डा. लक्सम्बाप्रति विभिन्न संघसंस्थाद्वारा शोक व्यक्त

लण्डन । मस्तिक घातका कारण मंगलबार निधन हुनुभएका डा. चन्द्र लक्सम्बाप्रति बेलायतमा रहेका विभिन्न स‌ंघसंस्थाले शोक बक्तब्य जारी गरेका छन् ।

लक्सम्बा पूर्व कार्यकारी निर्देशक रहेको बेलायतस्थित नेपालीहरुको वुद्धिजीवीहरुको संस्था सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले स‌ंस्थाका संस्थापक सदस्य डा लक्सम्बाको निधनले दुखीत भएको बताएको छ । विगत तीन वर्षदेखि नेपाल खुला विश्वविद्यालयमा प्राध्यापनरत लक्सम्बाको निधनले एक असल मित्र, विश्वासिलो सहकर्मी त्यसभन्दा पनि माथि राम्रा प्राज्ञ, अनुसन्धाता र सामाजिक अभियनता गुमाउनु परेको सिएनएस युकेले जनाएको छ । सिएनएस युके, बेलायतमा रहेको नेपाली समुदाय र सबै नेपालीका लागि उहाँको पुर्याएको योगदान सदा स्मरणीय रहेको बक्तब्यमा उल्लेख छ ।

यस्तै, गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईले एक वक्तब्य जारी गर्दै संस्थाका सल्लाहकार तथा गोरखा प्राविधिक समितिका सदस्य डा. चन्द्र लक्सम्बाको निधनबाट एक कुशल ब्यक्ति र कुशल सल्लाहकार गुमाएको बताएको छ । गोरखा समस्या समाधानका लागि गठित गोरखा प्राविधिक समितिका सदस्यका हैसियतले उहाँले दुईसय पाँच वर्षदेखि गोरखाहरु माथि भएको विभेद अन्त्यको लागी बेलायत सरकारको प्रतिनिधि, नेपाली राजदुताबास र गोरखाहरुबीच विभिन्न चरणको वार्तापस्चात एक ऐतिहासिक १३ बुँदे प्रतिवेदन तयार पार्नमा उहाँको अहम भूमिका रहेको बक्तब्यमा उल्लेख थियो ।
डा. लक्सम्बा स्पष्ट वक्ता हुनुका साथै गेसोलाई सामूहिक सल्लाह दिँदै गेसोको योजनालाई सफल बनाउन जहिले पनि स्फूर्त रुपमा लागी पर्नु भएको गेसोले बताएको छ । उहाँको सल्लाह र सुझावले निर्भिकताका साथ गेसोलाई योजना अगाडि बढाउन हौसला प्राप्त हुने गरेको स्मरण गर्दै उहाँलाई गुमाउनु पर्दा गेसोलाई मात्रै नभै सिंगो गोरखा आन्दोलनलाई अपूरणीय क्षति पुगेको बक्तब्यमा बताइएको छ ।

यसैगरी, यस नेपाल पत्रकार महासंघ बेलायत शाखाले शाखाका पूर्व सल्लाहकार, युरोपको नेपालीपत्र साप्ताहिक तथा गोरखा आवाज पाक्षिकका पूर्व सम्पादक, युकेका नेपाली समुदायका एक अग्रज डा. चन्द्र लक्सम्बाको निधनबाट शाखा स्तब्ध र मर्माहत भएको बताएको छ ।
डा.लक्सम्बाको निधनले बेलायतस्थित नेपाली समुदायले एक अभिभावक, पथ प्रदर्शक र असल अभियन्ता गुमाएको र सिंगो नेपालले एक होनहार प्राज्ञ गुमाउन पुगेको शाखाले बताएको छ । नेपालीहरुले भर्खरभर्खर बेलायतको आवासीय भिसा पाउन थालेको अवस्थामा स्वर्गीय लक्सम्बाले बेलायतमा नेपाली पत्रकारिताको जग बसाउनका लागि दिनुभएको महत्वपूर्ण योगदानको सदा स्मरण गरिरहने शाखाले बताएको छ ।

यस्तै, नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) ले महासंघका सल्लाहकार डा. चन्द्र लक्सम्बाको असामयिक निधनले बेलायतमा रहेका नेपाली आदिवासी जनजातिहरु मर्माहत र भावविह्वल भएको बताएको छ । लक्सम्बा एक अविभावक तथा मार्गनिर्देशक हुनुभएको र गोर्खा आन्दोलनको एउटा खम्बा हुनुभएको नेफिन युकले बताएको छ । सीमान्तकृत समुदायहरुका लागि पनि कलम चलाउनु हुने डा लक्सम्बाले जनजाति आन्दोलनलाई पनि एक वा अनेक प्रकारले सहयोग गर्दै आउनुभएको वक्तब्यमा उल्लेख छ । उहाँको देहावसानले बेलायतको नेपाली समाज, गोेर्खा समुदाय, किराँत लिम्बू समुदायलाई मात्रै नभएर पुरै देशलाई नै अपूरणीय क्षति पुगेको र उहाँको वौद्दिकताको अभाव नेपाली समाजलाई सधैं महसुस भई नै नेफिनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री