जेनेभा। अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपका कारण रगत जमेको भन्ने अपुष्ट विवाद कायमै रहेका बेला विश्व स्वास्थ्य संगठनका विज्ञहरुले खोप सुरक्षित रहेको दाबी गरेका छन् ।
कोभिड–१९ ले सङ्कट निम्त्याइरहेको युरोपेली क्षेत्रका कतिपय मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका छन् । पछिल्लो पटक युरोपका सबैभन्दा ठूला देशहरु जर्मनी, इटाली र फ्रान्सले पनि अस्ट्राजेनिका खोप लगाउन तत्काललाई रोक लगाएका छन् । युरोपकै अन्य कतिपय मुलुकले पनि अस्ट्राजेनिका खोप लगाउन बन्द गरिसकेका छन् ।
विश्वमा हाल २६ लाखभन्दा बढी मानिसको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ ।
यहीबीच विश्व स्वास्थ्य संगठन, अस्ट्राजेनिका कम्पनी र युरोपेली औषधि नियामक निकाय (इएमए)ले अस्ट्राजेनिका खोप सुरक्षित रहेको बताएका छन् । उनीहरुको भनाईमा खोप लगाएका व्यक्तिमा रगत जमेको भन्ने विवरणमा पूर्ण सत्यता छैन ।
विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले आमजनतालाई नआत्तिन र अस्ट्राजेनिका खोप लगाउने कार्यलाई निरन्तरता दिन आग्रह गर्नु भएको छ ।
उहाँले भन्नुभयो, “अध्ययनबाट खोप र रगत जम्ने समस्याबीच कुनै सम्बन्ध देखिएको छैन ।”
विश्व स्वास्थ्य संगठन र इएमएका विज्ञहरुले अस्ट्राजेनिकाको खोप अभियानसँग सम्बन्धित विवरणको अलग अलग अध्ययन गर्ने बताएका छन् । इएमएले अस्ट्राजेनिकाको विवरणलाई लिएर के गर्ने भनेर दुई दिनपछि विशेष बैठक गर्न लागेको जनाएको छ ।
अस्ट्राजेनिकाको खोप अहिले विश्व बजारमा सबैभन्दा सस्तो छ । कमजोर आर्थिक स्थिति भएका मुलुकका लागि सहज भएकाले पनि यो खोपको माग बढ्दो छ । युरोप बाहेकका अन्य मुलुकहरुले यो खोप बढी प्रयोग गर्ने सम्भावना छ ।
तैपनि, इन्डोनेसियाले सोमबार अस्ट्राजेनिकाको खोप लगाउन रोकेको छ भने भेनेजुएलाले यो खोप प्रयोग नगर्ने घोषणा गरेको छ ।
यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिकाले विकास गरेका हुन् । विश्वभर अस्ट्राजेनिकाको खोप करिब एक करोड १० लाख डोज लगाइएको छ, तर कुनै समस्या देखिएको छैन ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युरोपका कतिपय मुलुकमा अस्ट्राजेनिका खोप लगाउन रोकिए पनि आफ्ना नागरिकलाई खोप लगाउन आग्रह गर्नु भएको छ ।
कोभिड–१९ को नियन्त्रणमा निकै कठिनाई भइरहेकै अवस्थामा अस्ट्राजेनिकाको खोपको प्रभावकारितालाई लिएर मानिसमा त्रास बढेको छ ।
नर्वेको राजधानी ओस्लोमा कोरोनाभाइरस फैलिन थालेपछि कडा प्रतिबन्धहरु घोषणा गरिएका छन् । यहाँ माध्यमिक विद्यालयहरु पनि बन्द गरिएका छन् । ओस्लोमा गत साता ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका थिए ।
ओस्लो नगरका मेयर रेमन्ड जोहान्सेनले महामारी फैलिएयता पहिलोपटक यो सबैभन्दा कडा प्रतिबन्ध रहेको जानकारी दिनुभयो । “यो निकै कठिन र कडा छ, तर यो अत्यावश्यक पनि छ ।”
