बीबीसी मास्टरसेफका फाइनालिष्ट सन्तोष साहको नेपालमा भव्य स्वागत


काठमाडौँ। नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहेनत र सङ्घर्षले सफलताको शिखरमा पुर्याउने थोरै मात्र पात्र भेटिन्छन् । तीनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् युके’ को उपविजेता बन्नुभएको थियो । पाककलाका बादसाह मानिने सन्तोषको नेपालमा मात्र होइन, विश्वभर चर्चा चुलिएको छ । विश्वचर्चित सञ्चार माध्यमले साहलाई ‘सेलीब्रेटी’ बनाए । कारण थियो उहाँको सामान्य र सरल जीवन, दुःख, सङ्घर्ष, दैनिकी र सफलतासँग जोडिएका कथा । हो, आज उनै सेफ साह विश्वको नजरमा पर्न सफल भए, जसले नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेले ।

“नाम राख्नलाई नेपाली भएर जन्मिएपछि संसारमा सफलता पाउन कठिन छैन मेहेनत चाहिन्छ । विश्वबजार घुमेर नेपाली खानाको प्रवद्र्धन गर्ने योजना बनाएको छ”, बेलायतको चर्चित मास्टर सेफको उपविजेता बनेपछि पहिलोपटक आज नेपाल आउनुभएका सेफ साहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त कुराकानीका क्रममा भन्नुभयो ।

खाद्य गुणस्तर अभिवृद्धिबारे सचेतना फैलाउने उद्देश्यका साथ अघि बढ्ने योजना साहले सुनाउनुभयो । बेलायतमा छिट्टै रेस्टुरेन्ट सञ्चालन गर्ने र नेपालमा पनि रेस्टुरेन्ट खोल्ने योजना बनाउनुभएका साहले यसमा नेपाली सेफले अवसर पाउने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “मेहेनत नै हो हाम्रो सफलता, जति उपलब्धि छ, त्यसैमा खुशी हुन सिक्नुपर्छ । जब म ‘प्लास्टिकको झोला बेच्दथे र पाउरोटी बेच्थे त्यतिबेला पनि खुशी थिएँ, अहिले यो सफलतामा पनि खुशी नै छु ।”

अहिले जतिपनि सेफहरू हुनुहुन्छ उहाँहरूले नेपाली खाना जन्मेदेखि बनाएको र आफूले दुई वर्षदेखि बनाउन थालेकाले अझै नेपाली सेफहरूबाट धेरै सिक्नका लागि नेपाल आएको सुनाउनुभयो । “नेपालमा जन्मेपछि केही कुरा पनि गाह्रो हुँदैन । खाली सोच बनाएर कर्ममा तल्लीन हुनुपर्छ”, उहाँले अगाडि भन्नुभयो, “हाम्रो ‘फुड इन हाइजिन’ छैन”, चिसो खाना नखानु र बोतलबिनाको पानी नपिउनु भन्ने हाम्रो सन्देश हो । चिसो र बासी खानाले मानव शरीरलाई असर गर्छ । मेरो जति साथी हुन्छन् तातो खाना खानु, बोतलको मात्रै पानी पिउनु भन्ने मेरो सन्देश छ । विदेशीका लागि यो गुणस्तर कायम गर्नेपर्छ ।”

एउटा सामान्य नेपालीको छोरो यति ठूलो सफलतामा पुग्छ भन्ने विश्वासै थिएन । देशभित्र भान्से र खानाको लागि मान्यतै छैन । यो क्षेत्रमा पनि केही गरौँ भन्ने उद्देश्यका साथ लागि सङ्घर्षको यात्रा शुरु गरेको साहले बताउनुभयो । उहाँले सेफकै लागि १० वर्ष भारतमा काम गरेको भए पनि नेपालको खाना र नेपालको पहिचानको लागि केही गरौँ भनेर दिलैदेखि सोच आएको अहिलेको सफलता मिलेको बताउनुभयो । “अब, नेपालको खानाको गुणस्तर बढ्छ, खानाबाट पनि सरकारले आम्दानी गर्न सक्छ ।”

अहिलेको सफलतालाई लिएर अझै दोब्बर सफलता पाउने गरी नेपाल प्रवद्र्धनमा जुट्ने साहको भनाइ छ । साहले पाँच भाषामा पुस्तक प्रकाशन गर्दै हुनुहुन्छ । चर्चित पेन्गुइन पब्लिकेशनले साहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्नेछ । पुस्तक प्रकाशनको कामका लागि पनि आफू नेपाल आएको साहले बताउनुभयो । खानाको विश्वव्यापी ‘रोडम्याप’ बनाएको र लण्डनबाटै यो अभियान शुरु गरिने उहाँले जानकारी दिनुभयो । भान्सेको संस्कार नेपालमा छैन तर, सुधार गरे सम्भव हुन्छ । खाना सबैले बनाउँछन् गुणस्तरीय खानामा ध्यान दिनुपर्छ । सरसफाइ र स्वच्छतालाई अभियानकै रुपमा नेपाल अघि बढे सफलतामा पुग्न भन्ने उहाँको वाणी छ ।

नेपालमा के गर्दैछन् सेफ साह

प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको पहल र समन्वयमा नेपाल आउनुभएका साह करिब एक महिना नेपालमा रहनुहुनेछ । उहाँ पाटाको ४४औँ वार्षिक साधारणसभाको प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुनेछ । नेपाल पर्यटन बोर्डलगायत संस्थाले गर्ने कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । पाँच दिन होटल क्वारेन्टिन बसाइपछि पर्यटकीय गतिविधिमा सक्रिय हुनुहुनेछ । सामाजिक दूरीका साथ विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । काठमाडौँ पार्क भिलेज र टर्किज एयरवेजको सहकार्यमा पाटा नेपालको अग्रसरतामा सेफ साह नेपाल आउनुभएको हो ।

