इङल्याण्डमा लकडाउनले असर पारेका व्यवसायका लागि सहायता प्याकेज

बेलायतका अर्थमन्त्री ऋषि सुनक

लण्डन । इङल्याण्डमा सोमबारदेखि तेस्रो चरणको राष्ट्रव्यापी लकडाउन लागू भएपछि व्यवसाय तथा रोजगारीमा पर्ने आर्थिक असरलाई सम्बोधन गर्न सरकारले सहायता प्याकेज ल्याएको छ ।

बेलायतका अर्थमन्त्री ऋषि सुनकले मंगलबार सो प्याकेजको घोषणा गर्दैछन् ।

सुनकका अनुसार नयाँ राहत प्याकेज ४.६ बिलियन पाउण्डको रहेको छ । जसमा खुद्रा पसल, आतिथ्य सत्कार तथा लिजर क्षेत्रले एक पटकका लागि एक स्थान बराबर ९ हजार पाउण्डसम्मको सहायता पाउनेछन् । यसका लागि व्यवसायको मूल्याङकन गरी रेट तोकिएको छ । जस्तै १५ हजार पाउण्ड मूल्य भएका व्यवसायलाई ४ हजार पाउण्ड, १५ देखि ५१ हजार पाउण्ड मूल्य भएकालाई ६ हजार पाउण्ड, ५१ हजार माथि मूल्य भएकालाई ९ हजार पाउण्ड सहायता दिइने छ ।

यस्तै लकडाउनबाट प्रभावित व्यवसायका लागि ५९४ मिलियन पाउण्डको ‘डिस्क्रिसनरी फण्ड’ बनाइएको छ भने १.१ बिलियन पाउण्ड स्थानीय निकायले आफ्नो विवेकमा वितरण गर्न पाउने छन् ।

नयाँ राहतको व्यवस्थाले करिब ६ लाख व्यवसायलाई राहत पुग्ने सुनकले अनुमान गरेका छन् ।

सरकारले स्कटल्याण्डका लागि ३७५ मिलियन पाउण्ड,  वेल्सका लागि २२७ मिलियन पाउण्ड र उत्तरी आयरल्याण्डका लागि १२७ मिलियन पाउण्ड छुट्याएको छ ।

यस्तै बन्द भएका व्यवसायका लागि ३ हजार पाउण्ड र बन्द भइ पुन खोलिने व्यवसायका लागि खुलेपछि २ हजार १०० सहयोग दिइने छ ।

सरकारले लकडाउनले बन्द हुन पुगेका खुद्रा पसल, अतिथि सत्कार र लिजर व्यवसायलाई कर मिनाहा गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री