको साझा विषयहरुमा अन्य प्रवासमा रहेका सबै राजनीतिक वा सामाजिक संघ संस्थाहरुलाई एकजुट भएर अगाडी बढ्दै नेपाल सरकारलाई ओझिलो दबाब सृजना गर्न समेत आह्वान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री