नेपालको पाकशास्त्रलाई व्यापक अनुसन्धान गरी पर्यटनका विविध विधामध्ये पाकवान पनि महत्वपूर्ण पाटो बन्न सक्ने भन्ने सन्देश दिनु पनि उहाँको नेपाल आगमनको उपलब्धि भएको पाटाका कोषाध्यक्ष खेम लकाईँले बताउनुभयो । नेपालका चर्चित सेफ गोविन्दनरसिंह केसीले नेपालको ४० वर्षे सेफ इतिहासमा नेपाल र नेपालको परिकारलाई विश्वभर चिनाउन सफल भएकामा खुशी व्यक्त गर्नुभयो । पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले सेफ साहको नेपाल आगमनले कोभिडबाट थलिएको मुलुकको पर्यटनलाई प्रवद्र्धनका साथै नेपाल गन्तव्यलाई खानाको माध्यमबाट विश्वभर पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसरी विश्वभर कहलिए…

बेलायतको चर्चित प्रसारण सेवा बिबिसीबाट प्रसारण हुने प्रतिष्ठित ‘मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा सहभागी सन्तोष साह उपविजेता बन्नुभएको थियो । संसारभरका विभिन्न कुइजिनका झण्डै तीन दर्जन सेफहरूले भाग लिएको उक्त प्रतिस्पर्धाको ‘ग्राण्ड फिनाले’सम्म पुग्ने अन्तिम तीनमा सन्तोष पनि हुनुहुन्थ्यो । ग्राण्ड फिनाले एपिसोडमा नेपाली ढाकाटोपीमा देखिएका सन्तोष दोस्रो बन्नुभयो । उहाँले अन्तिम प्रस्तुतिमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेर नेपाली प्रसंशा बटुल्नुभएको थियो ।

साहको यो सफलतालाई संसारभरका सञ्चार माध्यमले स्थान दिए । नेपालको पहिचानलाई विश्वभर फैलाउन र पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण सहयोग पुगेको छ । अन्तिम प्रतिस्पर्धामा सेफ साहले हड्डीवाला भैँसीको मासु, खोले साग, भेडाको गिदीलगायत परिकार पकाएर चरेशको थालमा पस्किनुभएको थियो । खानासँगै उहाँले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि ‘सर्भ’ गर्नुभएको थियो ।

बिबिसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो सेफ सन्तोषको फाइनलसम्मको यात्रा प्रभावशाली रह्यो, जसले उहाँलाई विश्वस्तरमा प्रतिष्ठित बनायो । सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचारलगायत दर्जनौँ मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किनुभएका साह देश विदेशका लाखौँ नेपालीको मन जित्न सफल हुनुभएको छ । नेपाली खानाको मौलिकता र विविधतालाई विश्वमाझ चिनाउनु नै आफ्नो प्रमुख लक्ष्य बताउने सन्तोषले भविष्यमा नेपाली खानाको प्रवद्र्धनमा निरन्तर जुटिरहने बताउनुभयो ।

विमानस्थलमा भव्य स्वागत

‘मास्टर सेफ युके’मा उपविजेता ‘फस्ट रनरअप’ भएका साह आज नेपाल आउनुभएको छ । मध्याह्न काठमाडौँ ओर्लिएका साहलाई विमानस्थलमा भव्य स्वागत गरियो । नेपालका सेफ तथा पर्यटन व्यवसायीले स्वागत गरेका हुन् । नेपालमा लामो समयदेखि काम गरेका ‘लेजेन्ट’ सेफ तथा युवा सेफहरूको उपस्थितिले माहोल निकै भावुक बनेको थियो ।

को हुन् साह

नेपालको सिरहाको करजन्हामा जन्मिएका साह हाल बेलायतमा बस्नुहुन्छ । सात दाजुभाइ दिदी बहिनीमध्ये उहाँ सबैभन्दा कान्छो सदस्य हुनुहुन्छ । सानै उमेरमा बुबाको साथ गुमाएका साहले १० वर्षको उमेरदेखि काम गर्न थाल्नुभयो । स्थानीय बजारमा प्लास्टिकको झोला बेच्नेदेखि पाउरोटी किनेर बेचेको पनि उहाँसँग अनुभव छ ।

नेपालमा कक्षा १० सम्म पढेका साहले एसएलसी उत्तीर्ण गर्न नसकेपछि कामको खोजीमा सन् २००० मा १५ वर्षको उमेरमै भारतको गुजरात पुग्नुभयो । उहाँले अहमदावादको एक रेस्टुरेन्टमा भाडा माँझ्ने काम शुरु गर्नुभयो । एकपछि अर्को होटलमा काम गरेर नयाँ अनुभव सम्हाल्नुभयो । कामकै सिलसिलामा पकाउन सिक्नुभयो अनि अङ्ग्रेजी भाषाको ज्ञान पनि लिनुभयो । पछि होटल व्यवस्थापनमा डिप्लोमा गरेर सात वर्षमै उहाँ एक पाँचतारे होटलको सेफ बन्नुभयो ।

सेफ साहले भारतमा खानेकुरा महोत्सवसमेत आयोजना गर्नुभयो । महोत्सवले साहबारे तारिफ बढ्यो । लगत्तै बेलायतबाट एक गुजराती व्यवसायीको सहयोगले सन्तोषलाई बेलायतमा रहेर काम गर्ने प्रस्ताव राखे । उहाँ सन् २०१० मा बेलायत जानुभयो र एक रेस्टुरेन्टमा काम गर्नुभयो । बेलायतकै ललित होटल र बनारसमा समेत काम गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री