फोनिज युकेद्वारा अग्रज सन्चारकर्मी शेर्पा सम्मानित

लण्डन । वरिष्ठ संचारकर्मी, समाजसेवी तथा संगीतप्रेमी मे.रि. सोनामछिरिङ शेर्पा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेद्वारा सम्मानित भएका छन् ।

विदेशमा रहेर लामो समयसम्म संचार क्षेत्रमा कार्यरत रही नेपाली पत्रकारिता र नेपाली गीत-संगीतलाई विशेष योगदान पुर्याएवापत उनलाई यो सम्मान यो गरिएको हो । मे.रि. शेर्पा फोनिज युकेका निवर्तमान कार्यसमितिको प्रमुख सल्लाहकार हुन् भने नेपालमा रहेका आदिबासी जनजाति पत्रकारहरुलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्नको लागि उनले विगत चार वर्षदेखि वर्षेनी ३० हजारको दरले “फोनिज युके पत्रकारिता पुरस्कार” दिँदै आएका छन् ।

मे.रि. सोनाम शेर्पाको जन्म पिता फुबुसाङ्गे शेर्पा र माता जुनु लामु शेर्पाको कोखबाट भोटे बस्ती दार्जिलिङमा भएको हो । शेर्पाले प्राथमिक, निम्न तथा माध्यमिक विद्यालयको अध्ययन पूरा गरेपछि गोभर्मेण्ट कलेज दार्जिलिङमा जीव विज्ञान विषय अध्ययन गरेका थिए । शेर्पा स्कुल तथा कलेजमा अध्ययनरत रहँदा एक जेहन्दर तथा बहु-प्रतिभाशाली विद्यार्थी थिए ।

कलेजको अध्ययन पूरा गरेपछि उनी सन् १९७५ मा ब्रिटिश आर्मीको क्लर्कमा प्रवेश गरेका थिए | उनी ब्रिटिश आर्मीमा प्रवेश गरेपछि  ब्रिटिश आर्मीको आधारभूत तालिम लिन हङकङ आएका थिए । हङकङ ब्रिटिश आर्मीको आधारभूत तालिम गर्दा उनी सर्बोकृष्ट बनेर ‘च्याम्पियन रेक्रुट’ हुन सफल भएका थिए । ब्रिटिश आर्मीको आधारभूत तालिम समाप्त भए पश्चात शेर्पा ७ गोर्खा राइफल्समा आवद्ध भएर बटालियनका विभिन्न कार्यालयहरुमा कार्यरत रही धेरै अनुभवहरु बटुलेका छन् ।

शेर्पा सन् १९८३ देखि १९८६ सम्म ब्रिटिश फोर्सेस ब्रोडकास्टिङ सर्भिसेज (बीएफबीएस) हङकङमा कार्यरत रहने अवसर पाएका थिए । बीएफबीएस हङकङमा कार्यरत रहँदा उनले सुप्रशिद्ध कार्यक्रमहरु ‘फिल्मी संसार’ र ‘सोनाम जुक्बक्स’ भन्ने कार्यक्रम संचालन गर्दथे । उनले चलाउने कार्यक्रम “सोनाम जुक्बक्स” अंग्रेजी भाषाका गीत सुन्न चाहने श्रोताहरुको लागि संचालन गरिन्थ्यो। जसले गर्दा ब्रिगेड अफ गोर्खाजमा कार्यरत सैनिक तथा उनका परिवारहरुलाई अंग्रेजी भाषा सिक्नमा मद्दत पुग्दथ्यो । मे शेर्पाले सन् १९९२ मा सर्भिसेज साउण्डस एण्ड भिजन कर्पोरेसनको स्वर्ण जन्मोत्सवको अवसरमा बेलायतकी राजकुमारी मार्गेरेटलाई बीएफबीएसको इतिहासको बारेमा संक्षिप्त जानकारी दिने सु-अवसर मिलेको बताउँछन्।

