बेलायती प्रधानमन्त्री जोनसन पुनः ‘आइसोलेसन’मा

प्रधानमन्त्री जोन्सन । तस्बिर बीबीसी

लण्डन ।  बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पुनः ‘सेल्फ आइसोलेसन’मा बस्नु भएको छ ।

संसदका एक जना सदस्यलाई कोरोना पुष्टि भएको र ती व्यक्तिसँग उहाँ सम्पर्कमा रहेकाले उहाँ सेल्फ आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको हो ।

राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले प्रधानमन्त्री जोनसनसँग सम्पर्कमा रहेका सांसद कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएकाले सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको उहाँका प्रवक्ताले जानकारी दिएका छन् ।

प्रधानमन्त्री जोनसनलाई सेल्फ आइसोलेसनको नियमहरु पुर्ण रुपमा पालना गर्न पनि आग्रह गरिएको अधिकारीहरुले जनाएका छन् ।

उहाँ सेल्फ आइसोलेसनमा भएपनि सरकारको नेतृत्व गर्ने र दैनिक कार्यहरु भने उहाँले आइसोलेसनबाटै गर्ने जनाइएको छ ।

“प्रधानमन्त्री राम्रो अवस्थामा हुनुहुन्छ, उहाँलाई कुनै समस्या र लक्षणहरु देखिएको छैन, उहाँलाई कोरोनाको संकेत पनि देखिएको छैन,” उहाँका प्रवक्ताले भने ।

प्रधानमन्त्री जोनसनले यसअघि पनि लण्डनमा रहेको सेन्ट थोमस अस्पतालको सघन उपचार कक्षमा तीन रात बिताउनुभएको थियो । उहाँलाई गत अप्रिलमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

उहाँलाई एनएचएसले परिक्षण र हेरचाह गर्ने, उहाँले अवस्थाका बारेमा निरन्तर निगरानी गर्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

उनीहरुका अनुसार प्रधानमन्त्री जोनसोन झण्डै दश दिन ‘सेल्फ आइसोलेसन’मा बस्नुपर्ने र यही नोभेम्बर २६ पछि मात्रै उहाँ बाहिर निस्कन सक्ने सम्भावना रहेको छ ।

अहिले सङ्क्रमित भएका सांसदसँग प्रधानमन्त्री जोनसोनले झण्डै ३५ मिनेट बैठक गर्नुभएको थियो । सो बैठकमा अन्य केही सांसदहरू पनि सहभागी भएका थिए ।

अरु सासदहरुले पनि आफुहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएर आइसोलेसनमा बसेको जानकारी दिंदै आफ्नो सम्पर्कमा आएकालाई सतर्कता अपनाउन आह्वान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री