कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण

तस्वीर शिव भन्डारी

लण्डन । कोभिड १९ (कोरोना भाइरस)बाट बच्न फाइजर र बायोएनटेकको भ्याक्सिन लिएका बेलायतमा कार्यरत नेपाली मूलका एक वरिष्ठ नर्सलाई कोभिड १९ संक्रमण देखापरेको छ ।

गत ३१ डिसेम्बरमा २०२० मा कोभिड १९ विद्धको पहिलो डोज खोप लिएका वरिष्ठ नर्स राजेन्द्र पुडासैनीलाई सोमबार टेष्ट गर्दा पोजेटिभ देखिएको हो । कोरोनालाई पराजित गर्न फाइजर र बायोएनटेकको भ्याक्सिन तीन साताका बीचमा दुई डोज लिनु पर्नेछ । तर, उनले सोमबार टेष्ट गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण देखिएपछि हार्लाेस्थित एक अस्पतालमा कार्यरत वरिष्ठ नर्स पुडासैनी आइसोलेसनमा बसेका छन् ।
कोभिडका कारण उनमा उच्च ज्वरो, टाउको दुख्ने, कोलोन, छाती दुख्ने र भारी हुने, आन्द्रामा स्पाइजम र सुख्खा खोकी आएको पारिवारिक स्रोतले बतायो ।

”सोमबारदेखि कोरोना पोजेटिभ भएर घरमै आराम गरिरहेको छु”, उनले वीनेपालीसँग भने ।

बेलायतमा कोभिड संक्रमणको दर उच्च रहेकाले सचेत हुन उनले नेपाली समुदायलाई अनुरोध गरेका छन् ।  ”फाइजरको पहिलो डोज लिइसकेको थिएँ, दोस्रो डोज लिनु पूर्व नै मलाई कोरोना संक्रमण भैसकेको रहेछ”, उनले भने, ”यो रोग लाग्न नदिन उच्च सतर्कताको जरुरी छ । खोप लिएपछि पनि सावुन पानीले हात धुने र माक्स लगाउने कामलाई निरन्तरता दिनु होला ।”

पुडासैनी नर्सका साथै बेलायतको नेपाली समुदायका अगुवा पनि हुन् । उनी विभिन्न सामाजिक तथा राजनीतिक गतिविधिमा आवद्ध छन् । उनी हाल प्रवासी नेपाली एकता मन्च युकेको अध्यक्ष रहेका छन् ।

यसैबीच, बेलायतमा कोभिड १९ को संक्रमण दर अत्यधिक भएपछि सरकारले मुलुकभर एकसाथ लकडाउन गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार नियमित पत्रकार सम्मेलनमा राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका थिए । उनले कोरोना संक्रमणदर तीव्र गतिमा फैलिएपछि लकडाउन गर्नु परेको बताए ।

बेलायतले फाइजर एण्ड बायोएनटेक र अक्सफोर्ड र एस्ट्राजेनेका दुवैको खोप लगाउन सुरु गरिसकेको छ ।

मंगलबारसम्ममा बेलायतमा करीव १३ लाख व्यक्तिले कोरोनाको खोप लगाई सकेका छन ।

सरकारले आगामी सोमबारदेखि खोप पाउनेको तथ्यांक सार्वजनिक गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री