शेर्पा ७ गोर्खा राइफल्समा कार्यरत रहँदा तत्कालिन समयमा सुप्रसिद्ध हिमालयन ब्यान्डमा आबद्ध थिए । उनले हिमालयन ब्यान्डमा अंग्रेजी तथा नेपाली गीत गाउनको साथै ड्रम पनि बजाउन गर्दथे। स्वर्गीय नोर्देन तेञ्जिङ भुटियाको आवाजमा रेकर्ड गरिएको गीत “मुसु, मुसु हांसी देऊ न लै-लै” लगायत अन्य थुप्रै गीतहरु लाईफ कन्सर्टहरुमा उनले ड्रम बजाएर साथ दिएका थिए ।

सन १९९२ मा कमिसन भएपछि ब्रिटिश आर्मीको महत्वपूर्ण स्थानहरुमा महत्वपूर्ण जिम्मेवारी लिएर ब्रिटिश आर्मीको तथा ब्रिगेड अफ गोर्खाजको विभिन्न नीति नियमहरु तर्जुमा गर्ने कार्यहरुमा उनी सहभागी भएका थिए । शेर्पाको अन्तिम पोस्ट, स्टाफ अफिसरको पदमा हेड क्वाटर ब्रिगेड अफ गोर्खाजमा थियो । उनी स्टाफ अफिसर पोस्टमा कार्यरत रहँदा उनको मुख्य  भुमिका, जिम्मेवारी तथा कार्यक्षेत्र भनेको पोलिसी मेकिङ सल्लाहकार रहेको थियो । अन्त्यमा सोही पोस्टबाट तत्कालिन समयमा गोर्खालीहरुले पाउने अन्तिम पद मेजर दर्जामा अवकाश लिएका थिए । शेर्पा सन् २००३ मा आर्मी सेवाबाट अवकाश पाएपछि बेलायतको रक्षा मन्त्रालय अन्तर्गत रहेको ब्रिटिश रेजिमेण्टमा मेजरकै पदमा सन २०१० सम्म आवद्ध रहेका थिए।

संचार तथा पत्रकारितामा लत लागिसकेका शेर्पा निजामती सेवाबाट अवकाश पछि पनि संचार तथा पत्रकारिता क्षेत्रमा आवद्ध भए । बेलायतमा छापा पत्रिका संचालन गर्न तथा रेडियो स्टेशन संचालन गर्न अति नै कठिन तथा कहालीलाग्दो स्थिति हुँदाहुँदै पनि जहाँ इच्छा त्यहा उपाय भने झैँ विभिन्न समस्याहरुको बाबजुद पनि शेर्पाले नौ जना स्वयंसेविकाहरु साथमा लिएर रेडियो ब्रिटिश गोरखा वेलफेयर ससाइटी स्थापना गरेका थिए। शेर्पाको नेतृत्वमा रेडियो बीजीडब्ल्युएसले छोटो समयमा लामो दुरी फड्को मार्दै इन्टरनेटको माध्यमद्वारा बेलायत, यूरोप हुँदै संसारै भरिका श्रोताहरुले सुन्न सकिने गरी २४ सै घण्टा प्रसारण गरेको थियो। रेडियो बीजीडब्ल्युएसको माध्यमबाट शेर्पाले नेपालबाट आएका वरिष्ठ देखि कनिष्ट सम्मका कलाकारहरु राजनीतिकर्मीहरु, साहित्यकार, पत्रकार, समाजसेवीहरुलाई अन्तर्वार्ता लिएका थिए भने बेलायतबासी मेयर, सांसद  र क्याबिनेट मिनिस्टरहरुलाई अंग्रेजीमा अन्तर्वार्ता लिने अवसर मिलेको बताउँछन् ।

शेर्पा श्रीमती सुजन राई शेर्पा र सुपुत्र रियोसंग बेलायतको सरेस्थित काम्बर्लीमा बसोबास गर्दै आएका छन् । फुर्सदको समयमा किताब पढ्न, खाना पकाउन, गीत संगीत सुन्न र श्रीमती सुजनलाई साथमा लिएर विदेशको भ्रमण गर्न उनी रुचाउछँन् । उनले चालीसौं देशहरुको भ्रमण गरिसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री