कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेका आप्रवासीलाई फ्रान्सले दियो नागरिकता

लण्डन । फ्रान्सले कोरोनाभाइरस विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर योगदान दिएको भन्दै सयौं आप्रवासीहरुलाई नागरिकता दिएको छ ।

बीबीसीका अनुसार आप्रवासीहरुलाई विद्यमान कानुनमा रहेको प्रावधानभन्दा खुकुलो प्रावधान राखेर द्रुत गतिमा फ्रान्सको नागरिकता दिइएको छ । फ्रान्सको गृह मन्त्रालयले यस्ता समूहमा परेका आप्रवासीहरुलाई निम्ता गरी गरी नागरिकता आवेदन गर्न सहयोग गरिरहेको छ ।

सेप्टेम्बरबाट शुरु भएको यस योजनामा हालसम्म करिब ७०० जना अग्रपंक्तिमा रहेर काम गरेका आप्रवासीहरुले फ्रान्सको नागरिकता प्राप्त गर्ने अन्तिम चरणमा पुगिसकेका छन् भने २ हजार ८९० जनाले यस योजनाअन्तर्गत फ्रान्सको नागरिकता आवेदन गरेका छन् ।

यसरी नागरिकता पाउनेहरुमा स्वास्थ्यकर्मीहरु, सरसफाइ कर्मचारीहरु, पसलका कर्मचारीहरु लगायत छन् ।

फ्रान्समा कोरोना भाइरसका कारण ६२ हजारको मृत्यु भइसकेको छ भने २५ लाख बढी संक्रमित भएका छन् ।

फ्रान्सका कनिष्ठ गृह मन्त्री मर्लिन सियापाले स्वास्थ्य कार्यकर्ताहरु, सरसफाइ कर्मचारीहरु, बालबालिकालाई हेरचाह गर्नेहरु, पसलमा काम गर्नेहरुले देशका लागि प्रतिवद्धता प्रमाणित गरेकाले अब देशले उनीहरुलाई केही गर्ने बेला आएको बताइन् ।

फ्रान्सको नागरिकता आवेदन गर्नलाई कम्तीमा पाँच वर्ष फ्रान्समा बसेको, पर्याप्त आम्दानी भएको र फ्रान्सेली समाजमा अन्तरघुलन भएको हुनु पर्नेमा आप्रवासीहरुको कोरोना संकटका बेलाको महत्वपूर्ण सेवाका कारण दुई वर्ष फ्रान्समा बसेको भए नागरिकताका लागि आवेदन गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री