जन्मदिन मनाउँदा आगलागीमा परी हङकङमा सात नेपालीको मृत्यु

Photo: SCMP

लण्डन । हङकङको याउमातेइमा जन्मदिन मनाउने क्रममा आइतबार राति सल्केको आगलागीमा परी सात नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चार पुरुष र तीन महिला छन् । उनीहरु ९ वर्षदेखि ४० वर्षसम्मका छन् । उनीहरु सबैको सनाखत भइसकेको छैन।

हङकङबाट प्रकाशित नेपालखबर डटकमका अनुसार बाग्लुङका राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा सो आगलागी भएको थियो ।

नेपाली महावाणिज्यदुताबास हङकङका अनुसार घटनामा घाइते १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने एक जना घर फर्किसकेका छन्।

बागलुङ समाज हङकङका सचिव शक्तमान बुढाथोकीलाई उद्धृत गर्दै नेपालखबरले घटनामा पर्नेमा कृष्ण कँडेल, राज कँडेल र उनकी बहिनी पूजा कँडेलको परिवार परेको जनाएको छ । उनका अनुसार कँडेल परिवारका मात्र ११ जना सो घटनामा परेका छन् ।

‘राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा दुर्घटना भएको हो, उनको छोरीको मृत्यु भएको भन्ने खबर छ’, बुढाथोकीले नेपालखबरसित भनेका छन् ।

हङकङको समय अनुसार आइतबार साँझ ८ बजे आगलागी शुरु भएको थियो । क्यान्टोन रोड र साइगोन रोडको बीचमा अवस्थित घटनास्थल हङकङका नेपाली बसोबास गर्ने एउटा मुख्य भाग हो।

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले घटनाबाट स्तब्ध भएको बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री