एनआरएनए विवाद सहमति नजिक

लन्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न विशेष महाधिवेशनमा एउटै प्रस्ताव लग्न सहमति बन्न लागेको छ । संघका पदाधिकारीहरु तथा परराष्ट्र मन्त्रालयमा उजुरी दिने पक्ष बीच पटक पटक भएका वार्ता सहमति नजिक पुग्न लागेको हो ।

संस्थापन पक्ष र असन्तुष्ट पक्षवीचका वार्तामा संघका अध्यक्ष कुमार पन्त,  सल्लाहकार कुल आचार्य, उपाध्यक्षद्वय मन केसी, रवीना थापा, महासचिव डा. हेमराज शर्मा लगायतका पदाधिकारीसहित क्षेत्रीय संयोजक र आइसीसी सदस्यहरु सहभागी थिए ।

स्रोतका अनुसार सहमतिको खाका बनाउन उपाध्यक्ष मन केसी र पूर्व प्रवक्ता भुषण घिमिरेलाई जिम्मा दिइएको छ । उक्त सहमतिको खाकाअनुसार नै २३ र २४ जनवरीको विशेष महाधिवेशनमा एजेण्डा पेश गरिने गरि सहमतिको नजिक पुगेको एक पदाधिकारीले बताए । उनकाअनुसार विशेष महाधिवेशनमा विधान संशोधनका लागि भोटिङ नगर्ने र सहमतिमै निर्वाचन समिति, आगामी महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको टुंगो एक महिना अघि नै लगाउने लगायतका बिषयमा सहमति बन्नेछ ।

केही दिन पछि बस्ने अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) बैठकमा सहमतिको एजेण्डा पारित गरि विशेष महाधिवेशन गरिने बताइन्छ । एनआरएनए उच्च स्रोतका अनुसार परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पनि सहमतिमा अघि बढन संघका  अध्यक्ष कुमार पन्तलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री