मंगलबार, फागुन २५ २०७७ | Tue, March 09, 2021
नेपालको समय: ०६:२२ | UK Time: 00:37

कोभिड-१९ को हाउगुजी

कल्पना आङबुहाङ
२०७७ माघ ५ गते १२:११

हाउगुजी आयाे । आजभाेलि जतासुकै हाउगुजी देख्छु । बालपन घरमा हामीलाई केही डर त्रास देखाउनलाई ‘हाउगुजी आउँछ’ ‘हाउगुजीले खान्छ’, ‘हाउगुजी यहाँ छ’, ‘खाट मुनि छ’, ‘दैलाेकाे ठेला(काप) मा छ’ भनेर डर देखाउने गर्थे । हामी दैलाेकाे ठेला र खाटमुनि आँखा छलेर मात्रै हेर्न खाेज्थ्यौं । कति कुराहरु बालपनकाे भाँडाकुटी खेल र बालपनकाे डर त्रासमा तर्साउने खेलहरु आज सत्य जस्तो लाग्छ । कोभिड १९ ले विश्व जगतमा मानवमाथि नै धावा बाेल्दैछ । अझै हामी मान्छे हुँ भनेर सृष्टिलाई चुनौती दिने मान्छे हामी आज केवल मुकदर्शक बनेको छौं । हाम्रो हातमा केही छैन । हामी आज सृष्टिभन्दा पनि भिन्न तरिकाले चल्न बाध्य छौं । हामीले साेचे जस्तो खान, लाउन, हि‌ंड्न, डुल्न, घुम्न कुनै पनि काम कुरामा हाम्रो स्वतन्त्रता नै छैन । एक किमिसले हामीमाथि स्वास्थ्य र सुरक्षाको कारणले स्वतन्त्रता खाेसिएकाे छ तर हामीलाई ज्यानकाे माया र अन्य धेरै कुरामा ख्याल राख्न पर्ने छ । हरेक कुरामा हामी बन्देज छौं । खुशीले खान पनि सक्दैनौं । खुशीले बाँच्न पनि सक्दैनौं । हरेक पलकाे समाचारले र सामाजिक संजालकाे खबरदारीले हामीलाई खुशीभन्दा धेरै त डर, त्रास अनि चिन्तामा बाँच्नु छ ।

विभिन्न समाचारले झन् झन् चिन्तित बनाएको हुन्छ । बिहान आँखा खुलेदेखि साँझ आँखा बन्द नभएसम्म अनेकौं खाले समाचारले दिमाग खलबलाउँछ । आफ्नो मनलाई सम्हाल्दा सम्हाल्दै पनि कहिलेकाहीँ मनहरु खलबली र बिचल्ली भइरहेका छन् । दिनानुदिनकाे कोभिड संक्रमितको संख्या , मृत्यदर संख्या देख्दा सुन्दा मुटु थरथर काँप्छ । भनिन्छ डर लुकाउने ठाउँ छैन र हुँदैन । हामी मान्छे हौं भनेर घमण्ड गर्नेहरु आज यसरी अर्काकाे इशारामा चल्न बाध्य छौं । इशारा पनि कति भयानक र भयावह खालको छ हामी र हाम्रो हातमा केही छैन । बेलायतको कुल जनसंख्या कति छ मलाई एकिन भएन तर अहिले यहाँ दिनकाे कोभिड संक्रमितको संख्या ६८ हजार अनि बितेको २४ घन्टामा मृत्युदर दिनकाे १३ /१५ सय जति भइरहेको छ । यस्तो खबर सुन्दै गर्दा आफ्नो पालाे कहिले आउने जस्तो लाग्छ । सुन्छु कहिले फलाना ठाउँको बितेको मान्छे यति वर्षकाे रे, उति वर्षकाे रे । ६० वर्ष भन्छन्, ७० वर्षकाे भन्छन् । फलाना ठाउँको ५० वर्ष उमेरको मृत्यु भयो रे भन्छन् । आफ्नो उमेर पनि ५० भएकोले हाेला कता कता ज्यान जिरिङ हुन्छ ।

