गणचक्रको पूजा गर्दै बेलायतमा खेन्चे रिन्पोछेको जन्मोत्सव

लण्डन । बौद्ध धर्म गुरु क्याबजे झोङसार खेन्चे रिन्पोछेका श्रद्धालु भक्तजनहरुले गणचक्र पूजाको आयोजना गरी उहाँको ६१ औं जन्मदिवस बेलायतमा पनि मनाएका छन् ।

यसै वर्षदेखि नयाँ ल्हो अर्थात् ६१ वर्षको उमेरमा प्रवेश गर्ने क्रममा विश्वभर छरिएर रहेको उहाँका भक्तजन तथा शुभचिन्तकहरुले  उहाँको सुस्वास्थ्य, दिर्घायू साथै धार्मिक लीला विश्वभर फैलियोस् भन्ने उद्देश्यका साथ सिद्विको श्रोत (भिमालाडुब) साधना विधिद्वारा एक लाख गणचक्रको पूजा (भुमछोक) आयोजना गरी जन्मोत्सव मनाएका हुन् ।

वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको गुम्बामा उक्त पूजा गरिएको हो । गत १९ डिसेम्बर देखि २१ डिसेम्बरसम्म आयोजना गरिएको पूजामा विश्वभर रहेका उहाँका सयौं शुभचिन्तकहरु जुम प्रविधिमार्फत भर्चुयल रुपमा जुटेका थिए ।
बीसीसी युकेका सल्लाहकार मेजर खुशीमान गुरुङको संयोजनमा सम्पन्न भएको उक्त पूजामा बीसीसी युकेका धर्म गुरुहरु रिन्पोछे लुङ्गरिक र खेन्पो ञ्यीमाले उहाँको सुस्वास्थ्यका लागि बौद्ध धर्मअनुसार विभिन्न पूजापाठहरु गरेका थिए । उक्त पूजालाई बीसीसी युकेको फेसबुक पेजबाट लाईभ गरिएको थियो ।
विशेषगरी फ्रान्स, ईटली, स्पेन, जर्मन, होल्याण्ड, पोल्याण्ड, ग्रीस, रसिया, सिंगापुर,  बेलायतलगायत विभिन्न देशमा रहेका उहाँका शुभचिन्तक तथा भक्तजनहरुले पनि आ–आफ्नो स्थानबाट पूजापाठ गरेका थिए ।
भुटानमा जन्मिएका खेन्चे रिन्पोछेले ७ वर्षको उमेरदेखि सिक्किमको तत्कालिन राजदरवारमा बसेर अध्ययन गरेका थिए भने पछि राजपुरस्थित शाक्य कलेज र युनिभर्सिटी अफ लण्डनमा समेत अध्ययन गरे । भारतको हिन्माचल प्रदेशको बीर, इष्ट तिब्बत र इष्ट भुटानमा उहाँको बौद्ध अध्ययन केन्द्र स्थापना गरेका छन् जहाँ थुप्रै विद्यार्थीहरु अध्ययनरत छन् । साथै, कुशल चलचित्र लेखन तथा निर्देशक समेत रहेका उहाँले आउँदो २६ र २७ डिसेम्बरका दिन ताईवानमा रिन्पोछेले विपश्यना मेडिटेशन गराउँदै हुनुहुन्छ भने सो विपसनाको बीसीसी युकेका खेन्पो ञ्यीमा गुरुले अनुवाद गर्ने जनाइएको छ ।
उक्त पूजा सम्पन्न गर्नका लागि बीसीसी युकेका अध्यक्ष नरेश गुरुङ, रिन्पोछे लुङ्गरिक, सेराब, खेन्पो ञिमा, सल्लाहकार मेजर खुशीमान गुरुङ, मेजर हितमान गुरुङ, बीसीसी युके आमा समूह अध्यक्ष पुष्पा गुरुङ, बीसीसी युके लण्डन ब्रान्च आमा समूह अध्यक्ष अन्तिम गुरुङ, बीसीसी युकेका पूजा संयोजक आईबहादुर गुरुङ, साना लामा, रामचन्द्र गुरुङ लगायत बीसीसी युकेका सिंगो कार्यसमिति, आमा समूह, भक्तजन तथा शुभचिन्तकहरुले आ–आफ्नो स्थानबाट विशेष भूमिका खेलेका थिए । त्यस्तै, बीसीसी युकेले तमू (गुरुङ) ल्होछारको पावन अवसर समेत विशेष पूजाको आयोजना गर्ने जनाइएको छ । उक्त पूजा समेत भर्चुयल रुपमा गरिने र सो पूजाको पनि फेसबुक लाईभ गरिने बीसीसी युकेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री