बेलायतमा संयुक्त राष्ट्रवादी नेपाली संगठनको भर्चुअल पृथ्वी जयन्ती

लण्डन । बेलायतमा श्री ५ पृथ्वीनारायण शाहको २९९ औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस सोमबार भर्चुअल रुपमा मनाईएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन युकेको आयोजनामा बेलायत र नेपालका वुद्धिजिवीहरुको सहभागितामा उक्त दिवस भर्चुअल रुपमा मनाइएको हो ।
दिवसमा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जंगमान गुरुङले पृथ्वीनारायण शाहले विभिन्न जातजातीहरुलाई एक गरी सैन्य शक्ति बनाइ देश एकीकरण गरेको बताए । सिन्धुलीगढीको लडाईमा शाहले विश्वको कुनै पनि देशमा नहारेका अँग्रेजहरुलाई परास्त गरेको भन्दै उनले प्रयोग गरेको सैन्य रणनीति निकै उत्कृष्ट रहेको बताए । उनको त्यो सैन्य रणनीति सबल भएकै कारण संसारका कुनै पनि वैरीले उनलाई जित्न नसकेको र नेपाल एकीकरणको सपना साकार भएको उनको भनाई छ । पृथ्वीनारायण शाहले राई लिम्बू देखि सबै जातजाातीलाई समेट्दै चार जात छत्तीस बर्णको फूलबारीको अभियान थालेर देश एक बनाएको भन्दै प्रसंसा गरे ।
राजनैतिक विश्लेषक डा. केसीले पृथ्वीनारायण शाहका बारेमा ५ पक्षको चर्चा गरे । ,शाहको कामलाई कतिले नेपाल राष्ट्रको एकीकरण भनेको त कसैले गोर्खा राष्ट्रको बिस्तार पनि भनेको र यसलाई कसरी हेर्ने ? कस्तो ऐतिहासिक परिवेशमा पृथ्वीनारायण शाह आउनुपरेको थियो ? उनले चालेको कदमको औचित्य, यसको नेपाली राजनीतिमा पुष्टि भयो वा भएन तथा शाहको योगदानको आजको सन्दर्भ गरी ५ विषय छन, डा. केसीले भने । आफ्नो बाबुको अभियान असफल भएपछि सानो राज्यको विस्तारको अभियान शुरु गरी सिंगो देश बनाएको इतिहासविद् केसीको भनाई थियो । उनले पृथ्वीनारायणले गोरखा राज्य मात्र विस्तार गरेको भए आज देशको नाम नै गोरखा अधिराज्य हुने भन्दै त्यसरी नबुझ्न आग्रह गरे । उनले गोरखा राज्य विस्तारबाट शुरु भएको अभियान नेपाल देश बनाउने कुरामा टुंगिएको बताउँदै शाहलाई गोर्खा राज्य विस्तारक नभनी नेपाल एकीकरण गर्ने व्यक्तिको रुपमा सम्मान गर्नुपर्नेमा जोड दिए।
नेपाली दुतावास लण्डनका डेपुटी चिफ अफ मिसन रोशन खनालले पृथ्वी नारायण शाहलाई बेलायतमा पनि सम्झिनुले यहाँ बस्ने नेपालीहरुको जन्मभुमी प्रतिको माया र सम्मान भावका रुपमा आफुले बुझेको बताइन । उनले नेपाल राष्ट्र निर्माणका लागि गर्ने कार्यहरुका लागि दुतावास हातेमालो गर्न सधै तयार रहेको जनाइन् । समाजसेबी एबंम यती नेपाली एसोसिएसन यूकेका प्रमुख सल्लाहकार ओबिइ डा. राघव धिताल पृथ्वी नारायण शाहको योगदानको चर्चा गरे । नागरिक समूह नेपालका अध्यक्ष निगम हुमागाईंले पृथ्वी नारायण शाहको व्यक्तित्व तथा ऐतिहासिक पक्षबारे धारणा राखेका थिए । देश चार जात छत्तीस वर्णको फूलबारी हो भन्ने शाहले सबैको अस्तित्व कायम राखेको जनाए । उनलाई राजनीतिक वाद, पार्टी वा भेदभाव भन्दा माथि राखेर राष्ट्र निर्माणकर्ताका रुपमा हेरिनुपर्नेमा पनि जोड दिए ।

संगठनका अध्यक्ष भरत क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी मदन थापाले कार्यक्रमको सुभारम्भमा मंगल धुन सहित सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले पृथ्वीनारायणको योगदानको सबैले सम्मान गर्दै राजाको विषयमा मात्र उनको योगदानलाई तुलना गर्न नहुने बताए । पृथ्वी जयन्ती सम्बन्धी कविता वाचन समेत कार्यक्रममा गरिएको थियो ।
संस्थाका अध्यक्ष क्षेत्रीले अतिथिहरुलाई स्वागत गरेका थिए । कार्यक्रमको पहिलो सत्रको औपचारिक कार्यक्रमको सञ्चालन एनआरएनए यूके सचिव, यती नेपाली एसोसिएसन यूके सामाजिक सचिव जित रानाभाट तथा दोस्रो सत्रको कार्यक्रम सञ्चालन चेतमान केसीले गरेका थिए ।
कार्यक्रममा यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष ध्रुव केसी, यती पूर्व अध्यक्ष चिरन्जिवी ढकाल, पूर्व अध्यक्ष उमेशराज मोक्तान,नेपाली साहित्य विकास परिषद यूकेका अध्यक्ष कोमल मल्ल श्रेष्ठ, समाजसेवी साहित्यकार बिभिन्न कृतिका लेखक विकल चन्द्र आचार्य, नेपाली साहित्य विकास परिषद यूकेका संस्थापक अध्यक्ष सुरेशजंग शाह,नेपाल प्रहरीका पूर्व डिएसपी बाचस्पति रेग्मी, नेपाली वेलफेयर सोसाइटी यूके अध्यक्ष धन बहादुर सार्की, एनआरएनए आइसीसीद्वय सदस्य रामशरण सिम्खडा र ललित न्यौपाने, वंशज नागरिकता निरन्तरता महा(अभियानका संयोजक खगेन्द्र पाठक,समाजसेवी कृष्णजंग साह, साहित्यकार हरिसिंह थापा, नेपाली सेनाका सेनानी कुमार बस्नेत, समाजसेवी साहित्यकार एबम कबि रेसम अर्याल, चिरन्जिवी पौडयाल, ठकुरी समाज यूकेका अध्यक्ष, राम राजा मल्ल लगायत उपस्थिती थिए ।

संगठनका अध्यक्ष भरत रोका क्षेत्रीले स्वागत भाषण गदै पृथ्वीनारायण शाहको योगदानलाई सबैले कदर र सम्मान गर्नुपर्ने बताए । उनले शाहको योगदानले मात्रै देश आज एकीकृत भएको जनाए । कुनै पनि देशले नेपलमाथि धावा बोलेको सहन नसकिने भन्दै उनले यसका विरुद्ध सबै नेपाली एक भएर लाग्नुपर्ने बताए । ,देशमा अहिले आतंककारीहरुको शासन चलिरहेको भन्दै यिनीहरुलाई परास्त गरेर युवाले देश हाक्ने युग आएको छ, उनले भने ‘हामी युवा कार्यकर्ताले यो देश बचाउनुपर्छ, पृथ्वीनारायणले आर्जेको देश जस्ताको तस्तै हाम्रा सन्ततिलाई दिनुपर्छ, शताब्ति सम्म यो पहिचान बचाउनुपर्छ।’ क्षेत्रीले अर्को बर्ष शाह जन्मेको तीन सय बर्ष पुग्ने दिनको कार्यक्रम विशेष रुपले मनाउने भन्दै विशेष वक्तालाई एक लाखे पुरस्कारको घोषणा समेत गरे ।
भरत क्षेत्रीको एक्लो प्रयासमा संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले राजतन्त्र हटाइएपछिको प्रतिकुल परिस्थितिमा पनि विगत १२ वर्षदेखि पृथ्वी जयन्ती निरन्तर मनाउंदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री