डा. लक्सम्बाको सम्झनामा भावविह्वल भए सहकर्मीहरु

लण्डन । गत महिना निधन भएका नेपाल खुला विश्वविद्यालयमा प्राध्यापनरत डा. चन्द्रकुमार लम्सम्बासितको सहकार्य र सम्बन्ध सम्झेर उनका सहकर्मीहरु भावविह्वल भए ।
डा. लक्सम्बा आफैँ संस्थापक रहेको नेपाल अध्ययन केन्द्र युकेले शनिबार युकेमा भर्चुअल रुपमा आयोजना गरेको श्रद्धान्जलि सभामा उनका सहकर्मीहरु उनीसितको सम्झनाले भावुक बने ।
कार्यक्रमको शुरुवात गर्दै केन्द्रका कार्यकारी निर्देशक लोकेन्द्र ढकालले डा. लक्सम्बालाई सन् १९७७ मा अमृत साइन्स क्याम्पसमा विज्ञान विषय अध्ययन गर्ने क्रममा पहिलो पटक भेटेको र वर्षौंपछि आफू बेलायत आउँदा पनि उत्तिकै साथीत्व पाएको बताए । उनको निधन आफूहरुका लागि एक असल मित्र गुमाउनु मात्र नभई गोरखाहरुले न्यायको अभियानमा एउटा अभिभावक गुमाएको ढकालको भनाइ थियो ।
ढकालपछि लक्सम्बाका अर्का कलेज जीवनका सहयात्री डा. अच्युत गौतमको बोल्ने पालो आयो । उनले २०३६ सालको विद्यार्थी आन्दोलन कसरी उठेको थियो र त्यसमा लक्सम्बाको योगदान के थियो भन्ने बारेमा चर्चा गरे । पाकिस्तानमा जुल्फिकर अलि भुट्टोलाई फाँसी दिइँदा आफूहरु खाना खाइरहेको र त्यतिबेलै यसको विरुद्ध लाग्नपर्छ भनेर निर्णय गरेको उनले सम्झना गरे । कालान्तरमा सो आन्दोलन नै नेपालमा प्रजातन्त्र पुनर्बहालीको कोशेढुंगा कायम भयो । मन्तब्यको अन्त्यमा डा. गौतमले कलेज जीवनको बेला लक्सम्बासित सुन्ने गरेको गीत सुनाएर सबैलाई भावुक बनाए ।
त्यसपछि लक्सम्बाको पीएचडीका दोस्रो सुपरभाइजर प्राध्यापक जोन होल्फोर्डले २० वर्षअघि डा. लक्सम्बासितको भेट, उनको पीएचडी यात्रा र उनको प्राज्ञिक जीवनको चर्चा गरे । लक्सम्बामा जस्तै प्रतिकूल अवस्थामा पनि विश्वस्त बनाउन सक्ने असाधारण क्षमता रहेको उनको भनाइ थियो ।
लक्सम्बासित सहकार्य गरेकी अक्सफोर्ड विश्वविद्यालयकी प्राध्यापक साण्ड्रा हाउसरले लक्सम्बासितको सहकार्यलाई तीन विधामा प्रस्तुत गर्दै लक्सम्बामा मानिसहरुलाई संयोजन गर्नसक्ने, सामाजिक न्यायका लागि शैक्षिक अभियन्ता र रोकिनै नसकिने उर्जा भएको बताइन् ।
अक्सफोर्डकै अर्का प्राध्यापक डेभिड गेल्नरले सन् २००७ मा बेलायतको जनगणनामा नेपालीको अलग महलका लागि पहल गर्ने क्रममा लक्सम्बासित भेट भएको र त्यसपछिको मित्रता जीवनभर रहेको स्मरण गरे । लक्सम्बामा सबैसित घुलमिल हुनसक्ने र मित्रता कायम गर्न सक्ने क्षमता आफूले पाएको बताउँदै उनले अस्पतालको बेडबाट पनि लक्सम्बाले आफूलाई नेपाल खुला विश्वविद्यालयको मानवशास्त्रको पाठ्यक्रमका बारेमा परामर्श गरेको बताए ।
लक्सम्बासित नेपाल अध्ययन केन्द्र स्थापनादेखि नै सहकार्य गरेका डा. कृष्ण अधिकारीले लक्सम्बाको जीवनयात्रा प्रस्तुत गरेका थिए । लक्सम्बासित चिनजान भएपछि बोल्नसक्ने अवस्था रहुञ्जेल कुराकानी हुने गरेको सम्झना गर्दै उनले लक्सम्बा प्राज्ञिक हुुनुकाका साथै समानताको आन्दोलन अभियन्ता पनि भएको बताए । नेपालका बारेमा बेलायतमा भएका प्राज्ञिक छलफल विरलै छुटाउने लक्सम्बाको प्रवासमा रहेका नेपालीका बारेमा स्तरीय जर्नल निकाल्ने योजना रहेको उनले सम्झिए ।
लक्सम्बाका जेठा छोरा बसन्त लक्सम्बाले आफूहरुका लागि आफ्ना पिताले कुनै कसर बाँकी नराखेको बताए । परिवारका अभिभावकीय जिम्मेवारीका साथै बुुहारी र नातिनातिनीहरुका पनि डा. लक्सम्बा अति प्रिय साथी रहेको उनले प्रष्ट्याए । लक्सम्बाको योजना नेपाल फर्कने र नेपालको शिक्षा क्षेत्रमा काम गर्ने रहेकोमा पछिल्लो १८ महिना नेपाल खुला विश्विद्यालयमा पाएको अवसरबाट उहाँ अति सन्तुष्ट भएको उनले बताए । ‘उहाँले कहिल्यै आफ्ना विद्यार्थीलाई नामले होइन, मेरो विद्यार्थी भनेर चिनाउनुहुन्थ्यो’ उनले भने ।
केन्द्रका अर्का सहकर्मी डा. गंगा दाहालले लक्सम्बाको निधन आफूहरुका लागि अपूरणीय क्षति भएको बताउँदै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा डा स‌ङ्गीता श्रेष्ठले लक्सम्बाको सम्झनामा कविता प्रस्तुत गरेकी थिइन् ।
ताप्लेजुङमा जन्मिएका लक्सम्बाको ५९ वर्षको उमेरमा गत महिना बेलायतमा निधन भएको थियो । उनी अमृत साइन्स क्याम्पसबाट बीएस्सी गरेपछि बेलायती सेनामा भर्ती भएका थिए । सैन्य सेवामै रहँदा स्नातकोत्तर गरेका लक्सम्बाले सेनाबाट निवृत्त भएपछि बेलायतको सरे विश्वविद्यालयबाट पीएचडी गरेका थिए । उनी अमृत साइन्स क्याम्पसका पहिलो स्ववियू सभापति थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री