महामारीको साथै यही बेलायतमा हाम्रो समाजमा अनेकौं समाचारहरु सुन्नमा आएको छ । एकजना भाइ सफल कलाकार, लाेकदाेहाेरी गायकले आत्महत्या गरेछन् । सत्यतथ्य के हाेला ? आफूलाई समाप्त गर्नु पर्ने दिन किन आयाे उनलाई ? अर्को एकजना नेपाली भाइलाई बाटोमा हिँडदा हिँड्दै हत्या गरेछन् । अर्को खबर एउटा घरमा बस्ने छिमेकी छिमेकी बिच कुटाकुट काटाकाट समेत भएको समाचार छ । हामी त्यसै त महामारीले चाहेभन्दा धेरै त्रसित भएको छौं । यस्तै बेला मारामार कुटाकुट आत्महत्याले अझै कति भयभीत हुने ? हामी मान्छे कति लाेभिपापी छौं ? आजको स्थितिमा पनि हामीलाई लाेभ र पापले छाेडेकाे छैन । हामीलाई थाहा छ कि भाेलिको दिन सुरक्षित छ या छैन । तरै पनि हामी लाेभ र पाप घमण्ड अहमता छाेड्न तयार छैनौं ।

अलिकति राजनैतिक पक्षलाई पनि छुन मन लाग्यो । म पनि राजनीतिमा केही थाेरै चासो चिन्ता राख्छु । त्यसैले केही भन्न मन लाग्यो । हामी नेपाली भएकोमा सबै कुरामा गर्व गर्न मन लाग्छ तर नेपाल राजनीतिक खिचातानी र राजनीति स्थिरता कायम नभएको कारण दुख्ख लाग्छ । नेपालकाे राजनीतिक परिप्रेक्ष्यलाई हेर्ने हाे भने नेताजीहरुकाे यही हविगत रहिरह्यो भने कार्यकर्ताले कुनै केही राजनीतिक भविष्यकाे आशा नगरे हुन्छ । नेपालमा कुनै एक नेताले अर्को नेताकाे कहिले शुभेच्छा लिन मान्दैन । कसरी हुन्छ उसको नाश र समाप्ति जस्ता खराब नियत राख्छ । यदि यस्तो नहुँदाे हाे त अहिलेकाे हाम्रो नेपालकाे राजनीतिक स्थिति यस्तो हुने थिएन । देश र जनताको चिन्ता कहिले काेही नेताले लिँदैन । यस्ता कार्य हेरेर नेपालकाे विकासकाे कुनै आशा राख्न ब्यर्थ हुन्छ । यातायात, बाटो, खानेपानी, बिजुली बत्ती, स्वास्थ्य, शिक्षा सबैभन्दा पछुवा भएको छ । कसैले मतलब राखेको, चिन्ता गरेको देखिन्न, सुनिँदैन । याे अवस्थामा महामारीले जनताहरु सबै क्षेत्रमा अस्तब्यस्त छन् । बिरामीकाे लागि औषधि छैन । गाडी चल्नलाई पेट्रोल छैन । धारामा पानी छैन । चुलामा ग्याँस छैन । काठमाडौ उपत्यका संसारकाे प्रदुषित शहर भनेर नामांकित भएको छ तर हाम्रो आदरणीय नेताज्यूहरु राजनीतिक भागभण्डा अनि कुर्सीकाे हानाहान र मारामारमा ब्यस्त छन् । कठै मेरो देश र म देशको चिन्तन बाेक्ने एक नमुना मान्छे !

अझै पनि बेलायतको वर्तमान समयलाई नै केही प्रस्तुत गर्न चाहेँ । युकेमा कोभिड भ्याक्सिन बाँड्न थालेको समाचारले आफूलाई मनमा केही राहत मिल्छ तर आफूलाई भ्याक्सिन कहिले पाउँने भन्ने अझै टुङ्गो छैन । बेलायतमा आफ्नाहरुकाे मृत्युदर दिनानुदिन बढेको छ । याे लेख लेख्दै गर्दाकाे ताजा र आलाे घटना नेपालबाट बेलायत आईपुगेकाे १८ दिनमा एक जनाको मृत्यु भयो । अर्को घटना नेपालबाट १३ तारिख युके आएको १५ तारिखमा मृत्यु भयो । यस्तो भयानक समाचारहरु सुनिँदै छ हाम्रो नेपाली समुदायको । अन्य समुदायको बारे हामीलाई खासै चासो नभएर हाेला । धेरै कुरा थाहा हुँदैन । अन्त्यमा हामी हाम्रो कसरी सुरक्षा गर्ने र कसरी सुरक्षित रहने भन्नेमा चिन्ता छ । सबैभन्दा ठूलो आत्मविश्वास, साहस र हिम्मतले बाँच्नु नै उत्तम तरिका हाेला तर मेराे लेखमा म निकै डराएको कथा छ तर म पटक्कै डराएको भने हाेइन । स्वस्थ्य रहुँ, सुरक्षित रहुँ । आफू पनि बाँचौं र अरुलाई पनि बचाउँ ।

ताप्लेजुङ प्रदेश नं १ आठराई त्रिवेणी गाउँपालिका वडा नं ३ हाल : बेलायत

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक