बेलायतद्वारा कोभिड-१९ विरुद्धको तेस्रो खोपलाई पनि स्वीकृति

लण्डन । बेलायतले कोरोना भाइरसविरुद्धको तेस्रो खोपलाई पनि बेलायतमा लगाउनका लागि अनुमति दिएको छ ।

अमेरिकी कम्पनी मोडर्नाले विकसित गरेको खोपलाई बेलायतमा लगाउनका लागि बेलायतको मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्टस रेगुलेटरी एजेन्सी (एमएचआरए) ले शुक्रबार अनुमति दिएको हो ।

बेलायतले सो खोपको १ करोड ७० लाख डोज अर्डर गरेको छ । तथापि सो अर्डर आउने मार्च/अप्रिल तिर मात्र बेलायत आइपुग्ने अनुमान गरिएको छ ।

मोडर्नाको खोप र फाइजरको खोप एउटै विधिबाट बनाइएको हो । तर मोडर्नाको खोपलाई माइनस २० डिग्री सेन्टीग्रेडमा राख्न वा ओसारपसार गर्न मिल्ने बताइएको छ । त्यसैले यो फाइजरको खोपभन्दा सजिलो हुने विश्वास गरिएको छ । यो खोपको पनि दुई डोज दिनुपर्ने हुन्छ ।

मोडर्नाको खोपलाई अमेरिका र युरोपले पनि मान्यता दिइसकेका छन् । अन्तिम परीक्षणमा करिब ३० हजार मानिसमा परीक्षण गरिएको यो खोप कोरोना भाइरसबाट मानिसलाई बचाउन ९५ प्रतिशत प्रभावकारी रहेको परीक्षणमा देखिएको थियो ।

बेलायतले यसअघि नै फाइजर र अक्सफोर्डको खोपलाई स्वीकृति दिनुका साथै लगाउन पनि शुरु गरिसकेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विहीबारसम्ममा करिब १५ लाख मानिसलाई कम्तीमा एक डोज खोप दिइसकिएको जानकारी दिएका थिए ।

हालसम्म कोरोना भाइरसबाट शतप्रतिशत सुरक्षा दिने कुनै पनि खोप आइसकेको छैन भने खोपहरुले कति समयसम्म भाइरसबाट सुरक्षा दिन्छन् भन्ने पनि बताइएको छैन ।

बेलायतमा सरकारले खोप लगाइसकेपछि पनि सामाजिक दुरी कायम गर्न र मास्क लगाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री