लण्डन । नयाँ वर्षको शुरुवातसँगै बेलायतमा लाखौँ मानिसलाई कोरोना भाइरसविरुद्धको खोप दिइने बताइएको छ ।
बेलायती प्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै शनिबार प्रकाशित डेली टेलिग्राफले डिसेम्बरको अन्त्यमा अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोना भाइरसविरुद्धको खोपले बेलायतको खोप नियामक निकायबाट अनुमति पाउने र जनवरीदेखि व्यापक मात्रामा खोप दिइने समाचार प्रकाशन गरेको छ ।
डेली टेलिग्राफ बेलायतका वर्तमान प्रधानमन्त्री बोरिस जोन्सन निकट मिडियाका रुपमा मानिन्छ र उनी पहिले सो पत्रिकाको सम्पादक समेत रहिसकेका छन् ।
समाचारअनुसार बेलायतको खोप नियामक मेडिसिन्स एण्ड हेल्थकेयर रेगुलेटरी एजेन्सी (एमएचआरए) ले अक्सफोर्ड तथा आष्ट्राजेनिकाद्वारा संयुक्त रुपमा विकसित खोपको अन्तिम तथ्यांक गत सोमबार प्राप्त गरिसकेको छ । एमएचआरएले क्रिस्मस लगत्तै डिसेम्बर २८ वा २९ मा अक्सफोर्डको खोपलाई मान्यता दिने दाबी समाचारमा गरिएको छ ।
त्यसपछि ठूलो संख्यामा खोप दिनका लागि एनएचएसले फुटबल स्टेडियमहरुलाई जनवरीको पहिलो सातादेखि नै प्रयोगमा ल्याइने बताइएको छ ।
बेलायतमा एक सातामा करिब १ लाख ४० हजार बयोवृद्ध तथा केयर होमका बासिन्दा र त्यहाँका कर्मचारीलाई कोरोनाविरुद्ध फाइजर र बायोएनटेकले बनाएको खोप दिइसकिएको छ ।
शुरुमा ५० वटा अस्पतालबाट दिन शुरु गरिएको खोप गत सातादेखि करिब १०० जीपीमार्फत खोप दिन थालिएको छ र अर्को सातादेखि थप ३०० जीपी र ८३ वटा अस्पतालबाट खोप दिइने व्यवस्था मिलाइने छ ।
यो सप्ताहन्तसम्ममा करिब ५ लाखले खोप पाउने अनुमान गरिएको छ भने अर्को सातादेखि दैनिक २ लाख मानिसलाई खोप दिइने योजना छ । क्रिस्मसपछि भने सातामै १० लाख मानिसलाई खोप दिने महत्वाकांक्षी योजना ल्याइएको छ ।
बेलायतमा केयर होममा बसोबास गर्ने र केयर होममा काम गर्ने कर्मचारीहरुको कुल संख्या १० लाख ९८ हजार छ । त्यस्तै बेलायतमा ८० वर्ष माथिका उमेरका मानिसहरुको संख्या ५० लाख ६२ हजार जना रहेको छ । ७५ वर्ष माथि उमेर पुगेकाहरु २३ लाख २५ हजार २९६ जना रहेका छन् भने ७० वर्ष माथिकाको संख्या ३३ लाख १८ हजार ८६७ जना छन् ।
अक्सफोर्डको खोपले अनुमति पाउने बित्तिकै लाखौँलाई खोप दिन खोप केन्द्रहरु खोल्ने तयारी सरकारले गरेको छ ।
सरकारले मार्चसम्ममा जोखिममा रहेका २ करोड मानिसहरुलाई खोप दिइसक्ने तयारी गरेको छ भने समरसम्ममा बाँकी सबै मानिसहरुलाई खोप दिने योजना छ ।
बेलायतले अक्सफोर्डको खोपको १० करोड डोज अर्डर गरेको छ जसमध्ये ४० लाख तत्काल उपलब्ध हुने अवस्थामा रहेको छ ।
अक्सफोर्डको खोप कम तापक्रममा राखे पनि हुने भएकाले भण्डारण गर्न र ओसारपसार गर्न सजिलो हुनेछ । एनएचएसका अधिकारीहरुले सो खोपलाई ‘गेम चेञ्जर’को रुपमा हेरेका छन् ।
खोप लगाउनका लागि ठूला ठूला ठाउँबाहेक फार्मेसीहरुलाई पनि अनुमति दिइनेछ ।
अक्सफोर्डको खोपको शुरुको ४० लाख डोज नेदरल्याण्डस् र जर्मनीबाट बेलायत आउने छ भने बाँकी डोज बेलायतमै उत्पादन हुनेछ । यसबाट खोप ल्याउन र खोप केन्द्रमा पुर्याउन सजिलो हुनेछ ।
आष्ट्राजेनिकाले थप १ करोड ५० लाख डोज केही दिनमै तयार हुने बताएको छ ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त