आइसोलेसनमा नबस्दा ६ हजार ६०० पाउण्ड जरिवाना

इंग्राम । तस्वीर डेलीमेल

लण्डन । एकान्तवास (सेल्फ) नबसेकोमा एक विद्यार्थीलाई ६ हजार ६०० पाउण्ड जरिवाना गरिएको छ ।

म्यानचेष्टरबाट जर्सी गएकी २२ वर्षीय क्यारीज आन इंग्रामले आइसोलेसनमा नबसी रेष्टुरेन्टमा खाइरहेको फोटो सामाजिक सन्जाल इन्स्ट्याग्राममा  राखेपछि प्रहरीको फन्दामा परेकी हुन् ।

म्यानचेष्टरबाट अक्टोबर १२ मा परिवार भेट्न जर्सी पुगेकी थिइन् । विमानमा उनीसँगै बसेको अर्को यात्रुमा कोरोना पोजिटिभ देखिएपछि उनलाई कन्ट्याक्ट ट्रयासिङ गर्ने कर्मचारीले आइसोलेसनमा बस्न भनेका थिए । आठ दिन आइसोलेसनमा बसेपछि उनको कोरोना भाइरसको जाँच गर्नुपर्ने र सो जाँच गरेर नेगेटिभ भएको प्रमाणित नभएसम्म उनी आइसोलेसनमा बस्नपर्ने थियो तर उनी तीन दिनमै साथीको घरमा, किनमेल गर्न गएको पाइएको थियो ।

उनले चारपटक कोरोना भाइरसम्बन्धी नियम उल्लंघन गरेको पाइएको छ । उनलाई कन्ट्याक्ट ट्रेसिङ टीमले पटकपटक सम्पर्क गर्दा पनि सम्पर्क हुन नसकेको र अन्तिममा उनलाई गिरफ्तार गरिएको थियो ।

अदालतमा उनले आइसोलेसनको नियम पालना नगरेको स्वीकारेकी थिइन् । उनलाई पहिलो पटक नियम उल्लंघन गरेकोमा ६०० पाउण्ड र थप तीन पटक उल्लंघन गरेकोमा ६००० पाउण्ड जरिवाना वा ६ महिना जेलको विकल्प दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री