आसफोर्ड । करिब एक हप्ताअघि बेलायतको पूर्वी दक्षिणी भेगमा पर्ने केन्टमा भारी हिमपात भयो । कठ्याङ्ग्रिदो चिसोले जनजीवन प्रभावित पारिरहेको समयमा एक हूल स्रष्टाहरू भने आफ्नो जोडीसँग प्रेमिल मुद्रामा देखा परे ।
आइतबार प्रणय दिवसका दिन विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले प्रेम सिर्जना वाचन कार्यक्रममार्फत् आधा दर्जन बढी स्रष्टा दम्पतीहरूलाई उभ्यायो । सहसचिव एवम् कवि लाहाङ चेम्जोङले कार्यक्रम थालनी गरेलगत्तै सङ्गीतकर्मी थिर थापा मगरलाई डाके । करिब चार वर्ष यता टाढा रहेकी आफ्नी पत्नी टुगा थापालाई समर्पित गर्दै उनले रोमान्टिक गीत गाए । काठमाडौँबाटै भर्चुअल रूपमा जोडिएकी थापा पत्नी हर्षित भइन् । उनले त्यहीँबाट थिरलाई रातो गुलाबको पूmल देखाइन् । दुवैको वार्तालाप हेरेर सहभागी सबै दङ्गदास परे । त्यसपछि, सचिव अमित थेवेको पालो आयो ।
‘पाङग्राको गोलाइ, पृथ्वीको घुमाइ
पानीको यात्रा, जीवनको जात्रा
भनेकै घुमिरहनुरहेछ ।
मेरो शीरमा पनि
तिम्रै तस्वीर घुमिरहेछ फनफनी ।’
कविता सुनाउँदै तीन वर्षभन्दा बढी समयदेखि भेट नभएकी धरानमा रहेकी आफ्नी जोडी शान्ति धिमाललाई कवि थेवेले भर्चुअल माध्यमबाटै फूल र उपहार दिए । सँगै छोटो प्रेमपत्र सुनाए । यति सुनेपछि उनकी पत्नीको आँखा एकाएक रसाएर आयो । उनले पनि थेवेलाई याक्थुङ लिम्बु समुदायमा अत्यन्तै अर्थपूर्ण मानिने साँस्कृतिक चिन्ह सिलाम साक्मा अर्पण गरिन् । यो दृश्यले एकैछिन सबैलाई भावुक बनायो । माहौललाई गह्रौँ हुन नदिन सञ्चालक चेम्जोङले तत्कालै स्रष्टा सञ्वीव पारदर्शीलाई बोलाए । ब्रिटिस गोर्खा सैनिकका रूपमा कार्यरत पारदर्शीले जागिरमै रहेको प्रमाण दिँदै सैन्य वर्दीमै गीतकार पत्नी सुष्मा रुपाबुङका लागि भन्दै गजल सुनाए । काखमा रहेकी दुई महिनाकी छोरी सिरिफालाई समात्दै सुनेकी रुपाबुङ मुस्कुराइन् ।
स्रष्टाहरूलाई हौसला दिन अध्यक्ष विजय हितानले आकस्मिक अतिथिका रूपमा निम्त्याएका कवि प्रज्ज्वल अधिकारी कीर्तिपुरबाट झुल्किए । उनले प्रेमको कुनै सीमाना नहुने बताउँदै आफ्ना दुई रचना सुनाएर बिदा भए । उनीपछि कवि औँतारी साइला तम्तयार भए । उनले प्रणय दिवसकै शीर्षकमा कविता सुनाए । उनीपछि, विनेसाम पश्चिम यूकेबाट देवी आले रचना लिएर आइन् । त्यसपछि, पश्चिमबाटै अध्यक्ष लालसुन्दर राईले एक थान कविता पस्के ।
घाम डुब्दै गइरहेको बेला सर्जक सुरेन्द्र इङनामले बाँसुरी निकाले । र, ‘यति चोखो यति मीठो दिऊँला तिम्लाई माया’ गीतको बोलमा औँला नचाए । उनले गीति कविता पनि थपे ।
‘भ्यालेन्टाइन डे त यस्तो होस्
साँचो मायामा छेकबार नहोस्
जात, धर्म र वर्गको विभेद नहोस्’
कवि विश्वासदीप तिगेलाले पनि आफ्नी धर्मपत्नी भोजकुमारी थोक्लेनलाई साक्षी राखेर केही पङ्क्तिका गाँठो फुकाले । उनीपछि कवि थेवेले सञ्चालक चेम्जोङको नाम लिए ।
‘त्यो दिन नबोलेरै,
तिमी उकालो लाग्यौ
म ओरालो झरेँ ।
तिम्रो धमिलो चेहरा सम्झेर
चम्किलो बनाउन केही समय लाग्यो ।’
‘क्रसको सम्झनामा’ कविता सुनाउँदै उनले विवाहअघि हुने भौतिक आकर्षणबारे आफ्ना अनुभव सेयर गरे । कार्यक्रमलाई बिट मार्नुअघि विनेसाम साउथ यूकेका अध्यक्ष विजय हितानले आफ्नी पत्नी एवम् कार्यक्रमका परिकल्पनाकार कल्पना हितानलाई बोलाए । प्रथम महिलाको उपस्थितिमा उनले ‘हिउँको सिन्दूर’ सुनाए । कार्यक्रममा उपस्थित भएका बीएफबीएसका निर्देशक समेत रहिसकेका खेम गुरुङले स्रष्टाहरूको परिवारमा प्रेमको भावना दर्शिएको देखेर आफूमा बेग्लै उत्साह आएको प्रतिक्रिया दिए ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश