मास्टरसेफको फाइनलमा पुगेका साह भन्छन्-‘फाइनलमा पनि नेपाली खाना बनाउँछु’

लण्डन । नेपालको नेवार समुदायमा लोकप्रिय योमरी बनाएर बीबीसी टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित कार्यक्रम ‘मास्टरसेफ प्रोफेसनल्स २०२०’ को फाइनलमा पुगेका बेलायतमा बसोबासरत नेपाली सेफ सन्तोष साह फाइनलमा पनि नेपाली खाना पस्कने बताउँछन् ।

फाइनलमा प्रवेशपछि शुक्रबार बिहान वीनेपालीसित कुराकानी गर्दै साहले भने, ”फाइनलमा जिते पनि नजिते पनि, मन (निर्णायकले) पराए पनि नपराए पनि नेपाली खाना नै बनाउँछु ।”

मास्टरसेफ जस्तो प्रतिष्ठित प्रतिस्पर्धाको फाइनलमा पुग्दा कस्तो लागिरहेको छ भन्ने प्रश्नको जवाफमा उनले भने, ”शुरुमा पहिलो चरणबाटै आउट भएँ भने नेपाली खाना देखाउन पाउँदिनँ भन्ने चिन्ता लागेको थियो तर अहिले फाइनलसम्म आइपुग्दा योमरीसम्म चिनाउन पाइयाे । योभन्दा खुशीको कुरा के होला ? ”

सिराहाको कर्जन्हामा जन्मेका साह विगत २० वर्षदेखि सेफका रुपमा कार्यरत छन् । उनको विज्ञता भने भारतीय खानामा हो । उनमा मास्टरसेफमा भाग लिने भूत भने पाँच वर्षअघि चढेको थियो । शुरुमा उनको शुरुको सोचाइ थियो भारतीय खाना बनाएर मास्टरसेफमा भाग लिने । एक अग्रजको सुझावपछि पनि उनको त्यो सोचाइ परिवर्तन भयो र मास्टरसेफमा नेपाली खाना बनाउने निस्कर्षमा पुगे। उनले विगत दुई वर्षदेखि पहाडी, भित्री मधेसलगायत नेपालका विभिन्न भागमा पाइने परम्परागत खानाका बारेमा अनुसन्धान गर्न शुरु गरे । शुरुमा उनलाई पनि ‘दालभात बनाएर मास्टरसेफमा जाने’ भन्ने प्रश्नले नझम्टेको होइन । तर नेपाली खानाका बारेमा अध्ययन गर्दै जाँदा उनले पाए नेपाली खानामा त अत्यन्तै धेरै खानेकुरा रहेछन् ।

त्यसपछि उनलाई लाग्यो यतिविधि नेपाली खानेकुरा रहेछ तर यसको प्रबर्धन त भएकै रहेनछ । त्यसैले मास्टरसेफ उनको लागि जित-हार होइन नेपाली खाना चिनाउने अवसर हो ।

१६ वर्षदेखि सन्चालित मास्टरसेफ प्रोफेसनल्सको फाइनलमा नेपाली सेफको त कुरै छाडौँ एसिएन सेफहरु अहिलेसम्म पुगेका थिएनन् । सबै सेमिफाइनलबाट बाहिरिन्थे । सन्तोषलाई पनि शुरुमा आफू सेमीफाइनलबाटै बाहिरिन्छु भन्ने नलागेको होइन । उनी भन्छन्, ”भाग्यले, नेपालीहरुको साथले, आमाको आशिर्वाद र भगवानको सदिच्छाले यहाँसम्म पुगियो । ”

मास्टरसेफको यात्रा अब धेरै छैन । आगामी साता यसको फाइनल हुँदैछ । तर सन्तोषसित भने चिनाउनु पर्ने नेपाली खानाको सूची लामो छ । उनले भने, ”लिम्बु समुदायमा प्रचलित झ्याउ बनाउन पाए कस्तो हुन्थ्यो होला ? नेपालभित्र लोकप्रिय मम, चाउमिन जस्ता खाना म बनाउँदिनँ । म सकेसम्म दुर्लभ खानाहरु बनाउन मन पराउँछु । कोदोको परिकार, गुन्द्रुक, भटमास, नेपाली रक्सी देखाउन पाए मेरो भाग्य हुने थियो।”

मास्टरसेफमा पुग्नुअघि उनले धेरै प्रतिस्पर्धामा भाग लिइसकेका छन् । २०१८मा उनी नेशनल सेफ्स अफ द इयरको सेमिफाइनलमा पुगेका थिए । यसपटक शायद बीबीसी जस्तो विश्वप्रसिद्ध मिडियाको कभरेज पाएर पनि हुनसक्छ उनको चर्चा चुलिएको ।

बीबीसीको स्क्रिनमा त सन्तोष र नेपाली खानाको प्रशंसा निर्णायकहरुबाट सुनिएकै छ । नेपथ्यमा उनीहरु के भन्छन्, ”अफ स्क्रिनमा पनि एकदमै राम्रो प्रतिक्रिया दिएका छन् । खाना बनाइरहेको बेलामा दिग्गज दिग्गज सेफहरु आएर हेर्छन् । नेपाली खानलाई चिनाउन मेरो मिहिनेत र देशप्रतिको मेरो लगाब देखेर प्रशंसा गर्छन् । ”

मास्टरसेफको टाइटल जित्नु उनको लागि अब महत्वको विषय होइन । नेपाली खानालाई मास्टरसेफको मन्चबाट प्रबर्धन गर्न सकिएकोलाई नै उनले ठूलो महत्व दिन्छन् । उनी भन्छन्, ‘जिते भगवानको आशिर्वाद ठान्छु र यो मौका नेपाली खानाको प्रवर्धनमा लगाउँछु ।’

सन्तोषले सेमीफाइनलमा बनाएको योमरी

नरेश खपाङ्गीमगर

खपाङ्गीमगर वीनेपाली डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री