घरको ठेगाना सम्झन नसक्दा वृद्ध गोरखा सैनिकलाई अस्पतालबाट डिस्चार्ज गर्न समस्या

लण्डन । ठेगाना पत्ता नलागेका कारण एक वयोवृद्ध गोरखा भूतपूर्व सैनिकलाई अस्पतालबाट डिस्चार्ज गर्न समस्या परेपछि सहयोग गरिदिन अपील गरिएको छ ।

तनहुँ पुर्ख्यौली घर भई हाल अल्डरसटमा बसोबासरत धीर्जबहादुर गुरुङ गत बुधबार सपिङ गएको बेला आइसल्याण्डमा लडेर बेहोस भएका थिए । उनलाई आइसल्याण्डका कर्मचारीले एम्बुलेन्स बोलाई उपचारका लागि फ्रिम्ली पार्क अस्पताल पठाएका थिए ।

उनलाई अस्पतालको स्ट्रोक वार्डमा भर्ना गरिएको थियो ।

उपचारपछि उनलाई डिस्चार्ज गर्न खोज्दा उनले आफू बस्ने घर पहिल्याउन नसके पछि खोजी गरिदिन अस्पतालले फ्रिम्ली पार्क हस्पिटल नेपाली समाजलाई अनुरोध गरेको हो ।

गुरुङको आर्मी नम्बर २११५३४५४ हो उनी अहिले अस्पतालको G3 D वार्डमा रहेका छन् ।

उनको अवस्था सामान्य रहेको उनलाई भेटेका एक अस्पतालका कर्मचारीले जानकारी दिए । उनले भने, ‘उहाँ कान कम सुन्नुहुन्छ । अलि बेस्सरी कराएर सोध्नुपर्छ तर सोधेको प्रश्नको जवाफ दिन उहाँलाई समस्या छैन ।’

७७ वर्षीय गुरुङसित मोबाइल फोन पनि नभएका कारण समस्या भएको उनले बताए ।

उनको तनहुँमा घर धरमपानी भएको र उनकी श्रीमती नेपालमा भएको बताइएको छ ।

अल्डरसटमा उनको छोरी लालमाया र ज्वाइँ खुरकजंग बसोबास गर्ने पनि बताइएको छ ।

स्थानीय ब्रिटिश वेलफेयरले पनि उनको बारेमा सोधखोज गरिरहेको बताएको छ ।

तनहुँ समाज युकेले उनको आफन्तका बारेमा जानकारी भए सहयोग गर्न अपील गरेको छ ।

समाजका उपाध्यक्ष केशरबहादुर रानाले वेलफेयरका कर्मचारीसित आफ्नो सम्पर्क भएको र वेलफेयरले गुरुङको नयाँ ठेगाना पत्ता लगाइ उनलाई डिस्चार्ज गराउने बताएको जानकारी दिए।

उनको बारेमा थप जानकारी भए तनहुँ समाजका उपाध्यक्ष केशर राना 078 4608 4691 वा फ्रिमली पार्क हस्पीटल नेपाली समाजका सचिव टंक गुरुङ 074 1335 7565 मा सम्पर्क गर्न सक्नुहुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री