नेपालमा जलविद्युत र शिक्षा क्षेत्रमा लगानीबारे लण्डन दुताबासमा छलफल

लण्डन । नेपाली राजदूतावास लण्डनले आइतबार ब्रह्माण्ड इन्भेस्टमेन्ट ग्रुपसँगको सहकार्यमा नेपाल विकास सम्मेलन: हाइड्रोपावर र शिक्षा क्षेत्रमा लगानीको आयोजना  गरको छ ।

संयुक्त अधिराज्य,आयरल्याण्ड तथा माल्टाका लगानीकर्ता, व्यवसायी एवं गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानीका अवसरहरु सम्बन्धी जानकारी प्रदान गर्ने एवं लगानीका लागि उत्प्रेरित गर्ने उद्देश्यले सो सम्मेलन आयोजना गरिएको दुताबासले जनाएको छ ।

संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको सभापतित्वमा सम्पन्न उक्त सम्मेलनमा ब्रिटेन-नेपाल सोसाइटीका सभापति तथा नेपालका लागि पूर्व बेलायती राजदूत एन्ड्रिउ स्पार्क्स, आयरल्याण्ड-नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष भिन्सेन्ट ब्यारी  र माल्टा-नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष टोमस मिकालौकासले विशेष अतिथिका रुपमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सम्मलेनको उद्घाटन गर्दै डा. सुवेदीले संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टामा रहेका गैरआवासीय नेपालीहरुले उर्जा,पूर्वाधार विकास, शिक्षा स्वास्थ्यलगायत नेपालका विविध क्षेत्रमा लगानीका अवसरहरु सिर्जना गरी नेपालको विकासमा महत्वपूर्ण योगदान गरेकोमा प्रशंसा गर्नुभयो । डा. सुवेदीले संयुक्त अधिराज्यमा गठित यूके-नेपाल व्यापार तथा लगानी मञ्च, आयरल्याण्ड-नेपाल चेम्बर अफ कमर्श र माल्टा-नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी बढाउन निर्वाह गरेको भूमिकाको समेत प्रशंसा गर्नुभयो ।

नेपाली राजदूतावासका उपनियोग प्रमुख तथा काउन्सेलर रोशन खनालले नेपाल सरकारको दृष्टिकोणबाट नेपालमा लगानीका अवसरहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै वैदेशिक लगानीका सन्दर्भमा नेपालको वर्तमान ऐन तथा कानूनी व्यवस्थाहरु, लगानीका क्षेत्र एवं अवसरहरुका बारेमा जानकारी दिनु भएको थियो ।

यूके-नेपाल व्यापार तथा लगानी मञ्चका उपाध्यक्ष तथा ब्रम्हाण्ड इन्भेस्टमेन्ट ग्रुपका अध्यक्ष पृथ्वीराज राईले नेपालमा जलविद्युत क्षेत्रमा लगानीको संभाव्यताको बारेमा चर्चा गर्दै व्रिटिश सेनाका पूर्व तथा बहालवाला गोर्खा सैनिकहरुको लगानीमा स्थापित ब्रम्हाण्ड इन्भेस्टमेन्ट ग्रुपले लगानी गरेका जलविद्युत् आयोजनाहरुको बारेमा प्रस्तुति दिनुभयो ।

त्यसैगरी, गोर्खा ग्रुपका प्रमुख कार्यकारी अधिकृत हरि बुढा मगरले नेपालको शिक्षा क्षेत्रमा बेलायतमा रहेका गोर्खा सैनिकहरुको लगानी र आगामी दिनमा गोर्खा ग्रुपले नेपालको शैक्षिक उत्थानका लागि तयार गरेको आफ्नो योजनाका बारेमा प्रस्तुति दिनुभयो। सम्मेलनमा गोर्खा ग्रुपको तर्फबाट अध्यक्ष मानबहादुर बुढा मगरले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

सम्मेलनको समापन गर्दै राजदूत डा. सुवेदीले नेपालको लगानी अभिवृद्विको क्षेत्रमा सम्मेलनमा प्रस्तुत भएका विचारहरुले सकारात्मक वातावरण निर्माण गर्न भूमिका खेल्ने भन्दै विदेशमा रहेका नेपाली डायस्पोराहरुलाई अझ उत्साहित भएर लगानी गर्न आव्हान गर्नुभयो।

सम्मेलनको संचालन राजदूतावासकी उपनियोग प्रमुख/काउन्सेलर रोशन खनालले गर्नुभएको  थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री