बेलायत र युरोपियन युनियनबीच सहमति

लण्डन । बेलायत युरोपियन युनियनबाट अलग भएपछि युरोपियन र बेलायतबीच व्यापार लगायतका विषयमा सहमति भएको छ ।

बेलायत युरोपियन युनियनबाट सन् २०२० को जनवरी ३१ मा बाहिरिएको थियो तर बाहिरिनका लागि आवश्यक प्रक्रिया पूरा गर्न ११ महिनाको समय दिइएको थियो । सो संक्रमणकालिन समय सकिन एक साता बाँकी रहँदा विहीबार दिउँसो सो सहमति भएको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

सरकारले जारी गरेको विज्ञप्तिमा सन् २०१६ को जनमत संग्रहमा र गत आमनिर्वाचनमा बेलायती जनतासित गरिएको वाचा सो सहमतिमा प्रकट भएको उल्लेख छ ।

हामीले हाम्रो मुद्रा, सीमाना, कानुन, व्यापार र माछा मार्ने पानी लगायतमा नियन्त्रण कायम गरेका छौं- विज्ञप्तिमा भनिएको छ। सहमति बेलायतको सबै भागमा बसोबास गर्ने परिवार र व्यापारका लागि महत्वपूर्ण समाचार हो ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायत र युरोपबीच क्यानाडा शैलीको कुनै अतिरिक्त शुल्क र हिस्सा नभएको व्यापारिक सहमति गरिएको बताएका छन् । उनले जनवरी १ देखि बेलायतले सबै कुरा आफ्नो नियन्त्रणमा लिएको बताए । युरोपियन अदालत, कानुन, बजार आदिबाट बेलायत मुक्त भएको र अब बेलायती संसदले बनाउने कानुन र बेलायती अदालतले गर्ने फैसला मात्र बेलायतमा लागू हुने उनले प्रष्ट पारे । ‘बेलायतले चाहेको सहमति भएको छ’ उनले दाबी गरे ।

प्रधानमन्त्री जोन्सनले सहमतिमा अर्घेलो बनेको एक क्षेत्र माछा मार्नेका सन्दर्भमा पाँच वर्षका लागि संक्रमणकालिन प्रावधान राख्ने सहमति गरिएको बताए। बेलायतको भविष्यका बारेमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्रो जोन्सनले, ‘स्वतन्त्र हुन राम्रो भएको र यसलाई हामीले भविषयमा कसरी प्रयोग गर्छौं त्यसमा हाम्रो (बेलायतको)भविष्य निर्भर हुने बताए ।’

उता ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा युरोपियन युनियनका अध्यक्ष उर्सला भोन डोर लियनले सहमतिलाई सन्तुलित, निस्पक्ष र दुई देशका लागि उपर्युक्त भएको बताएकी छिन् ।

युरोपियन युनियनका प्रमुख वार्ताकार मिसेल बार्नियरले भने-अब सहमतिका लागि समय घर्किने छैन । उनले विगत चार वर्षको धेरै जनाको कडा मिहिनेतपछि सहमति सम्भव भएको बताए । उनले सहमतिपछि आराम मिलेको बताए ।

उता बेलायतका प्रमुख वार्ताकार लर्ड फर्स्टले जनवरी १ देखि बेलायत पुन: पूर्ण रुपमा स्वतन्त्र हुने बताए । बेलायतको भविष्य र प्रगति बेलायतबासीकै हातमा हुने उल्लेख गर्दै प्रगति र सफलता पाउन बेलायत सक्षम हुने विश्वास व्यक्त गरे ।

सो सहमतिलाई युरोपियन संसद र बेलायती संसदले पारित गरेपछि लागू हुनेछ । करिब २ हजार पेज लामो सो सहमतिमा छलफलका लागि क्रिसमसपछि बेलायत तथा युरोपियन संसद बोलाइने छ ।

बेलायत र युरोपियन युनियनबीचको व्यापार सहमति सन् २०१९ को तथ्यांकअनुसार ६६८ बिलियन पाउण्ड बराबरको छ । बेलायत र युरोपियन युनियनका दुवैका लागि सबैभन्दा ठूलो व्यापारिक सहमति भएको बताइएको छ ।

सहमतिको आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिनले स्वागत गरेका छन् भने स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टरजनले स्कटल्याण्डका जनताको मत विपरीत बेक्जिट सहमति गरिएको बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री