प्रतिभा सम्मान डा. विमललाई, प्रतिभा पुरस्कार तुम्खेवा

लण्डन । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको प्रतिभा सम्मान साहित्यकार डा. राजेन्द्र विमल तथा प्रतिभा पुरस्कार कवि विमला तुम्खेवालाई दिने भएको छ ।
प्रतिष्ठानकी अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा आइतबार बसेको भर्चुवल सभाले वरिष्ठ साहित्यकार तथा संस्कृतिविद डा. विमललाई ‘प्रतिभा सम्मान २०२०’ र युवा कवि तुम्खेवालाई ‘प्रतिभा पुरस्कार २०२०’ प्रदान गर्ने निर्णय गरेको छ ।
सम्मानमा ५० हजार रुपैयाँ नगद, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा एक लाख नगद राशी र ताम्रपत्र रहेको प्रतिष्ठानले जनाएको छ ।
वि.सं. २००३ साल चैत्र १२ गते जनकपुरधाममा जन्मिनुभएका सम्मानित प्रतिभा डा राजेन्द्र विमलले लामो समय प्राध्यापन पेशा अंगालेर नेपाली तथा मैथली भाषा साहित्य र संस्कृतिको क्षेत्रमा सेवा गर्दै आउनु भएको छ । उहाँका कृतिहरुमा समयका आँखा, राजेन्द्र विमलका कथाहरू, इतिहासक धाव र हमरे कथा थिक कथासंग्रह, फिस्टी रानी वालकथा, रोएको जुन र खहरेको तिर्खा रहेका छन् । यसका साथै उहाँका इतर ब्रहृमाण्ड नाटक, सूर्यस्तंस पहिले गजल संग्रह, मिथिला गौरव र मिथिलाको इतिहास, सस्कृति र कला–परम्परा, गद्य, पद्य र नाटक समालोचना, नेपाल परिचय नवनीत र नेपाली, अग्रेजी, मैथली शब्दकोश लगायत दुई दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भइसकेका छन् । बहुप्रतिभाका धनी डा. विमलले फिल्म, टेलिश्रृंखला र नाटक अभिनयहरूमा पनि भाग लिएको पाइन्छ ।
यस अघि उहाँले जगदम्वा–श्री पुरस्कार, कला–श्री पुरस्कार, भानुभक्त पुरस्कार, प्रज्ञा दर्शनशास्त्र, समाजशास्त्र एव‌ं संस्कृति पुरस्कार, साझा पुरस्कार र मैनाली कथा पुरस्कार र जनसेवा श्री पदकजस्ता दर्जन साहित्यिक पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नु भएको छ ।
उहाँलाई साहित्य तथा कला संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याएवापत ‘प्रतिभा सम्मान २०२०’ प्रदान गरिने भएको हो ।
यसैगरी, वि.सं. २०३४ सालमा तेह्रथुम जिल्लाको ओख्रेमा जन्मिनुभएका कवि तुम्खेवाले बालापनदेखि निरन्तर कविता लेख्दै आएकी छिन् । उनको विमला तुम्खेवाका कविताहरू, नदी छाल र तरङ्गहरू, संस्मरण एउटा बूढो रुखको र हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे लगायतका कविता कृतिहरू प्रकाशित छन् । उनको कविताहरू हिन्दी, अग्रेजी, कोरियन र लिम्बू भाषामा अनुवाद भएको पाइन्छ । तुम्खेवा कविता लेखनको साथै पत्रकारिता तथा आख्यान लेखनमा समेत सकृय छिन् भने विभिन्न सामाजिक कार्यहरूमा पनि संलग्न रहेकी छिन् ।

कविता लेखनमा उल्लेखनीय योगदान पुर्याएवापत कवि तुम्खेवालाई ‘प्रतिभा पुरस्कार २०२०’ प्रदान गर्न लागेको प्रतिष्ठानले जनाएको छ ।
सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्व. ईश्वर मानन्धर, स्व. अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ सिक्किम, भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो दार्जिलिङ र गोपाल पराजुली सम्मानित भइसक्नुभएको छ । यसैगरी ‘प्रतिभा पुरस्कार’बाट यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी र टीका चाम्लिङ, फूलमान बल, बलराम अधिकारी र शुभ मुकारूङ पुरस्कृत भइसक्नुभएको छ ।
यसैबीच, आइतबार सम्पन्न प्रतिष्ठानको भर्चुृवल सभाले वरिष्ठ साहित्यकार गणेश राईको अध्यक्षतामा चौथो कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा टंक वनेम, दवेन्द्र खेरेस महासचिव, नरेश नाति सचिव, अन्जु अन्जली सहसचिव, चोक गुरुङ कोषाध्यक्ष र निर्मला परिवेश राई सहकोषाध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ ।
प्रतिष्ठानले यसअघि दिंदैआएको ‘प्रतिभा सम्मान’ को राशी २० हजार यस वर्षबाट बढाएर ५० हजार पुर्याएको संस्थाले जनाएको छ ।
अहिलेको विषम परिस्थितिमा सभासमारोहको आयोजना गर्न कठिनाई भएपनि स्थिति सामान्य हुँदै गएपछि एक समारोहको आयोजना गरी ‘प्रतिभा सम्मान’ तथा ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने प्रतिष्ठानका महासचिव खेरेसले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री