हङकङका बीएनओले आजदेखि बेलायत आउन निवेदन दिन पाउने

लण्डन । ब्रिटिश न्याशनल ओभरसिज (बीएनओ) परिचयपत्रबाहक हङकङबासीले आइतबारदेखि बेलायत आउनका लागि निवेदन दिन पाउने छन् ।

हङकङमा चीन सरकारले सुरक्षा सम्बन्धी नयाँ कानुन ल्याएपछि त्यसले हङकङ चीनलाई हस्तान्तरण हुँदा गरिएको सहमति उल्लङ्घन भएको ठहर गरी बेलायतले ब्रिटिश न्याशनल परिचय पत्र बाहकहरुलाई बेलायत ल्याउने योजना बनाएको हो।

ब्रिटिश न्याशनल परिचय पत्र पाएका र उनीहरुको परिवारले शुरुमा पाँच वर्षका लागि बेलायतमा बसोबास गर्न र काम गर्ने अधिकार पाउनेछन् । तत्पश्चात बेलायतको नागरिकता पनि पाउन सक्नेछन् । ब्रिटिश न्याशनलका आमाबाबा, हजुरबुबा, हजुरआमा, नाति नातिना समेतले बेलायतको आवासीय अधिकार पाउनसक्ने छन् ।

आगामी पाँच वर्षमा करिब ३० लाख हङकङबासीले बेलायत प्रवेशका लागि आवेदन दिने बेलायतको गृह मन्त्रालयले अपेक्षा गरेको छ । मन्त्रालयका अनुसार करिब ७ हजार जनाले हालसम्ममा सो योजनाअन्तर्गत बेलायत बसोबासको अधिकार पाइसकेका छन् ।

ब्रिटिश न्याशनलहरुले आइतबारदेखि बेलायत आउनका लागि अपोइन्टमेन्ट बुक गर्न पाउने छन् र फेब्रुअरी २३ देखि बायोमेट्रिक राहदानी भएकाहरुले सोझै अनलाइनबाट आवेदन गर्न पाउनेछन् ।

चीनद्वारा बीएनओलाई मान्यता दिन अस्वीकार

बेलायत सरकारको कदमको विरोधस्वरुप चीनले ब्रिटिश न्याशनल ओभरसिज परिचय पत्रलाई मान्यता दिन अस्वीकार गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ झिजियानले आइतबारदेखि ब्रिटिश न्यानशल ओभरसिज परिचय पत्रलाई मान्यता नदिने निर्णय गरिएको बताएका छन् । बेलायतले चीनकाे आन्तरिक मामिलामा हस्तक्षेप गरेका कारण सो निर्णय लिनु परेको उनले प्रष्ट्याएका छन् ।

चीनको सो निर्णयका कारण अब ब्रिटिश न्यानलहरुले हङकङ छोड्दा राहदानी वा अरु नै परिचय पत्र देखाउनु पर्नेछ । यसअघि ब्रिटिश न्याशनल परिचय देखाएर हङकङ छोड्न वा प्रवेश गर्न पाइन्थ्यो ।

बीएनओ परिचय पत्रलाई खारेज गर्दैमा बेलायत आउन रोक्न सकिँदैन : सोलिसिटर तिगेला

बीनएनओ परिचय पत्रलाई खारेज गर्ने चीन सरकारको निर्णयबाट हङकङ छोड्न चाहनेहरुलाई खासै असर नपर्ने विगतमा हङकङमा बसोबास गरेका र हाल लण्डनमा रहेका सोलिसिटर उत्तरमान तिगेला बताउँछन् । बेलायत र चीन बीचकाे राजनीतिक लडाइँका कारण एउटाले बीएनओ परिचय पत्रबाहकलाई नागरिकता दिने अर्कोले सो परिचय पत्रलाई नै मान्यता नदिने निर्णय गरेको उनको विश्लेषण छ । ”चीनले बीएनओ परिचय पत्रलाई मान्यता नदिनु भनेको बीएनओहरुलाई बेलायत आउन नदिई हङकङमै रोक्न प्रयास गर्नु हो”, उनले भने । तर धेरैजसो हङकङबासीहरुसित हङकङ विशेष प्रशासनिक क्षेत्रको राहदानी भएको र नेपालीहरुसित नेपालकै राहदानी भएका कारण बेलायत आउन चाहनेहरुलाई चीन सरकारले रोक्न नसक्ने उनले बताए ।

बेलायतको भिसा आवेदन गर्दा पनि बीएनओ परिचय पत्र देखाउन नपर्ने भएकाले चीन सरकारको निर्णयको व्याबहारिक असर नहुने तिगेलाको ठहर छ । ”बीएनओ परिचय पत्र ट्राभल डकुमेन्ट मात्र थियो । एकपटक बीएनओमा सूचीकृत भएका सबैले बेलायत आउन पाउने र म्याद बहाल रहेको परिचय पत्र पनि देखाउनु नपर्ने भएकाले यसले भिसा पाउनमा खासै असर गर्दैन तर मानसिकरुपमा भने प्रभाव पार्न सक्छ” उनले भने ।

चीनले ल्याएको नयाँ सुरक्षा कानुनका कारण हङकङमा रहेका नेपालीहरुलाई पनि चिन्तित बनाएको उल्लेख गर्दै उनीहरु भविष्य बेलायत राम्रो हुने निस्कर्षमा पुगेको तर आम्दानीका हिसाबले हङकङ राम्रो भएकाले दोधारमा परेको पनि तिगेलाले बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री