लण्डन । गत महिना निधन भएका नेपाल खुला विश्वविद्यालयमा प्राध्यापनरत डा. चन्द्रकुमार लम्सम्बासितको सहकार्य र सम्बन्ध सम्झेर उनका सहकर्मीहरु भावविह्वल भए ।
डा. लक्सम्बा आफैँ संस्थापक रहेको नेपाल अध्ययन केन्द्र युकेले शनिबार युकेमा भर्चुअल रुपमा आयोजना गरेको श्रद्धान्जलि सभामा उनका सहकर्मीहरु उनीसितको सम्झनाले भावुक बने ।
कार्यक्रमको शुरुवात गर्दै केन्द्रका कार्यकारी निर्देशक लोकेन्द्र ढकालले डा. लक्सम्बालाई सन् १९७७ मा अमृत साइन्स क्याम्पसमा विज्ञान विषय अध्ययन गर्ने क्रममा पहिलो पटक भेटेको र वर्षौंपछि आफू बेलायत आउँदा पनि उत्तिकै साथीत्व पाएको बताए । उनको निधन आफूहरुका लागि एक असल मित्र गुमाउनु मात्र नभई गोरखाहरुले न्यायको अभियानमा एउटा अभिभावक गुमाएको ढकालको भनाइ थियो ।
ढकालपछि लक्सम्बाका अर्का कलेज जीवनका सहयात्री डा. अच्युत गौतमको बोल्ने पालो आयो । उनले २०३६ सालको विद्यार्थी आन्दोलन कसरी उठेको थियो र त्यसमा लक्सम्बाको योगदान के थियो भन्ने बारेमा चर्चा गरे । पाकिस्तानमा जुल्फिकर अलि भुट्टोलाई फाँसी दिइँदा आफूहरु खाना खाइरहेको र त्यतिबेलै यसको विरुद्ध लाग्नपर्छ भनेर निर्णय गरेको उनले सम्झना गरे । कालान्तरमा सो आन्दोलन नै नेपालमा प्रजातन्त्र पुनर्बहालीको कोशेढुंगा कायम भयो । मन्तब्यको अन्त्यमा डा. गौतमले कलेज जीवनको बेला लक्सम्बासित सुन्ने गरेको गीत सुनाएर सबैलाई भावुक बनाए ।
त्यसपछि लक्सम्बाको पीएचडीका दोस्रो सुपरभाइजर प्राध्यापक जोन होल्फोर्डले २० वर्षअघि डा. लक्सम्बासितको भेट, उनको पीएचडी यात्रा र उनको प्राज्ञिक जीवनको चर्चा गरे । लक्सम्बामा जस्तै प्रतिकूल अवस्थामा पनि विश्वस्त बनाउन सक्ने असाधारण क्षमता रहेको उनको भनाइ थियो ।
लक्सम्बासित सहकार्य गरेकी अक्सफोर्ड विश्वविद्यालयकी प्राध्यापक साण्ड्रा हाउसरले लक्सम्बासितको सहकार्यलाई तीन विधामा प्रस्तुत गर्दै लक्सम्बामा मानिसहरुलाई संयोजन गर्नसक्ने, सामाजिक न्यायका लागि शैक्षिक अभियन्ता र रोकिनै नसकिने उर्जा भएको बताइन् ।
अक्सफोर्डकै अर्का प्राध्यापक डेभिड गेल्नरले सन् २००७ मा बेलायतको जनगणनामा नेपालीको अलग महलका लागि पहल गर्ने क्रममा लक्सम्बासित भेट भएको र त्यसपछिको मित्रता जीवनभर रहेको स्मरण गरे । लक्सम्बामा सबैसित घुलमिल हुनसक्ने र मित्रता कायम गर्न सक्ने क्षमता आफूले पाएको बताउँदै उनले अस्पतालको बेडबाट पनि लक्सम्बाले आफूलाई नेपाल खुला विश्वविद्यालयको मानवशास्त्रको पाठ्यक्रमका बारेमा परामर्श गरेको बताए ।
लक्सम्बासित नेपाल अध्ययन केन्द्र स्थापनादेखि नै सहकार्य गरेका डा. कृष्ण अधिकारीले लक्सम्बाको जीवनयात्रा प्रस्तुत गरेका थिए । लक्सम्बासित चिनजान भएपछि बोल्नसक्ने अवस्था रहुञ्जेल कुराकानी हुने गरेको सम्झना गर्दै उनले लक्सम्बा प्राज्ञिक हुुनुकाका साथै समानताको आन्दोलन अभियन्ता पनि भएको बताए । नेपालका बारेमा बेलायतमा भएका प्राज्ञिक छलफल विरलै छुटाउने लक्सम्बाको प्रवासमा रहेका नेपालीका बारेमा स्तरीय जर्नल निकाल्ने योजना रहेको उनले सम्झिए ।
लक्सम्बाका जेठा छोरा बसन्त लक्सम्बाले आफूहरुका लागि आफ्ना पिताले कुनै कसर बाँकी नराखेको बताए । परिवारका अभिभावकीय जिम्मेवारीका साथै बुुहारी र नातिनातिनीहरुका पनि डा. लक्सम्बा अति प्रिय साथी रहेको उनले प्रष्ट्याए । लक्सम्बाको योजना नेपाल फर्कने र नेपालको शिक्षा क्षेत्रमा काम गर्ने रहेकोमा पछिल्लो १८ महिना नेपाल खुला विश्विद्यालयमा पाएको अवसरबाट उहाँ अति सन्तुष्ट भएको उनले बताए । ‘उहाँले कहिल्यै आफ्ना विद्यार्थीलाई नामले होइन, मेरो विद्यार्थी भनेर चिनाउनुहुन्थ्यो’ उनले भने ।
केन्द्रका अर्का सहकर्मी डा. गंगा दाहालले लक्सम्बाको निधन आफूहरुका लागि अपूरणीय क्षति भएको बताउँदै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा डा सङ्गीता श्रेष्ठले लक्सम्बाको सम्झनामा कविता प्रस्तुत गरेकी थिइन् ।
ताप्लेजुङमा जन्मिएका लक्सम्बाको ५९ वर्षको उमेरमा गत महिना बेलायतमा निधन भएको थियो । उनी अमृत साइन्स क्याम्पसबाट बीएस्सी गरेपछि बेलायती सेनामा भर्ती भएका थिए । सैन्य सेवामै रहँदा स्नातकोत्तर गरेका लक्सम्बाले सेनाबाट निवृत्त भएपछि बेलायतको सरे विश्वविद्यालयबाट पीएचडी गरेका थिए । उनी अमृत साइन्स क्याम्पसका पहिलो स्ववियू सभापति थिए ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश