लिम्बुवान नागरिक समाज यूकेको साधारणसभा हुँदै

लन्डन । लिम्बुवान स्वायत्तताको पक्षमा सामाजिक ढङ्गले एक दशकभन्दा बढी समयदेखि क्रियाशील रहेको लिम्बुवान नागरिक समाज यूकेले आफ्नो आठौँ साधारणसभा सम्पन्न गर्ने भएको छ ।
केही समसामयिक विषयहरूमा महत्वपूर्ण निर्णय गर्न समेत समाजले साधारणसभा डाकेको हो ।
जनवरी १६ तारिखमा भर्चुअल माध्यम (जुम)मार्फत आठौँ साधारणसभा आयोजना हुने गरी सूचना प्रकाशित गरिसकेको अध्यक्ष छत्र वनेमले बताए । उनका अनुसार साधारणसभाले साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र विभागीय प्रतिवेदनहरू पारित गर्नेछ । यसैगरी, प्रदेशको पुनः संख्याकरण र नामाकरणसहित लिम्बुवानको नाम सुनिश्चित गराउन साधारणसभाले थप केही निर्णयहरू गर्ने समेत जानकारी दिए ।
त्यसैगरी, समाजका महासचिव लाहाङ चेम्जोङले कोभिड महामारीका कारण पुराना निर्णयहरूको कार्यान्वयनमा असर पुगेको स्वीकार्दै स्थिति साम्य हुनेबित्तिकै आफ्नो अभियानले गति लिने बताए । उनले संयुक्त लिम्बुवान आन्दोलनबाट मात्रै लिम्बुवान प्राप्त हुने भन्दै समाज एकीकृत शक्तिको पक्षमा रहेको जनाए । साधारणसभामा कार्य समिति, सल्लाहकार, संस्थापक, सामाजिक संघसंस्था, राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुने महासचिव चेम्जोङले बताए ।
नेपालमा सङ्घीयताको आन्दोलन चर्किरहँदा यूकेमा बसोबासमा गरिरहेका समर्थकहरूको भेलाले सन् २००९ सेप्टेम्बरमा स्व. प्रसाद थेवेको अध्यक्षतामा लिम्बुवान नागरिक समाज यूके(तत्कालीन लिम्बुवान स्वायत्त नागरिक एकता समाज यूके) गठन गरेको थियो । समाजले पटकपटक विभिन्न अवसरमा पूर्वमा ऐतिहासिक शाषकीय पृष्ठभूमिका आधारमा लिम्बुवान प्रदेश कायम हुनुपर्ने माग अगाडि सादै आएको छ । नेपालमा हाल सात प्रदेशहरू रहेका छन् । लिम्बुवान दाबी गरिएको प्रदेश एकको नाम र राजधानी अझैसम्म पनि टुङ्गो लाग्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री