बोस्नियामा पनि कोभिड अस्पतालहरु भरिभराउ भएका छन् र सरकारले बाध्य भएर आपतकालीन स्थितिको घोषणा गरेको छ ।
अस्पतालका निर्देशक सेबिजा इजेबेगोभिकले फेसबुकमा लेख्नु भएको सन्देशमा अस्पतालका कर्मचारीहरु थकित भइसकेको उल्लेख छ । “हामी मानिसको जीवन बचाउन हरसम्भव प्रयत्न गर्नेछौं, तर परिस्थिति साँच्चिकै गम्भीर छ । हाम्रा बढीभन्दा बढी कर्मचारीहरु बिरामी पर्न थालेका छन् ।”
इटालीका अधिकांश स्थानमा सोमबार लकडाउन गरिएको छ । यहाँ स्कुल, रेस्टुराँ, पसल र सङ्ग्रहालयहरु सबै बन्द गरिएका छन् । जर्मनीमा सघन उपचारमा संलग्न चिकित्सकहरुले देशमा कोभिडको तेस्रो लहर शुरु हुने खतरा देखिएको भन्दै तत्काल नयाँ प्रतिबन्धहरु घोषणा गर्न अपिल गरेका छन् ।
ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले सोमबार नयाँ स्वास्थ्य मन्त्री नियुक्त गर्नु भएको छ । यहाँ पनि कोभिडका नयाँ बिरामीको संख्या बढ्नुका साथै कोभिडको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।
कोरोनाभाइरस महामारीको नियन्त्रणका लागि खोप प्रभावकारी हुनसक्ने भन्दै खोप निर्माणमा अभूतपूर्व प्रयत्न गरिएको थियो, र अहिले विश्व समक्ष केही विकल्पहरु तयार भइसकेका छन् ।
तर, निर्यात नियन्त्रण, कुटनीतिक असमझदारी र उत्पादनसँग सम्बन्धित मामिलाका कारण खोपको उपलब्धतामा प्रभाव परिरहेकै अवस्थामा अस्ट्राजेनिकाको प्रयोग स्थगनले अर्को समस्या थपेको छ ।
जर्मनीका अर्थमन्त्रीले जोन्सन एन्ड जोन्सनको खोप उत्पादन जर्मनीको आइडिटी बायोलोजिकाले उत्पादन गर्न लागेकाले त्यसबाट युरोपलाई फाइदा पुग्ने बताउनुभयो ।
साथै रसियाको स्पुतनिक भी खोपका निर्माताहरुले केही प्रमुख युरोपेली मुलुकमा आफ्नो खोप उत्पादन हुने चरणमा रहेको बताएका छन् ।
चीनले पनि कोभिडका खोपहरु विकास गरेको छ र विश्वका धेरै मुलुकमा बिक्री गरिरहेको छ । चीनका खोपहरु युरोप, मध्यपूर्व र दक्षिण अमेरिका पुगेका छन् ।
सोमबार, चीनले संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका लागि तीन लाख डोज उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । भारतले यसअघि नै शान्ति सेनाका लागि दुई लाख डोज दिने बताइसकेको छ । तर दुबै मुलुकले शान्ति सेनालाई कुन खोप दिने हुन् भन्ने खुलाएका छैनन् ।
चीनले कोरोनाभाइरसलाई लगभग नियन्त्रणमा ल्याइसकेको छ, तर विदेशबाट कोभिड भित्रिने आशंकामा कडा यात्रा नियमहरु लगाइरहेको छ । तर खोप लगाएका फिलिपिनी नागरिकका लागि चीन भ्रमणलाई खुकुलो बनाएको सोमबार चीनले घोषणा गरेको छ ।
यसैबीच, ब्राजिलले फाइजरको १० करोड डोज खोप खरिद गर्न कम्पनीसँग सम्झौता गरेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले जोन्सन एन्ड जोन्सनबाट पनि थप ३ करोड ८० लाख डोज खोप किन्न लागेको जनाएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश